लुम्बिनीमा निजी क्षेत्रले बनाउँदैछ देशकै पहिलो ‘मिनी शहर’, पहिलो चरण ७ बिघामा, १० अर्ब लगानी





काठमाडौं। व्यवस्थित ‘शहर’ विकास र व्यवस्थापनकालागि सरकारले काम थाल्न नसकेका बेला निजीक्षेत्रले लुम्बिनीमा व्यवस्थित आवाससहितको मिनी शहर परिकल्पना गरेको छ।

‘द हब – लुम्बिनी’ नामकरण गरिएको यो टाउनशिप परियोजना रियल स्टेट कम्पनी सीई कन्स्ट्रक्सनका साथै ग्रान्डी होल्डिङ्स र पर्यटन व्यवसायी योगेन्द्र शाक्यको मुख्य लगानीमा आउन लागेको हो ।
TATa
Swostik Collage


यी तीनको परियोजनामा ५५ प्रतिशतभन्दा बढी ‘इक्विटी’ लगानी छ । बाँकी शेयर ग्रान्डी होल्डिङ्स र सीई कन्स्ट्रक्सनका प्रवर्द्धक तथा कर्मचारीहरू लगायत अन्य इच्छुक लगानीकर्ताहरूको समेत करीब ५० जनाको हुने गरी ‘युनिक इन्भेस्टमेन्ट मोडेल’ बनाइएको छ ।

लुम्बिनीमा पाइलट प्रोजेक्टका रूपमा ल्याउन लागिएको यो महत्वाकांक्षी परियोजना अघि बढाउन ‘द हब लुम्बिनी प्रालि’ नामको कम्पनी दर्ता भैसकेको छ । यसमा बन्ने विभिन्न कम्पोनेन्टहरूमा उक्त कम्पनीबाहेक अन्य रणनीतिक लगानीकर्ता पनि हुन सक्ने छन् ।

परियोजनाको मुख्य प्रवर्द्धकमध्येको सीई कन्स्ट्रक्सनका अध्यक्ष विजय राजभण्डारीका अनुसार, यस परियोजनामा ‘द हब लुम्बिनी प्रालि’ को मात्र कम्तीमा ३ अर्ब रुपैयाँ लगानी हुनेछ ।

मायादेवी मन्दिर (लुम्बिनी) बाट ५ किमि र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) बाट १३ किमिको दूरीमा बन्ने ‘द हब’ हस्पिटालिटी, हाउजिङ, रिक्रिएसन र अर्ग्यानिक कृषिको फ्युजनसहितको ‘क्याम्पस’ हुने राजभण्डारीले खुलाए ।

निजी सार्वजनिक लगानीमा बन्ने यस्तो मिश्रित प्रयोगको परियोजना नेपालमा नै पहिलोपटक आउन लागेको हो ।



एउटै क्याम्पसमा हाउजिङ, अपार्टमेन्टका साथै फास्टफूड तथा चाट स्टलदेखि तारे होटलहरूसम्म रहने परिकल्पना गरिएको छ।

क्याजुअल तथा हाई–एन्ड रेस्टुरेन्टहरू, मल्टिप्लेक्स, कन्भेन्सन सेन्टर, ब्याङ्क्वेट, वाटर वल्र्ड, हेल्थ क्लब, मुभी थिएटर इत्यादि बनाउने  पक्कापक्की भइसकेको छ । यीमध्ये अधिकांश परियोजनाहरु पहिलो चरणमा नै आउनेछन् ।

परियोजनामा हुने हरेक मुख्य कम्पोनेन्टअन्तर्गत अलगअलग सब–कम्पोनेन्टहरू रहनेछन् । जस्तै – मल्टिप्लेक्सभित्र पार्टी भेन्यु, फूडकोर्ट, अफिस स्पेस, गेमिङ जोन, पसल कबलहरू इत्यादि हुनेछ ।

योसहित सात बिघा (करीब ९० रोपनी) मा रहने पहिलो चरणका सबै ‘कम्पोनेन्ट’हरूमा गरी कुल ८ देखि १० अर्ब रुपैयाँ लगानी हुने परियोजनाका अर्का प्रवर्द्धक योगेन्द्र शाक्यको अनुमान छ ।

ठूलो स्केलमा हाउजिङदेखि व्यावसायिक अर्गानिक फार्मिङसम्मका प्रोजेक्ट भने दोस्रो चरणमा ल्याउने योजना छ ।

यस्तै, गल्फ कोर्स, स्तरीय हेल्थ सेन्टर, एजुकेसन सेन्टरलगायत पनि आउन सक्ने  राजभण्डारीले बताए । दुवै चरणका सम्पूर्ण कम्पोनेन्टहरू पूरा हुँदा द हब समग्रमा करीब २० बिघामा विस्तारित भैसक्नेछ ।

 ‘एउटै ठूलो परिसरभित्र उच्चस्तरीय मनोरञ्जन, आतिथ्य सत्कार (हस्पिटालिटी) र आवासीय क्षेत्र विकासको संयोजनमार्फत परियोजनास्थल वरपरको व्यवसायीकरण गरी स्थानीय अर्थतन्त्रलाई उकास्ने उद्देश्य हो हाम्रो,’ राजभण्डारीले भने, ‘पर्यटकीय गन्तव्य विकासको यो हाइब्रिड मोडेलमा हामी देशका विभिन्न ठाउँमा यस्ता परियोजनाहरू ल्याउने सोचमा छौं । त्यसैको क्रमस्वरूप लुम्बिनीमा पाइलट प्रोजेक्ट गर्न लागेका हौं ।’

अहिले लुम्बिनी क्षेत्रमा धार्मिक पर्यटकहरू धेरै अवधिसम्म बस्न नसक्नुका कमजोरीहरू अध्ययन गरेर त्यो अवस्थालाई हल गर्ने वातावरण सिर्जना गर्न द हब परियोजना अघि बढाएको उनको भनाई छ।

पर्यटकहरू पाँचतारे होटलमा मात्र नभएर बाहिर पनि विभिन्न किसिमका परिकारहरूको स्वाद लिन रुचाउने हुँदा त्यसै अनुसारको थुप्रै किसिमका रेस्टुरेन्टहरू सञ्चालनमा ल्याउने योजना छ द हबभित्र । जहाँ मःमः, चाटका स्टलदेखि कहलिएका स्थानीय तथा अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्ट तथा फास्टफूडका आउटलेटहरूसमेत रहनेछन् ।

यहाँ विभिन्न मनोरञ्जन केन्द्रको परिकल्पना गरिएको छ।  सिनेमा स्क्रिनको नेपाली चेन ‘क्यूएफएक्स’को मुभी हल द हबभित्र रहने लगभग पक्का भइसकेको छ ।



लुम्बिनी–भैरहवाको गर्मी छल्न उक्त परियोजनाभित्र करीब दुई बिघा क्षेत्रफलमा फैलिएको ‘वाटर वर्ल्ड’ पनि हुनेछ । होटलको बाहेक छुट्टै स्तरीय हेल्थ क्लबसमेत यसमा रहनेछ । नेपाली हस्तकला, गार्मेन्टका लागि अन्य विविध नेपाली सामग्रीहरूको सपिङ केन्द्र पनि हुनेछ । राजभण्डारीका अनुसार, द हबमा पर्यटकहरूले समय बिताउन सक्ने सम्पूर्ण आवश्यक तत्वहरुकासाथै साथै सबै उमेर, वर्ग र क्षेत्रका आगन्तुकलाई समेट्ने प्रोडक्ट हुनेछन् ।

स्थानीयका लागि विभिन्न समारोह आयोजना गर्ने पार्टी भेन्युदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्न ८ सयदेखि एक हजार सीट क्षमताको सम्मेलन हलसमेत यसमा रहने बताइएको छ ।

यी सबै सेवासहितको द हब सञ्चालनमा आउँदा परियोजनाले धेरै ठूलो संख्यामा स्थानीय रोजगारी सिर्जना गर्नुकासाथै विदेशी मुद्रा आर्जन गर्ने राजभण्डारीले बताए।

पहिलो चरणमा सञ्चालनमा आउने अपार्टमेन्टसहित केही तारे होटल र अन्य विभिन्न व्यापारिक तथा रिक्रिएसनल प्रडक्टहरूले द हब क्याम्पसको लोकेसन आर्थिक दृष्टिले पनि स्थापित भैसक्ने प्रवर्द्धहरुको विश्वास छ।  

पहिलो चरणलाई स्थापित गरेपछि मात्रै दोस्रो चरणको योजना कार्यान्वयनमा लैजाने बताइएको छ । करिब ४ बिघा क्षेत्रफलमा व्यावसायिक अर्ग्यानिक कृषि पनि दोस्रो चरणमा सञ्चालन गर्ने योजना राजभण्डारीले सुनाए ।

अबको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको द हब लुम्बिनी सफल भएपछि देशका अन्य स्थानमा पनि आवश्यकता हेरेर सोही मोडलमा यस्तै परियोजना विकास गर्ने उनले बताए ।



योगेन्द्र शाक्यको छुट्टै चारतारे होटल, एक अर्ब लगानी

द हबभित्र तीनदेखि चारवटाठूला होटलहरू आउनेछन् । ती सबै कम्तीमा तीनतारे स्तरका हुने बताइएको छ ।

यसमा पर्यटन उद्यमी योगेन्द्र शाक्यले पनि आफ्नो अलग्गै लगानीमा एउटा चारतारे होटल ल्याउँदैछन् । यो होटल ‘शाक्यमुनि होटल’को नाममा आउने र यसका लागि ‘शाक्यमुनि होटल प्रालि’ नामको कम्पनीसमेत खडा गरिसकेको शाक्यले जानकारी दिए । सो कम्पनी हाल द हब लुम्बिनी प्रालिसँग जग्गा किन्ने प्रक्रियामा छ ।

९० कोठाको हुने शाक्यमुनि होटलको प्रारम्भिक डिजाइनसमेत तयार भइसकेको छ, जुन कम्तीमा डेढ बिघा (करीब २० रोपनी)मा हुनेछ। ३०/३० कोठाको तीनवटा ब्लक रहने उक्त होटल बुद्धिजम थिममा बहाल, चोकसहित मौलिक नेपाली शैलीको हुने शाक्यले जानकारी दिएका छन् । निर्माण शुरु गरेको तीनदेखि चार वर्षभित्र यो होटल पूरा गर्ने लक्ष्य छ ।

‘अहिले चारतारे स्तरको होटल बनाउन जग्गाबाहेक नै प्रतिकोठा ८० लाखदेखि १ करोड रुपैयाँ खर्च लाग्छ,’ उनले भने, ‘जग्गाको २५ देखि ३० लाख रुपैयाँ कट्ठा पर्ने देखिएको छ ।’ यसअनुसार होटल संरचनाका लागि मात्र एक अर्ब रुपैयाँको हाराहारीमा लगानी हुने देखिन्छ । यस्तै, जग्गा (डेढ बिघा वा ३० कट्ठा) मा करीब १० करोड लगानी हुनेछ ।

शाक्यको बाहेक यस परियोजनामा आउने अन्य होटलमध्ये एउटा सीई आफैंले पनि ल्याउन सक्ने राजभण्डारीले बताए ।



जग्गा अधिग्रहण पूरा

महत्त्वाकांक्षी द हब लुम्बिनी परियोजनाका लागि सबैभन्दा चुनौतीपूर्ण पाटो थियो आवश्यक जग्गा अधिग्रहण । शाक्य र राजभण्डारी दुवैको भनाइमा  ६५ जनाको स्वामित्वमा रहेको १३५ कित्ता जग्गा खरिद गरेर एउटै ढिक्का बनाउनुपर्ने भएकाले पनि यो यस परियोजनाको सबैभन्दा जटिल काम थियो ।

त्यसमा पनि त्यहाँ कुनै प्रभाव र बलियो सम्पर्क नभएको समूह काठमाडौंबाट गएर स्थानीयबाट जग्गा किन्नु सहज हुँदैनथ्यो, खासगरी ठूलो परिमाणमा जग्गा किन्न चाहेको बुझ्नेबित्तिकै रातारात चौगुणा मूल्य बढाउन खोज्ने परिपाटीका कारण यसमा अड्चन थियो ।

‘काठमाडौंबाट गएरु यति धेरै टुक्रा जग्गा एकत्रित गरेर जुटाउन नसक्ने लुम्बिनी–भैरहवाका स्थानीयको समेत टिप्पणी थियो,’ राजभण्डारी सम्झन्छन्, ‘तर हामीले नौ महिनाभित्रै आवश्यक जग्गा जुटाउन सफल भयौं ।’ यसक्रममा जग्गा बेच्न राजी भएर पास गर्न हिँडेका जग्गाधनी भाँडिएर बाटोबाटै फर्किएकोदेखि कयौंलाई पास गर्नका लागि मनाउन अपनाएका उपायका अनेकन् अनुभव छ उनीसँग ।

‘पर्यटन क्षेत्र मात्र जानेको व्यक्ति भएको भए त्यति धेरै व्यक्तिबाट जग्गा अधिग्रहण गर्ने काम सम्भव हुने थिएन,’ शाक्य पनि सुनाउँछन्, ‘विजयजी र उहाँको टिमसँग यस्तो डिल गरेको अनुभव भएकाले नै हामीले सोचेभन्दा सजिलो र अनुमान गरेभन्दा कम समयमा जग्गा एकत्रित गर्न सक्यौं ।’



यसरी जन्मियो ‘द हब’

पर्यटन व्यवसायी योगेन्द्र शाक्य सम्झन्छन्, नेपालका प्रायः पर्यटकीय गन्तव्यको विकास त्यहाँ कुनै न कुनै स्तरीय होटल खुलेपछि नै भएको पृष्ठभूमि छ, चाहे त्यो चितवन, नगरकोट, ठमेल या धुलिखेल होस् । ठमेलमा काठमाडौं गेस्टहाउस र नगरकोटमा क्लब हिमालय पनि त्यहाँ कुनै पनि व्यापारिक प्रयोजनका पूर्वाधार नहुँदा शाक्यको परिवारले शुरु गरेका होटल हुन् । उनी भन्छन्, ‘यी दुवै स्थानमा हामीले ती होटल खोलेपछि बिस्तारै त्यसवरपर विकास हुँदै गएर अहिलेको पर्यटकीय केन्द्रको स्वरूपमा आएका हुन् ।’

यो अनुभवबाट उनले करीब ३ वर्षअघि एउटा निष्कर्ष बनाए 'एकल प्रयासमा गन्तव्य बनाउन खोज्दा १५/२० वर्ष लामो समय लाग्छ ।' यसैले अब एक्लै होटल मात्र बनाउने होइन, उद्देश्य मिल्ने व्यवसायीहरूसँग मिलेर बृहत् अवधारणामा नयाँ गन्तव्य स्थापित गर्ने । उनले मनले खाएका साथीहरूसँग सहकार्य गर्ने प्रस्तावका साथ आफ्नो सोच शेयर  गरे । साथीहरूले आइडिया राम्रो भनेर प्रशंसा त गरे, तर त्यसलाई अघि बढाउने साथ भने शाक्यले भेटेका थिएनन् ।

त्यसैक्रममा विजय राजभण्डारीसँग भेटका क्रममा उनले सुनाए— लुम्बिनीमा होटलहरू छरिएर रहेको भए पनि त्यहाँ काठमाडौंमा ठमेल, दरबारमार्ग, झमेल भएजस्तो पर्यटकका लागि कुनै ‘हब’ छैन, यसैले नयाँ अवधारणामा त्यहाँ पनि एउटा पर्यटकीय केन्द्र विकासको सम्भावना र आवश्यकता छ ।

शाक्यले राजभण्डारीसँग करीब डेढ वर्षअघि मात्र यो अवधारणा शेयर गरेका थिए । रियल स्टेटमा नै बढी केन्द्रित रहेका राजभण्डारी गन्तव्य विकासका लागि शाक्यसँग मिलेर काम गर्न उत्साहित भए ।

गन्तव्य विकासको परियोजना सफल पार्न पर्यटन बुझेको व्यक्ति मात्र भएर हुँदैन भन्ने शाक्यले महसूस गरिसकेका थिए । रियल स्टेट डेभलपमेन्ट बुझेको मान्छे पनि चाहिन्छ भन्नेमा उनी प्रस्ट थिए । शाक्य र राजभण्डारी सहकार्य गर्न राजी भए । र, जन्मियो दुवैको अनुभव र विज्ञता मिश्रित अवधारणाको महत्त्वाकांक्षी परियोजना ‘द हब’, जसलाई उनीहरूले पाइलट प्रोजेक्टका रूपमा लुम्बिनीमा शुरु गरिसकेका छन् भने देशका अन्य सम्भाव्य स्थानमा पनि विकास गर्ने सोचमा छन् ।



साइटमा धमाधम काम हुँदै

द हबको पहिलो चरणका लागि आवश्यक जग्गा खरिदको काम पूरा भएर आयोजनाको मास्टर प्लानसमेत तयार भइसकेको छ ।
परियोजनामा कुन–कुन कम्पोनेन्ट कहाँकहाँ विकास गर्ने भनेर जग्गा छुट्याउने काम पनि सकिएको छ भने त्यसको डिमार्केसन शुरु हुने क्रममा छ ।

अहिले यी लगायत आधारभूत पूर्वाधारहरू विकास गर्न फिल्डमा माघबाटै मोबिलाइजेसन शुरु भइसकेको सीईका बिजनेस डेभलपमेन्ट हेड सुजन घिमिरेले जानकारी दिए ।

‘तीनदेखि छ महिनाभित्र कम्पाउन्ड, बाटो, ढल, पानी, विद्युत्, ओपन स्पेसलगायतलाई जग्गा छुट्ट्याउने र तीमध्ये केही पूर्वाधार बनाउने काम सकिन्छ,’ उनले भने, ‘त्यसपछि मुख्य संरचनाहरूको कन्स्ट्रक्सन आगामी वैशाखबाट शुरु हुन्छ ।’

राजभण्डारीका अनुसार द हब परियोजना विकासका लागि आवश्यक कर्जा लगानी गर्न एसबीआई बैंक तयार भइसकेको छ।
परियोजनास्थलमा सबैभन्दा पहिले अपार्टमेन्ट निर्माणको काम हुनेछ । तत्कालका लागि परियोजनाका कम्पोन्टहरूका प्रवर्द्धक तथा अन्य कर्मचारीका लागि ३५ देखि बढीमा ३७ युनिटको अपार्टमेन्ट ल्याउन लागिएको छ ।

त्यसमध्ये ३० युनिट परियोजनाको माटो खन्न शुरु नगर्दै बिक्री भइसकेको उनले बताए । यसैले अन्य कम्पोनेन्टहरूमध्ये मल्टिप्लेक्स पहिले लञ्च हुनेछ भने वाटर वर्ल्ड पहिलो चरणको अन्तिममा विकास गर्ने बताइएको छ ।


 

Share this Story

   

लुम्बिनीमा निजी क्षेत्रले बनाउँदैछ देशकै पहिलो ‘मिनी शहर’, पहिलो चरण ७ बिघामा, १० अर्ब लगानी को लागी १ प्रतिक्रिया(हरु)

ram thapa[ 2019-03-12 05:26:44 ]
Nepali thim are, kunai nepali bank sanga sahakarya milena ra?

   हालसम्म ६२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.