पोखरामा १२ करोड लगानीमा होस्टलको सुविधासहितको होटल खुल्यो, यस्तो छ होटल

बिजमाण्डू
२०७५ चैत्र ९ गते १६:५१ | Mar 23, 2019


काठमाडौं ।‌ साढे दुई दशक भन्दा लामो समय हङकङमा बिताएका ५५ वर्षिय हरिभक्त आचार्य स्वदेशमै आफ्नो 'ड्रिम होटल' लिएर पर्यटन व्यवसायमा प्रवेश गरेका छन्।

Tata
GBIME
Nepal Life

रोजगारीका लागि हङकङ पुगेपछि पर्यटन क्षेत्रमा फुड एण्ड वेभरेज (खाना र पेय)को क्षेत्रमा जागिरे अनुभव हासिल गरेका आचार्य अहिले जन्मथलो पोखरामा फर्किएर होटल व्यवसायी बनेका हुन् । आचार्यले भने,’पर्यटन व्यवसायको अनुभवलाई आफ्नै माटोमा सदुपयोग गरौं भन्ने सोच लिएर फर्किएको हुँ।‘ ओम गौरा जोस्टेल प्रालि नाम दिइएको लेक साइड स्ट्रिट नम्बर ५ मा अवस्थित उनको होटल चार रोपनी क्षेत्रफलमा फैलिएको छ।

डेढ रोपनी क्षेत्रफलमा होटलको भवन ठडिएको छ भने बाँकी खुला ठाउँलाई आगन्तुकको स्वागत र पार्किङका लागि प्रयोग गरिएको छ। होटल र होस्टेलको सम्मिश्रण सहितको सुविधा उपलब्ध गराएका आचार्यले आफ्नो होटलको नाम पछाडी 'जोस्टेल' शब्द जोडेर फरक पहिचान दिन खोजेका छन् । ६ वटा ट्वीन र ६ वटा डिलक्स सहित २० कोठे यो होटलमा कुल ६४ वटा बेड छ।

होटलमा सस्तो र स्तरीय बासको सुविधा खोज्ने छात्रवासमा झैं एउटै कोठामा ६ देखि ८ जनासम्म सुत्न मिल्ने गरी दुई तल्ले बेडको व्यवस्था समेत गरिएको छ । पोखराको मनोरम हिमश्रृङ्खलाको साथै डाँडाकाँडा हेर्दै पेय र स्वादिलो खानाको मज्जा लिन मिल्ने गरी होटलको छतमा बँगैंचा सहितको 'रुफटप रेष्टुरा'को पनि सुविधा उपलब्ध रहेको होटल संचालक आचार्यले जानकारी दिए।

पहिलो चरणमा १२ करोड रुपैयाँ लगानी गरिएकोमा निकट भविष्यमा स्वीमिङ पुलको समेत निर्माण गरिने होटल व्यवस्थापनले जानकारी दिएको छ । लेकसाइडका होटलहरुमा पार्किङको सुविधा पनि समस्याको रुपमा रहेको छ, व्यवसायी आचार्यले भने, ‘हाम्रो होटलमा पर्याप्त ‌‌र सुरक्षित पार्किङको व्यवस्था गरिएको छ।‘ सर्वाधिक मन पराइएको पर्यटकीय गन्तव्यको रुपमा रहेको पोखरामा अहिले पर्यटकको क्रय शक्ति र वर्गिकरणको आधारमा फरक फरक सुविधा र पूर्वाधार सहितको स्पेशलाइज्ड (विशिष्ट) होटल खोल्ने क्रम बढेको छ । दुई महिना अघि मात्र नेपालकै पहिलो 'लक्जरी टेण्ट होटल' संचालनमा ल्याएको छ।