युद्धबाट उठेको भियतनाम तीन दशकमै बन्यो विश्वको नमुना देश, आर्थिक चमत्कारको कथा





भियतनामको राजधानी शहर हानोइको सडकमा हिँड्दा जो कोहीले अभूतपूर्व उत्साह महसुस गर्न सक्छन्।

मानिसहरु स्कुटरमा कुदिरहेका छन्। फोनदेखि खानेकुरासम्म सडक छेउका ससाना पसलबाट किनबेच भैरहेको छ।  काममा जाने र स्कुल जानेहरुको कुदाइ र हतारो उस्तै देखिन्छ। भियतनाम यतिबेला सबैले महसुस गर्न सक्नेगरी हुर्किरहेको छ, जवान छ र एकदमै उत्साहित पनि। तर ३० वर्षअघिसम्म पनि भियतनामलाई विश्वकै एक गरिव देशका रुपमा चिनिन्थ्यो। दक्षिणपूर्वी एशियाली देश कसरी यो अवधिमा मध्यम आय भएको देश बन्न सक्नुमा ठूलो संघर्षको कथा जोडिएको छ।
Sipradee


जब सन् १९७५ मा भियतनाममा २० वर्षे लामो युद्ध सकियो त्यसबेला भियतनामको अर्थतन्त्र विश्वकै कमजोरमध्ये एक थियो।  भियतनामी सरकारको पञ्चवर्षीय विकासको योजना पनि एकदमै कमजोर थियो। सन् १९८० को दशकको मध्यतिर भियतनामको पर प्रतिब्यक्ति आय जम्मा २ सय देखि ३ सय डलरमा अड्किएको थियो।

तर त्यसैबेलापछि केही परिवर्तन सुरु भयो। सन् १९८६ मा सरकारले 'डोइ-मोइ' नामको आर्थिक र राजनीतिक पुनर्संरचनाको चरणबद्ध कार्यक्रम सुरु गर्यो जसले देशलाई 'सोसलिस्ट ओरियन्टेड मार्केट इकोनोमी'का रुपमा अघि बढाउन सफल भयो। आज भियतनामले विश्वकै जल्दोबल्दो बजारका रुपमा उपस्थिती जनाएको छ। यसको आर्थिक बृद्धि ६ देखि ७ प्रतिशतसम्म छ र यसको निर्यात नै जिडिपीको मुख्य स्रोत हो।

नाइकका स्पोर्ट्सवेयरदेखि सामसुङका स्मार्टफोन समेत यसै देशमा उत्पादन हुन्छ। युनिभर्सिटी अफ देलावरका सह प्राध्यापक सेङ लुले भियतनामको समृद्धिबारे भन्छन् - 'अब यहाँ सीमित कामदार र सीमित उत्पादन सुविधा बाँकी छ।' विश्व बैंक तथा थिंक ट्याङ्क ब्रुकिङ्सका विश्लेषकहरुका अनुसार भियतनामको आर्थिक बृद्धिका पछाडि मुख्य तीन कारण जोडिएका छन्।

पहिलो यसले ब्यापारमा उदारीकरणलाई अन्तरहृदयदेखि नै आत्मसाथ गरेको छ। दोस्रो यसले बाह्य उदारीकरणलाई आन्तरिक पुनर्संरचना तथा 'रिफर्म प्रोग्राम'बाट समायोजन गर्दै आएको छ।

डुइङ बिजनेसका लागि वातावरण बनाउनकलागि यसले लागत न्युन गर्ने तथा नियामकीय पक्षहरुको संशोधन गर्ने काम  पनि गरिरहेको गर्छ। तेस्रो, भियतनामले सार्वजनिक लगानीको रुपमा मानवीय तथा भौतिक क्षेत्रको विकासमा पुँजीलाई ब्यापक परिचालन गरेको छ। 

पहिलो कारणलाई विश्लेषण गर्ने हो भने बिगतका २० वर्षमा भियतनामले बिबिध खुला बजार सम्झौताहरुमा हस्ताक्षर गरेको छ। सन् १९९५ मा भियतनाम आसियान खुला बजार क्षेत्रमा आवद्भ भयो। सन् २००० मा यसले अमेरिकासँग खुला बजार सम्झौता गर्यो भने सन् २००७ मा विश्व ब्यापार संगठनको सदस्य बन्यो। त्यसयता थप आसियान सम्झौता, चीन, भारत, जापान र कोरिया तथा यसै वर्षमात्र ट्रान्स प्यासेफिक पार्टनरसिप पिपिपी सम्झौता समेत गरेको छ। यी सबै सम्झौताहरुको प्रभाव बिस्तारै पर्दैछ जसबाट उसले आफ्नो आयात निर्यातका ट्यारिफहरुलाई बिस्तारै घटाउन सक्षम भैरहेको छ।

भियतनामी सरकारले आन्तरिक सुधारका कार्यक्रमहरुबाट पनि खुला अर्थतन्त्रलाई बढावा दिइरहेको छ। सन् १९८६मा भियतनाममा विदेशी लगानी भित्र्याउने विषयमा पहिलोपटक कानुन बनायो। यसपछि बिदेशी कम्पनीहरुलाई भियतनाम छिर्न सजिलो भयो। ल फर्म बेकर एण्ड म्याकेन्जीले सन् २०१६ मा जारी गरेको प्रतिवेदनमा भनिएको छ -'भियतनामले बैदेशिक लगानीसम्बन्धी कानुन पटक पटक परिमार्जन गरेको छ। जसबाट अझै धेरै लगानीमैत्री अवधारणा अपनाउन सकियोस्। प्रशासनिक क्षेत्र तथा कर्मचारीतन्त्रको झमेलाबाट लगानीकर्तालाई मुक्त गर्ने तथा गुणस्तरीय बैदेशिक लगानी भित्र्याउन सजिलो होस्।'

वर्ल्ड इकोनोमिक फोरमको प्रतिवेदन अनुसार भियतनाम विश्वबजार प्रतिस्पर्धामा सन् २००६ मा ७७ औं स्थानमा थियो भने सन् २०१७ मा ५५ औं स्थानमा आइपुग्यो। विश्व बैंकले डुइङ बिजनेसको श्रेणीमा पनि भियतनाम सन् २००७ मा १०४ औं नम्बरमा थियो भने सन् २०१७ सम्म आइपुग्दा ६८ औं स्थानमा आएको छ। गत वर्ष विश्व बैंकले जारी गरेको प्रतिवेदनमा 'भियतनामले सम्झौताहरुको पालना, ऋण तथा बिजुलीको पर्याप्तता, करको भुक्तानी तथा बैदेशिक ब्यापारलगायत अन्य सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको' जनाएको छ।

भियतनामले आफ्नो देशको मानवीय पुँजी तथा पूर्वाधारमा समेत धेरै ठूलो लगानी गरेको छ। तीब्र बढिरहेको जनसंख्याका कारण भियतनाममा हाल ९ करोड ५० लाख मानिस छन् जसमध्ये आधा जनसंख्या ३५ वर्षभन्दा कम छन्। भियतनामले प्राथमिक शिक्षामा ठूलो सार्वजनिक लगानी गरेको छ। रोजगारी तथा दक्ष जनशक्तिकालागि यो आवश्यक पनि छ।

तर भियतनामले यो सँगै पूर्वाधारमा पनि ब्यापक लगानी गरेको छ। आइटीमा यसले गरेको लगानीबाट इन्टरनेटमा सस्तो र धेरैको पहुँचको सुनिश्चितता गरेको छ। चौथो औद्योगिक क्रान्तिले दक्षिण पूर्वी एशियाको ढोका घचघच्याइरहेको छ र भियतनामले आइटीको पूर्वाधारमा गरेको लगानी यसको पूर्वतयारीका रुपमा देखिन्छ। 

यस्ता लगानीले प्रतिफल दिन्छन्। आवश्यक पूर्वाधार तथा बजारमैत्री नीतिहरुले भियतनाम बिदेशी लगानी तथा उत्पादनकलागि दक्षिण पूर्वी एशियाको हब बनेको छ। जापानी तथा कोरियाली बिद्युतीय उपकरण कम्पनीहरु जस्तै सामसुङ, एलजी, ओलम्पस, पायोनियर तथा बिभिन्न यूरोपली तथा अमेरिकी तयारी पोशाक उद्योग भियतनाममा उद्योग खोलेका छन्। सन् २०१७ यता भियतनाम यस क्षेत्रकै सबैभन्दा ठूलो तयारी पोशाकको निर्यातकर्ता देश समेत बनेको छ भने दोस्रो ठूलो इलेक्ट्रोनिक्सको निर्यातकर्ता देश। इलेक्ट्रोनिक्समा सिंगापुर पहिलो नम्बरमा छ।

सन् २०१० देखि भियतनामको कुल ग्राहस्थ उत्पादनको बृद्धि बार्षिक कम्तीमा ५ प्रतिशत रहेको थियो भने सन् २०१७ मा यो ६.८ प्रतिशत पुग्यो। यस्तो तीब्र आर्थिक बृद्धिका कारण विश्वकै गरिब मध्येको देश सहजै मध्यम आय भएको मुलुक बन्न पुग्यो। यस्तै सन् १९८५ मा प्रतिब्यकित आय मुश्किलले २ सय ३० डलर पुग्नेमा सन् २०१७ सम्म आइपुग्दा यसको दश गुनाभन्दा बढी भएको छ अर्थात् अब भियतनामको प्रतिब्यक्ति आय २ हजार ३४३ डलर भएको छ। यस्तै प्रतिब्यक्ति क्रय शक्तिका आधारमा हेर्दा यो अझै उच्च देखिन्छ जुन ६ हजार डलरभन्दा माथि रहेको छ।

भियतनामको आर्थिक बृद्धि पनि समावेशी किसिमको देखिन्छ। वर्ल्ड इकोनोमिक फोरमको 'इन्क्लुजिभ डेभलपमेन्ट इन्डेक्स'का अनुसार भियतनामले आफ्नो बृद्धि प्रक्रियालाई अझ बढी समावेशी र दीगो बनाएको छ। महिलाहरुको ज्याला दर राम्रो अवस्थाको छ। महिलामाथिको भेदभाव कायमै भएपनि महिलाहरुको रोजगारी दर १० प्रतिशत देखिन्छ। पुरुषहरुजस्तै महिलाले नेतृत्व लिएको घरपनि गरिब नरहेको अध्ययनले देखाउँछ।

तर भियतनामको सबैभन्दा नकारात्मक पक्ष भनेको त्यहाँको सरकारले मानवअधिकार तथा गोप्यताका बिषयमा लिएको निती नै हो। भियतनामको प्रेस स्वतन्त्रता विश्वकै खराबमध्ये एक हो। नागरिकहरुको कडा निगरानी तथा मानवअधिकारबादीहरुलाई असहयोग गर्नु भियतनामको नराम्रो उदाहरण हो।
सन् २०१८ मा भएको वर्ल्ड इकोनोमिक फोरमको बैठकमा भाग लिन पुगेका दुई मानवअधिकारकर्मीलाई भिसा नदिएका कारण उनीहरुले प्रवेश पाएका थिएनन्।

तीब्र रफ्तारमा बढिरहेको भियतनामलाई के बाट खतरा होला? भियतनमले आफ्नो कुल ग्राहस्थ उत्पादनको ९९.२ प्रतिशत निर्यात ब्यापारबाट प्राप्त गर्छ अर्थात यसको सफलता बिदेशी लगानी तथा ब्यापारसँग अन्तरसम्बन्धित छ। विश्वमा उदाइरहेका नयाँ बजारहरुले बिदेशी लगानी आकर्षित गर्न थालेभने भियतनामको बजारलाई असर पार्न सक्छ।

तर तत्कालको लागि भने भियतनामले बढ्दो बिश्व ब्यापार तनावबाट पनि फाइदा लिइरहेको छ। अमेरिकाले ट्रान्स प्यासेफिक पार्टनरसिपबाट पछि हटेपछि त्यसको ठूलो प्रभाव चीनलाई परेको छ। चीनसँग सम्बन्ध बिग्रिएर अर्बौ डलरको चिनियाँ सामाग्रीमा बन्देज लगाएको अमेरिकाले आफ्नो उत्पादनको लागि चीन छोडेर भियतनाम जस्ता देशलाईलाई छान्दै जाँदा भियतनामले तयसको फाइदा उठाउन सक्छ।

तर भियतनाम बढ्दो पश्चिमी संरक्षणबादको शिकार भएन भने यसले आफ्नो बृद्धिको रफ्तार अझै बढाउँदै लैजान सक्छ। आन्तरिक तथा अन्तराष्ट्रिय रिटेलरहरुले पनि भियतनाममा आफ्नो तीब्र बिस्तार गर्न चाहिरहेका छन् किनभने त्यहाँको मानिसको क्रयशक्ति एकदमै बढी छ । जब मानिसको सेवा तथा बस्तुप्रतिको क्रयशक्ति बढ्न थाल्छ त्यहाँ रिटेलरहरु पनि बजार बिस्तार गर्न उत्साहित हुन्छन्।यसको  अर्थ स-साना पसल तथा स्कुटरहरुले भरिएको भियतनामका सडकहरु बिस्तारै कारहरुले भरिन थाल्नेछन्। ससाना पसलहरुको ठाउँमा ठूला ठूला मलहरु खडा हुनेछन्।  तत्कालको लागि भने भियतनाम उत्साहकासाथ आफ्नै रफ्तारमा दौडिरहेको छ। (पिटर वान्हाम वर्ल्ड इकोनोमिक फोरममा कार्यरत अर्थशास्त्री हुन्।)

Share this Story

   

युद्धबाट उठेको भियतनाम तीन दशकमै बन्यो विश्वको नमुना देश, आर्थिक चमत्कारको कथा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.