नेपाली शेयर बजारमा लगानी गर्न अमेरिकी र बेलायती कम्पनीको चासो, विधेयक संसदमा पुगेपछि छलफलमा

बिजमाण्डू
२०७५ चैत्र १ गते ०९:०४ | Mar 15, 2019
नेपाली शेयर बजारमा लगानी गर्न अमेरिकी र बेलायती कम्पनीको चासो, विधेयक संसदमा पुगेपछि छलफलमा

काठमाडौं। नेपाली शेयर बजारमा लगानी गर्नका लागि दुई अन्तर्राष्ट्रिय लगानी कम्पनी नेपाल भित्रिन खोजेका छन्। पाँच बर्षदेखि नेपाली बजारमा लगानी गर्न प्रयासरत कम्पनी सरकारी पछिल्लो कदमपछि फेरि नेपाल छिर्न चासो राख्न थालेका हुन्।

Tata
GBIME
Nepal Life

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ संसदमा दर्ता भएपछि अमेरिकी कम्पनी नेपाल भित्रिन खोजेको हो। 

विदेशी संस्थागत लगानीकर्ताले कम्पनी स्थापना गरी पूँजी लगानी कोष स्थापना गरेर कारोबार गर्न सक्ने प्रावधान विधेयकमा समेटिएको छ। विधेयक पेस भएलगत्तै स्थानीय ब्रोकर कम्पनीसँग यस विषयमा चासो व्यक्त गर्न थालेको नेपाल स्टक हाउसका अध्यक्ष इश्वरीप्रसाद रिमालले जानकारी दिए।

शेयर बजारमा काम गर्ने दुई अन्तर्राष्ट्रिय कम्पनीले चासो राख्दै गर्दै इमेलमार्फत जानकारी माग गरिरहेको रिमालले बताए। उनका अनुसार एक बेलायती र अर्को अमेरिकी कम्पनीले नेपाली शेयर बजारमा लगानी गर्न चासो राखेका हुन्। 

अमेरिकाको  'अयुरवाच ग्रेसन एन्ड कम्पनी'ले पाँच बर्ष अघि नै नेपाल भित्रिन खोजिरहेको थियो। संसदमा विधेयक पेस भएपछि गत सोमबार पुन: चासो राखेको रिमालले जानकारी दिए। उसले नेपालमा आधिकारिक रूपमा कुराकानी गर्न स्थानीय कम्पनीसँग चासो राखेको हो। 

लामो समयदेखि उनीहरू नेपाली बजारमा प्रवेश गर्न खोजिरहेका छन्। उनीहरूले नेपाली ब्रोकर कम्पनीमा साझेदारी गर्न चाहिरहेको उनले बताए। 

कानुनी रूपमा विदेशी लगानी खुले लगत्तै नेपालमा भित्रने उनीहरूको योजना छ। शेयरमा लगानी गर्न कम्पनी नै खडा गरी लगानी गर्ने वा ब्रोकर कम्पनीमा साझेदारी गर्ने भन्ने बियषमा परामर्श गरिरहेको रिमालले बताए। उसले यो विधेयक पास भएलगत्तै नेपाल धितोपत्र बोर्डको सुझावको आधारमा अघि बढ्ने योजना सुनाएको कम्पनीका उच्च अधिकारीलाई उद्धृत गर्दै रिमालले बताए। 

विदेशी लगानीकर्ताले नेपालमा एकल वा संयुक्तरुपमा उद्योग स्थापना गर्न पाउने व्यवस्था विधेयकमा छ। संस्थागत विदेशी लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई पूँजी लगानी कोषसमेत खडा गर्न सक्ने विधेयकमा उल्लेख छ। 

अयुरवाच ग्रेसन एन्ड कम्पनीले अमेरिकाको संस्थागत लगानीकर्ताको फण्डहरुलाई विश्वका उदाउँदो शेयर बजारमा लगानी गर्ने गर्छ। दक्षिण एसियामा उसको राम्रो उपस्थिति छ। विश्वभरमा १२३ देशमा उनीहरूको उपस्थिति रहेको छ।

भारत, पाकिस्तान, श्रीलङ्का लगायत देशमा उसले शाखा विस्तार गरिसकेको छ। ब्रोकर कम्पनी र लगानी कम्पनीका रूपमा उसले विश्वभर कारोबार गर्दै आएको छ। उनीहरू विश्वको सबै देशमा आफ्नो उपस्थिति चाहिरहेका छन्। 

लगानी विस्तार गर्न भन्दै यो कम्पनी दुई पटक नेपाल आइसकेको छ। पहिलो पटक कम्पनी करिब पाँच वर्षअघि नेपाल आएको थियो। त्यस बेला सो कम्पनीका प्रतिनिधिले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रतिनिधिसँग भेट गरेका थिए। त्यसबेला केन्द्रीय बैकमा डेपुटी गभर्नर महाप्रसाद अधिकारीसँग उनीहरूले छलफल गरेका थिए। अर्थ मन्त्रालयका सल्लाहकारका रूपमा रहेका डा. चिरञ्जिबी नेपाललाई समेत उनीहरूले भेटेका थिए। 

करिब डेढवर्ष अघि यो कम्पनीले फेरि आफ्नो प्रतिनिधि नेपाल पठाएको थियो। त्यस बेला पनि उसले नियामक निकायहरूमा लगानीको बातबारण मिलाइदिन आग्रह गरेको थियो। तर नेपाल भित्रिने कानुनी आधार नभएपछि उसले आफ्नो योजनालमई थाती राखेको थियो।