तत्कालिन ग्राण्ड बैंकमा अर्बमाथिको ऋण दुरुपयोग: राष्ट्र बैंकको सिफारिसमा सिआइबीको अनुसन्धान

बिजमाण्डू
२०७५ चैत्र ११ गते ०९:३७ | Mar 25, 2019
तत्कालिन ग्राण्ड बैंकमा अर्बमाथिको ऋण दुरुपयोग: राष्ट्र बैंकको सिफारिसमा सिआइबीको अनुसन्धान


काठमाडौं। एक अर्ब रुपैयाँभन्दा बढि घोटाला गरेको भन्दै तत्कालिन ग्राण्ड बैंक नेपालका प्रमुख कार्यकारी, सञ्चालक समितिसहित १० जना विरुद्ध अनुसन्धान सुरु भएको छ। नेपाल राष्ट्र बैंकको सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले अनुसन्धान थालेको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि सिफारिस गरेको छ। राष्ट्र बैंक उच्च स्रोतहरुका अनुसार तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुधिरबाबु खत्री, सञ्चालक समिति अध्यक्ष स्वरुप गुरुङ कोनेलगायत सञ्चालक र उच्च व्यवस्थापनले बैंकिङ घोटाला गरेको बिषयमा अनुसन्धान गर्न लेखेर पठाइएको छ।

बैंकले खासगरी रियलस्टेट, एयरलाइन्सलगायतमा प्रवाह गरेको ऋण दुरुपयोग गरिएको राष्ट्र बैंकको आरोप छ। अहिले ग्राण्ड बैंकलाई प्रभु बैंकले गाभिइसकेको छ। २०७२ फागुनमा प्रभुले ग्राण्डलाई गाभेको थियो।

गाभिएपछि पनि ग्राण्डतिरबाट लगानी भएर डुबेको ऋण उठ्न सकेको छैन। केही सञ्चालकहरुले भने केही ऋण भूक्तानी गरेको भन्दै राष्ट्र बैंकलाई जानकारी गराएका छन्। राष्ट्र बैंकको कारवाही  सिफारिसमा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको पनि नाम छ। यसैगरी केही जग्गा कारोबारीहरुमाथि पनि आवश्यक अनुसन्धान गरी कारवाही अगाडि बढाउन राष्ट्र बैंकले सिआइबीलाई आग्रह गरेको छ।

बैंकिङ ऋण दुरुपयोग हुँदा राष्ट्र बैंकको सिफारिसमा सिआइबीले अनुसन्धान गरी पाटन उच्च अदालतमा मुद्दा चलाउँछ। सिआइबी स्रोतका अनुसार अब केही दिनभित्रै आरोपितहरुलाई बयानका लागि झिकाइने तयारी भइरहेको छ। 

प्रभुले गाभेपछि एकिकृत कारोबारको उद्घाटन गर्दै गभर्नर डा. चिरञ्जिबी नेपालले ढल्न लागेको बैंकलाई जोगाउन पाएकोमा खुसी लागेको बताएका थिए। ०७२ फागुन १ गते एकिकृत कारोबार भएको थियो। कार्यक्रममा ग्राण्डका तत्कालिन अध्यक्ष कोनेले पनि राष्ट्र बैंक र प्रभु बैंकलाई धन्यवाद दिएका थिए।

मर्जरअघि बैंकको एक अर्ब ३२ करोड रुपैयाँ नोक्सानमा गएको थियो। जगेडा कोष एक अर्बभन्दा बढीले ऋणात्मक थियो। खराब ऋण बढेर ४० प्रतिशत पुगेको थियो। त्यसबेला राष्ट्र बैंकले ग्राण्डलाई शीघ्र सुधारात्मक कारवाही अगाडि बढाएको थियो।

०७१ असारबाट २०७२ पुससम्म आउँदा निक्षेप २१ अर्बबाट घटेर ६ अर्ब ४३ करोड रुपैयाँमा झरेको थियो। कर्जा १५ अर्बबाट आठ अर्ब रुपैयाँमा ओर्लिएको थियो। अहिले ग्राण्डबाट डुबेको कतिपय ऋणहरु प्रभुले उठाइरहेको स्रोतको दावी छ। 

डा. युवराज खतिवडा गभर्नर हुँदा ग्राण्डमाथि शीघ्र सुधारात्मक कारवाही भएको थियो। तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुधिरबाबु खत्रीलाई पाँच लाख रुपैयाँ जरिवाना समेत गराइएको थियो। खत्री कार्यकाल बाँकी छँदै बाहिरिएपछि बैंकले पर्शुराम कुँवर क्षेत्रलाई प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। उनले नै खराव ऋणजति सबैको नोक्सानी व्यवस्थापन गराएका थिए। त्यही कारण बैंकको जगेडा कोष ऋणात्मक भएको थियो।

राष्ट्र बैंकका अनुसार, सुधिर बस्नेतलाई अग्नी एयरमा ऋण लगानी गर्दा र पछि त्यो ऋण नउठ्ने हुँदा गरिएको लिलाम बिक्रीका बेला घोटाला गरिएको छ। केही ठाउँका रियलस्टेट ऋणहरुमा पनि ठूलो घोटाला गरिएको छ। 

'करिव १ अर्ब रुपैयाँभन्दा माथिको बैंकिङ घोटाला भएको फेला परेपछि हामीले सिआइबी र अख्तियारलाई कारवाहीका लागि लेखिपठाएका हौं' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'जनताबाट निक्षेप उठाएर हदैसम्मको दुरुपयोग गरेको भेटियो।'