दुई नगरपालिका जोड्ने रोमाञ्चक ‘जीप लाइन’: अब डोरीमा झुण्डिएरै पुगिन्छ धुलिखेलबाट पाँचखाल

स्वेच्छा राउत/बिजमाण्डू
२०७५ चैत्र ४ गते १६:३२ | Mar 18, 2019


काठमाडौं। खासाबाट आयातित सामान काठमाडौंसम्म ढुवानी गर्थे केदार थापा। २०७१ अघिसम्म गज्जब चलेको व्यवसाय २०७२ सालको बैशाखमा गएको भूकम्पपछि प्रभावित भयो। तातोपानी नाकास्थित नेपाल चीन जोड्ने मितेरी पुल ठप्प। सडक भत्कियो, पहिरो र बाढीको चपेटामा पर्यो। आयात, निर्यातपनि बन्द। ल्याउँदै गरेको सामानपनि नाकामै रह्यो।

Tata
GBIME
Nepal Life

केदार थापा खाली बस्न चाहेनन्। तुरुन्त नयाँ व्यवसायको योजनामा लागे। जसका लागि क्यानडामा रहेका भाइ बद्री थापाले ‘एड्भेन्चर स्पोर्टस् जिपलाइन’ बारे सुनाए। उनलाई भाइको सुझावले उत्साही बनायो किनकी उनी पनि सहासी खेलमा रुची राख्थे। उनले १६ वर्षको उमेरमै द लास्ट रिसोर्टमा सुपरभाइजरको रुपमा काम गरेका थिए। बन्जी, र्याफ्टिङ लगायत खेललाई नजिकबाट नियालेका थिए।

‘जिपलाइन केही फरक अनि छुट्टै रोमाञ्चता हुन्छ जस्तो लाग्यो’, केदार सुनाउँछन्,’सुरु गर्नै पर्छ भन्ने भयो।’

उनले आफ्नो योजना भुपेश श्रेष्ठलाई सुनाए। काठमाडौंका २७ वर्षिय श्रेष्ठ खासाबाट लुगा आयात गर्थे। भूकम्पपछि नाका बन्द हुनुले उनको व्यवसायमा निकै असर पार्यो। वर्षदिनपछि केरुङबाट सामान ल्याउन सुरु त भयो तर तातोपानी नाकाजस्तो सहज भएन। १० दिनमा आइपुग्ने सामानका लागि महिनादिन पर्खन पर्ने भयो। विविध अप्ठ्याराहरु बीच उनीपनि नयाँ केही गर्ने योजनामा थिए। अनि बन्यो जिपलाइनको योजना।

बिजमाण्डूसँग भने,’साहसिक सँगै पर्यटन केन्द्रित यो खेल सञ्चालनको लागि तयार भएँ। त्यसपछि मिलेर तयारीमा जुट्यौं।’

वर्ल्ड वाइड एड्भेन्चर प्रालीको नामा दुई मिलेर जिपलाइन सुरु गर्ने भए। त्यसका लागि लोकेसन हन्ट भयो। तातोपानी आवतजावत गरिराख्ने उनीहरुलाई द लास्ट रिसोर्टमा हुने साहसी खेलहरुमध्य बन्जी, स्विङको लोकेसनले आकर्षित गरेको थियो। सकेसम्म त्यस्तै ठाउँको खोजी थाले। त्यसैबीच आँखामा पर्यो धुलिखेलको थाक्लेडाँडा। धुलिखेलमै जिपलाइन सञ्चालनमा ल्याउन सके दुईवटा फाइदा हुने देखे, एक काठमाडौंबाट नजिक र अर्को धुलिखेल आफैमा पर्यटकीय नगरी। थाक्लेडाँडाको उचो विन्दुबाट ल्यान्डिङका लागि उचित ठाउँ देखे खावा।

‘धुलिखेलको थाक्लेडाँडाबाट झुण्डिएर पाँचखालको खावामा पुगिने। कस्तो गज्जब’, केदार सुनाउँछन्। अन्तत दुबै स्थानका जग्गा धनीसँग सहमति भयो। पन्ध्र वर्षसम्म वार्षिक भाडा तिर्नेगरी। गत साउनबाट नै निर्माण कार्य सुरु भयो। माघसम्मा दुई महिना परीक्षण गर्नेगरी तयार। यही चैतको अन्त्यसम्ममा जिपलाइनको औपचारिक सुरुवात हुँदैछ। आफूहरुले पर्यटन वर्ष २०२० लक्षित सेवा सुरु गरेको केदार श्रेष्ठको दाबी छ। भने,’पर्यटन नगरी धुलिखेलको प्रचार प्रसारमा हाम्रो प्रोजेक्टको योगदान रहने आशा छ।’
 
जिप लाइनको दूरी एघार सय मिटर छ। समुद्रसतहदेखि तेह्र सय मिटर उचाइबाट टेक अफ हुन्छ। ‘भर्टिकल ड्रप’ दुई सय ४० फिट हुँदै ल्यान्डिङ बाह्र सय मिटरको सतहमा हुन्छ।

जिपलाइन सञ्चालनका लागि वातावरण तथा वन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन मन्त्रालय एवं सम्बन्धित वडा कार्यालयहरुमा अनुमति लिएको जानकारी दिए।

नेपालमा पहिलो पटक सुपरम्यान र दुईजनाले एकसाथ गर्न मिल्ने (टेन्डम) जिपलाइन सुरु भएका छन्। यी दुई नयाँ सेवासँगै क्लासिक जिपलाइन हुन्छ। तीनवटै सेवाका लागि फरक शूल्क लाग्छ। र, हरेक सेवा नेपाली, विदेशी र सार्क राज्यहरुका लागि फरक छन्।

युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित  अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको जिपलाइनमा नेपाल र भारतका जिप मास्टर छन्। हालसम्म ४ करोड ७५ लाख लगानी भएको जिपलाइनसँगै चिलड्रेन एडभेन्चर क्याम्प र रेस्टुरेन्ट निर्माणको अन्तिम चरणमा छन्। जससमेत कुल बजेट ७ करोड तोकिएको छ।

जिपलाइनको मज्जा लिन चाहनेको लागि शुल्क सूची यस्तो छ।

क्लासिक (साधरण) जिपलाइन
नेपाली: २५ सय रुपैयाँ
सार्क देशका नागरिक: ३० डलर
अन्य देशका नागरिक: ३५ डलर

सुपरम्यान जिपलाइन
नेपाली: तीन हजार रुपैयाँ
सार्क देशका नागरिक: ४० डलर
अन्य देशका नागरिक: ४५ डलर

टेन्डम जिपलाइन
नेपाली: ४५ सय रुपैयाँ
सार्क देशका नागरिक: ५० डलर
अन्य देशका नागरिक: ६० डलर