गाडी एसेम्बल्डको स्वीकृति पाएको मोट्रेक्सको कडा शर्त, सात वर्ष अर्को कम्पनी आउन नपाउने

बिजमाण्डू
२०७५ चैत्र १० गते १२:५१ | Mar 24, 2019
गाडी एसेम्बल्डको स्वीकृति पाएको मोट्रेक्सको कडा शर्त, सात वर्ष अर्को कम्पनी आउन नपाउने



काठमाडौं। नेपालमै गाडी एसेम्बल्डको स्वीकृति पाएको मोट्रेक्सले सात वर्ष अर्को कुनै कम्पनीलाई एसेम्बल्ड प्लान्ट राख्न नदिने शर्त राखेको छ।

Tata
GBIME
Nepal Life

 लगानी बोर्डमा कोरियाली कम्पनी मोट्रेक्सले बुझाएको प्रस्तावमा सात वर्षसम्म यस्तै प्रकृतिका अन्य 'भेहिकल म्यानिफ्याक्चरिङ एसेम्बल्ली प्लान्ट' दिन नपाइने कडा शर्त राखेको छ। मोट्रेक्सले खुला बजार विपरित अरु उद्योगलाई आउन नदिन कडा शर्त राखेको हो।बोर्ड स्रोतका अनुसार सात वर्षपछि पनि ११ अर्ब रुपैयाँ भन्दा ठूला परियोजनालाई मात्रै अनुमति दिनुपर्ने शर्त राखेको छ।

‘प्रस्ताव अनुसार माथिका शर्त पूरा भएमा कम्पनीलाई लगानी बराबरको प्रतिफल प्राप्त गर्न सात वर्ष लाग्नेछ’ बोर्डमा पेश भएको कम्पनीको प्रस्तावमा उल्लेख छ। कम्पनीले पेश गरेको प्रस्तावका बारेमा परियोजना लगानी सम्झौंतामा नेगोसियसन हुनेछ। यो कम्पनीसँग नेगोसियसनका लागि बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी संयोजक रहेको समिति समेत बनाइएको छ। समितिमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन र लगानी बोर्डका सहसचिव सदस्य छन्। 

यही नेगोसियसनका आधारमा कम्पनीले राखेको शर्त बारेमा निर्णय हुनेछ। स्रोतका अनुसार नेपालमा एसेम्बल्ड प्लान्ट राख्न चाहेका केही कम्पनीलाई आउननै नदिने गरि कम्पनीले कडा शर्त राखेको हो। ‘मोट्रेक्सले राखेको कडा शर्तले नेपालमा लगानी गर्न चाहेका गाडी कम्पनीलाई निरुत्साहित गर्न चाहेको स्पस्ट देखिन्छ। यदि यही प्रावधान भएमा नेपालमा प्यासेन्जर भेहिकल बिक्री गरिरहेका कम्पनीहरुले प्लान्ट लगाउने योजना रोकिन्छ। यसले मुलुकलाई वेफाइदानै हुनेछ’ बोर्डकै एक कर्मचारीले भने,’खुला बजार प्रतिस्पर्धा अनुसार अरु कम्पनीलाई आउनै नदिने शर्त राख्नुले कम्पनीको नियतमाथि पनि प्रश्नचिन्ह खडा भएको छ।’

कम्पनीले यो केही सवारी साधन आयात गरेर ‘टेष्ट भायवल मोडल’मा स्थानीय बजारमा बिक्री गर्न पाउने शर्त पनि राखेको छ। बोर्डका ती कर्मचारीका अनुसार गाडी एसेम्बल्ड गर्ने कम्पनीले विदेशबाट गाडी ल्याएर बिक्री गर्न पाउनुपर्ने शर्त राख्नु अझ आश्चर्यजनक छ।‘गाडी उत्पादक कम्पनीले विदेशबाट कुनै गाडी ल्याएर टेष्ट भायबल मोडलमा बिक्री गर्न पाउनुपर्छ भन्ने शर्त राख्नु आश्चर्यजनक छ। यो कम्पनीले स्वदेशमै गाडी उत्पादन गर्ने भएपछि किन विदेशबाट गाडी ल्याउने शर्त राख्नुपर्छ’ ती कर्मचारीले प्रश्न गरे। कम्पनीले लगानी सम्झौंतामै कर्पोरेट कर, गाडी उत्पादनका लागि आवश्यक पर्ने मेशिनरी प्लान्ट, कन्स्ट्रक्सनका सामाग्रीहरुमा भन्सार छुट हुनुपर्ने शर्त राखेको छ।

यो कम्पनीले माघ २५ गते एसेम्बल्ड प्लान्ट राख्न प्रस्ताव गरेको थियो। लगानी सम्मेलनका पूर्व सन्ध्यामा यो कम्पनीलाई एसेम्बल्ड प्लान्ट राख्न दिने गरि विदेशी लगानी स्वीकृति दिइएको हो। एसेम्बल्ड प्लान्टको अनुभव नभएको यो कम्पनीले कोरियामा एसेसरिज मात्रै उत्पादन गर्छ।
प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा अघिल्लो साता बसेको बोर्ड बैंठकले मोट्रेक्सलाई नेपालमा एसेम्बल्ड प्लान्ट स्थापनाका लागि स्वीकृति दिएको थियो।

यो कम्पनीको १० अर्ब ५४ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत गर्दै कम्पनीलाई चार पाँग्रे गाडी एसेम्बल्ड गर्न स्वीकृति दिएको थियो। कम्पनीले पहिलो वर्ष ५ हजार ८ सय २०, दोस्रो वर्ष ९ हजार ५ सय ३०, तेस्रो वर्ष १५ हजार ८०, चौथो वर्ष २० हजार थान सवारी उत्पादन गर्ने उल्लेख गरेको छ। कम्पनीले परियोजना सुरु भएको पाँचौ वर्ष र उत्पादन भएको चौथो वर्षबाट परियोजना ब्रेक इभनमा जाने प्रस्ताव गरेको छ। कम्पनीले बुटवलमा रहेको मोतिपुर औद्योगिक क्षेत्रमा एसेम्बल्ड प्लान्ट बनाउन १० महिना लाग्ने प्रस्ताव समेत पेश गरेको छ।