धितोपत्र बोर्डमा लगानीकर्ताको आन्दोलनको असर, हाइड्रो बाहेकका अन्य सबै कारोबारलाई रेड सिग्नल

बिजमाण्डू
२०७५ चैत्र १० गते १५:३८ | Mar 24, 2019


काठमाडौं। धितोपत्र बोर्डमा बजार सुधारको माग राख्दै लगानीकर्ताको दवाव समुहले ताला लगाएपनि शेयर बजार भने थप ५.८२ अंकले घटेको छ।

Tata
GBIME
Nepal Life

कारोबार सुरु भएदेखिनै घट्न थालेको शेयर बजार दिउँसो एक बजेसम्ममा ९.५१ अंकले घटेको छ।

बोर्डले आन्दोलनरत लगानीकर्तालाई प्रशासन लगाएर हटाएपछि शेयर बजार थोरै करेक्सन हुने क्रममा ९ अंकले घटेको बजार अन्तिममा ५.८२ अंकले मात्रै घटेर ११३४.८० अंकमा रोकिएको छ।

आजबाट दोस्रो बजारमा कारोबार सुरु भएको शिवम् सिमेन्टको शेयर मूल्य घट्ने क्रममा सर्किट लागेको छ। फागुन अन्तिम साता बजारमा सुधारको संकेत देखिए पनि चैत्र लागे सँगै पुनः बजार घट्दा २८ अंकले घटिसकेको छ।

बैंक तथा वित्तीय क्षेत्र र हाइड्रोपावरले मात्रै शेयर निष्काशन हुँदै आएकोमा धेरै सयम पछि प्रिमियम सहित शेयर निष्काशन गरेको शिवम् सिमेन्टको पहिलो कारोबार नै अधिकत घट्ने क्रममा सर्किट लागेको हो।

दोस्रो बजारमा १ सय ६६ वटा कम्पनीको २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। हाइड्रोपावरको झिनो अंकले सुधार देखिएपनि बाँकी सूचक तथा उपसूचक ओरालो झरेका छन्।

आशा लघुवित्त वित्तीय संस्थाको अधिकतम एक करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। नागवेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ३ प्रतिशतले कमाएका छन् भने आजैदेखि कारोबार सुरु भएका दुई कम्पनी शिवम् सिमेन्ट र युनिभर्सल पावरको घट्ने क्रममा सर्किट लागेको हो।

बैंक तथा वित्तीय संस्था व्याजदर उच्च हुँदा शेयर कर्जा लिएर शेयर खरिद गर्ने लगानीकर्ता घटेका छन्। बजार एकोहोरो घटिरहँदा सर्वसाधारण लगानीकर्ता बजारमा प्रवेश गर्न सकेका छैनन्।

बजार बढेको संकेत पाए सँगै शेयर खरिद गर्नेहरु पनि लगातार घाटामा जान थालेपछि कारोबार रकम र सूंचक बढ्न नसकेको हो।

बजार एकोहोरो घट्ने क्रममा अर्बौ रुपैयाँ गुमेको भन्दै दवाव समुह नै बनाएर लगानीकर्ता आन्दोलनमा छन्।