राजधानीको गुरुयोजना भताभुङ्गः कंक्रिटमय वीरेन्द्रनगर, यस्तो छ विज्ञको सुझाव





सुर्खेत। २०२९ सालमा तत्कालीन राजा वीरेन्द्र शाह सुर्खेतको वीरेन्द्रनगर सवार भएसँगै व्यवस्थित शहरीकरणको योजना अघि सारियो।

राजा वीरेन्द्रकै पालामा वीरेन्द्रनगरको गुरुयोजना निर्माण कार्य सुरु भयो। सिनियर प्लानर माधवभक्त माथेमाको नेतृत्वमा २०२९ माघ २९ मा भौतिक योजनाको टोली गठन गरी चरणवद्ध रूपमा वीरेन्द्रनगरका तत्कालीन १२ वटा वडाको गुरुयोजना बनाइयो।
Sunrise Bank
Sipradee


सोही योजना अनुसार व्यवस्थित शहरीकरण गर्न सरकारले दुई सय ३२ विघा जग्गा अधिग्रहण गरेर आवास क्षेत्र, पार्क, स्कुल लगायतको क्षेत्रका लागि छुट्टाएको थियो।राजा वीरेन्द्रले मन पराएको सुन्दर वीरेन्द्रनगर पछिल्लो समय प्रदेशको राजधानी भएसँगै स्वरूप फेरिँदै गएको छ। वीरेन्द्रकै पहलमा बनाइएको गुरुयोजना संक्रमणकालदेखि नै भताभुङ्ग पार्ने काम भइरहेको छ।

वीरेन्द्रनगर उपत्यकामा जनघनत्व वृद्धि हुँदै जानु र अव्यवस्थित संरचनाहरु निर्माण गरिनुले यहाँको स्वरूप फेरिँदै गएको हो। प्रदेशको राजधानी तोकिएसँगै वीरेन्द्रनगर आकर्षणको केन्द्र बनेको छ। राजधानी उपत्यकाको प्रवेशद्वार सुब्बाकुनादेखि पश्चिम बांगेसिमलसम्मको रत्नराजमार्ग छेउछाउमा अव्यवस्थित जग्गा प्लटिङ, खाली ठाउँ अतिक्रमण र अव्यवस्थित घर टहरा निर्माण भइरहेका छन्।

पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकाले गुरुयोजना निर्माण गरेर सोही अनुसार शहरीकरण गर्ने भन्दै कित्ताकाट र नक्सा पासमा रोक लगाएको छ। नक्सा पास र कित्ताकाट रोक लगाउने निर्णयलाई घरजग्गा व्यवसायीले भने विरोध गरिरहेका छन्। ‘निर्वाचित भएर आएको दुई वर्षसम्म कुनै कार्यविधि पनि छैन। कसैलाई जग्गा नकिन, घर नबनाउ भन्न मिल्छ र स्थानीय सरकारले? वीरेन्द्रनगरमा जग्गा कारोबार गर्दै आएका देवबहादुर थापा मगरले भने।

गुरुयोजना बनाउनु नगरपालिकाको उचित काम भएको वीरेन्द्रनगर –११ लाटीकोइलीका धीरेन्द्र पौडेल बताउँछन्। व्यवस्थित शहरीकरण गर्नु आवश्यक रहेको भन्दै यसलाई छिटो टुंगो लगाउनुपर्ने उनको भनाई छ। ‘गुरुयोजना बनाउने कुनै टुंगो नलाग्दासम्म रोक लगाइनु हुँदैन्थ्यो। तर, नगरपालिकाले महिनौअघिदेखि कित्ताकाट र नक्सापास रोक लगाउँदा हामीजस्ता नागरिक मारमा परेका छौँ’ उनले भने, ‘नगरपालिकाले बरु गुरुयोजना बनाउन लागिएकाले केही समयका लागि बन्द गरिन लागेको भनेर पूर्व सूचना निकाल्नु पर्थ्यो।’

किन रोक्यो स्थानीय सरकारले?
वीरेन्द्रनगरको विस्तारित क्षेत्र र बाँकी खण्ड व्यवस्थित र सुन्दरता कायम गराउने भन्दै नगरपालिकाको उपत्यकामा कित्ताकाट र नक्सा पास रोक लगाएको हो।

‘कित्ताकाट रोक्नुको मूल उद्देश्य वीरेन्द्रनगरको विस्तारित क्षेत्र र बाँकी खण्डलाई व्यवस्थित प्लानिङ गर्नका निमित्त हो’ वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले भने, ‘समग्रमा वीरेन्द्रनगरको व्यवस्थित सहर निर्माण गर्नका लागि हो। यातायात, खानेपानी, ढल, विद्युत्, ग्रीन क्षेत्र कसरी व्यवस्थित गर्ने भन्ने मात्रै हो। नगरको व्यवस्थित बस्ती विकास गर्नको लागि नै हो।’


चैत २ गतेबाट औपचारिक रूपमा गुरुयोजनाको काम थालिने नगर प्रमुख सुवेदीले बताए।‘रणनीतिक निर्माणको लागि एकपटक अध्ययन भइसकेको छ। चैत २ गते शहरी विकासबाट नियुक्त प्राविधिक टिम आएर गुरुयोजनाको काम सुरु गर्नेछ’ उनले भने, ‘टोलीले समग्र प्रतिवेदन दिन करिब ३ महिनादेखि ५ महिनासम्म लाग्ला। अबको २ महिनाभित्र बन्दको अवरोध खुलाउने गरी काम गर्न लागि परिरहेका छौँ।’
 
यस्तो छ विज्ञको सुझाव

तत्कालीन लाटीकोइली गाविसका पूर्वप्रधानपञ्च मुकुन्दश्याम गिरीले राजा वीरेन्द्रको पालामा बनेको गुरुयोजना विपरीत खेतीयोग्य जमिन करिब ७५ प्रतिशत कुरूप भइसकेको बताउँछन्।

‘बस्ती विकास, सडक निर्माण, कित्ताकाट गर्ने बेला वैज्ञानिक कित्ताकाट नगरेर जथाभाबी गरियो। लापरबाही तरिकाले बस्ती विकास हुँदा अहिले समग्र वीरेन्द्रनगर कंक्रिटमय भएको छ’ गिरीले भने।पूर्वप्रधानपञ्च गिरी पहिलेको प्लानिङ अनुसार रत्नराजमार्गदेखि माथिल्लो भाग अहिले व्यवस्थित नै भएको बताउँछन्। तर, राजमार्गदेखि दक्षिणतर्फको भागमा पनि निश्चित क्षेत्र निर्धारण गरेर आवासका लागि तोक्न सकिने उनले बताए।

शिक्षाविद् एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाका पूर्व डीन पिताम्बर ढकालले माधवभक्त माथेको नेतृत्वमा बनेको गुरुयोजना नै कार्यान्वयन गर्नुपर्ने बताए।ढकालले भने ‘रत्नराजमार्गदेखि उत्तरतर्फको भागमा व्यवस्थित प्लान थियो। ठाउँ–ठाउँमा सडक, पार्क, सार्वजनिक खुल्ला ठाउँ पनि छ। त्यसलाई जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्छ।’

प्लानिङभन्दा बाहिर गएर निर्णय गर्दा वीरेन्द्रनगरको स्वरूप बिग्रिएको र जोखिम बढेको उनको भनाई छ। आवास क्षेत्रका लागि समेत पुरानै योजना अनुसार यथावत् राख्नुपर्ने उनी बताउँछन्।मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका क्याम्पस प्रमुख एवं इन्जिनियर सोनालाल यादवले गुरुयोजना बनाउने भन्दै धेरै समय कित्ताकाट र नक्सापास रोक्न नहुने बताउँछन्। यादव भन्छन् ‘राजधानी भएकाले मास्टर प्लान गरेर अगाडि बढ्नु राम्रो हो। जनसङ्ख्या बढ्दै गर्दा यहाँ बस्ने भनेको जनता नै हो उनीहरूले दुःख पाउँछन्।’खेतीयोग्य जमिन बचाएर अन्य क्षेत्रमा आवासको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।


Share this Story

   

राजधानीको गुरुयोजना भताभुङ्गः कंक्रिटमय वीरेन्द्रनगर, यस्तो छ विज्ञको सुझाव को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.