पहिलोपटक बैंकमार्फत पैसा बुझेपछि राउटेको अनुभव, ‘कस्तो कस्तो हुने रैछ, कागज दिएर पैसा पाइने’

बिजमाण्डू
२०७५ फागुन ३० गते १५:२६ | Mar 14, 2019


सुर्खेत।
लोपान्मुख राउटे जाती पारासामाजिक कार्यकर्ता पदमा नियुक्ति भएको एक महिना नपुग्दै बैंकमार्फत तलब बुझेका छन्।

Tata
GBIME
Nepal Life

यही फागुन १२ गते राउटेका पूर्वमुखिया महिनबहादुर शाही, मुखिया सूर्यनाराण शाही, डिलबहादुर शाही, वीरबहादुर शाही र युवा प्रकाश शाही उक्त पदमा नियुक्त भएसँगै पहिलोपटक बैंकमार्फत तलब बुझेका हुन्।

उनीहरूलाई सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले आगामी एक वर्षका लागि नियुक्त गरेको हो। राउटेले मासिक पारिश्रमिक बापत पहिलो महिनाको एक हजार पाँच सयका दरले सुर्खेतस्थित मेघा बैंकबाट रकम बुझेका हुन्।

पदमा बसेर पारासामाजिक कार्यकर्ता राउटेले आफ्नो समुदाय उत्थानका लागि सरसफाइ गर्ने, बिरामी हुँदा औषधि उपचार गर्ने, बालबालिकालाई पढाउन लेखाउन सघाउने, बालबालिकालाई कुपोषण हुनबाट बचाउने, बाल क्लब, महिला समूह लगायत गठन गर्न सहजीकरण गर्ने, सामुदायिक जङ्गल जोगाउन सहयोग गर्ने लगायतका जिम्मेवारी तोकिएका छन्।

पहिलोपटक बैंक पुगेर चेकमार्फत रकम बुझ्दा निकै खुसी देखिन्थे राउटे। तलब बुझ्दै मुखिया दिलबहादुर शाहीले भने, ‘कस्तो कस्तो हुने रैछ, कागज दिएर पैसा पाइने। बरु अलि धेरै दिए हुने।’

राउटेकै पक्षमा विगतका वर्षदेखि काम गर्दै आएको सोसेकका अध्यक्ष हिरासिंह थापाले राउटेको उत्थानका लागि आफूहरू निरन्तर लागिपरेको बताए। राउटेको परम्परा, संस्कृतिलाई जोगाउँदै उनीहरूको अस्तित्व नमेटिने गरेर संरक्षण गर्नतर्फ लागेको उनले बताए।

‘हामी राउटेको उत्थानका लागि केही वर्षअघिदेखि लागिरहेका छौँ’, उनले भने, ‘राउटेको परम्परा, संस्कृतिलाई संरक्षण गर्दे उनीहरूको बानी व्यवहार सुधार गर्ने योजनामा छौँ।’

राउटे समुदायमा आफूहरूले तीन जना कर्मचारी खटाएको अध्यक्ष थापाले बताए। उनीहरूको शिक्षाका लागि र स्वास्थ्य चेकजाँचका लागि नियमित राउटे बस्तीमा नै कर्मचारी हुने उनी बताउँछन्।