मकैको मात्र खानेकुरा पाइने मिस्टर कन रेष्टुरेन्ट चाबहिलमा खुल्यो, १० ठाउँमा शाखा बिस्तार गर्दै

बिजमाण्डू
२०७५ चैत्र २६ गते १२:३८ | Apr 9, 2019
मकैको मात्र खानेकुरा पाइने मिस्टर कन रेष्टुरेन्ट चाबहिलमा खुल्यो, १० ठाउँमा शाखा बिस्तार गर्दै

काठमाडौं। मकैको खानामा नयाँपन दिने उदेश्यले धनकुटाका दुर्गाबहादुर सुवेदी र मोरङका राजकुमार अधिकारीले चाबहिलमा मिस्टर कन नामबाट मकैका परिकार पाइने रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। 

Tata
GBIME
Nepal Life

अधिकारी पेशाले सिभिल इन्जिनीयर हुन भने सुवेदी पाँच वर्ष विदेशमा काम गरी फर्किएका हुन् । 

‘नेपाली उत्पादन प्रवद्र्धन गर्ने उदेश्यले हामीले यो रेष्टुरेन्टको सुरुवात गरेका हौँ। हामी एउटै किसमिका परिकारबाट वाक्क पनि भइरहेका छौँ’, उनीहरु भन्छन्, ‘हाम्रा पुर्खजहरुले निकै रुचाउनु भएको ढिँडो आजको पुस्ता पनि रुचाउँछ। मकैलाई ढिडोँमा मात्र सिमित नगरेर फैलाउनु पनि छ। मधुमेहका बिरामी पनि दिनप्रतिदिन बढिरहेका छन्, उनीहरुका लागि यी परिकार अर्गानिक हुनेछन्।’ 

कामना विकास वैंक रहेको घरको अन्डर ग्राउण्डमा अवस्थित मिस्टर कन रेष्टुरेन्टमा विशेषगरी मम, चाउमिन, फ्राइड राईस, मकैको भात, मकैको ढिँडो, अमेरिकन कन लगायतका थुप्रै परिकार पाइने उनले जानकारी दिए। 

‘यहाँ मकैको सुप, तरकारी, अचार पनि बनाइन्छ। बिहान उठेदेखि बेलुका सुत्दासम्म सामान्य रुपमा खाइने परिकार  सबै पाइन्छ’, उनीहरु भन्छन्, ‘अहिले मड्का चिया राखेका छौँ। अब छिट्टै मकैको चिया ल्याउने तयारी गरिरहेका छौँ। मकैको चिया चाहीँ हर्वल टि जस्तो हुनेछ। यसले रोगसँग लड्ने शक्ति दिन्छ। मकैको घोगामा हुने जुँगाबाट चिया बन्ने छ।’

उनीहरु काठमाडौमा एक वर्ष भित्रमा दश वटा शाखा खोल्ने योजनामा छन्। काठमाडौंमा स्थापित भइसकेपछि भरतपुर, बुटवल, धरान लगायत प्रमुख शहरहरुमा शाखा बिस्तार गर्ने लक्ष्य रहेको सुनाए। 

उनीहरुले सुनाए ‘एउटा शाखाको लागि न्युनतम दश लाख बजेट छुट्याएका छौँ। हालसम्म हामी दुईले संयुक्त लगानी गरेका छौँ। अब सहकार्यका लागि दुई जना साथीहरु पनि इच्छुक हुनुहुन्छ। काठमाडौंका शाखाहरुमा दुई करोडको लगानी गर्नेछौँ।’