अजय सुमार्गीले २० लाख आनाले किनेको जग्गा चार बर्षपछि एनबी बैंकलाई ७८ लाख आनाले बेचे

बिजमाण्डू
२०७५ चैत्र २८ गते ०८:५० | Apr 11, 2019
अजय सुमार्गीले २० लाख आनाले किनेको जग्गा चार बर्षपछि एनबी बैंकलाई ७८ लाख आनाले बेचे


काठमाडौं। अजय सुमार्गीको मुक्तिश्री कम्पनीले नेपाल बंगलादेश बैंकलाई ९५ करोड रुपैयाँमा जग्गा बिक्री गरेको छ। राजधानीको विशालनगरमा रहेको सुमार्गीको करिब २० रोपनी जग्गामध्ये साढे ७ रोपनी जग्गा कम्पनीले केही दिनअघि मात्रै बैंकलाई बिक्री गरेको हो। 

Tata
GBIME
Nepal Life

सुमार्गीले फ्रान्सेली राजदुतको नीजि निवास रहेको घरसहितको १९ रोपनी १२ आना जग्गा २०७१ सालमा ६३ करोड रुपैयाँमा किनेका थिए। त्यतीबेला सुमार्गीले प्रति आना २० लाख रुपैयाँमा किनेको जग्गा ४ वर्षपछि ४ गुणा बढी मूल्य लिएर प्रति आना ७८ लाख रुपैयाँका दरले बिक्री गरेका हुन्।

समार्गीले १९ रोपनी १२ आनामध्ये करिव साढे ७ रोपनी जग्गा ९५ करोडमा बिक्री गरेका हुन्। बाँकी जग्गा सुमार्गीले आफूसँगै राखेका छन्। सुमार्गीसँग अझै विशालनगरमा करिब साढे १२ रोपनी जग्गा बाँकी छ।

कित्ता नम्बर १४१ को ३२२६.८२ वर्गमिटर र कित्ता नम्बर ३१७ को ६२०.५० वर्गमिटर गरि ३८४७.३२ वर्गमिटर (७.५६ रोपनी) जग्गा बिक्री गरिएको हो। बैंकले सुमार्गीबाट किनेर केही दिनअघि डिल्लीबजार मालपोत कार्यालयमा नामसारीसमेत गरिसकिएको छ। 

नेपाल बंगलादेश बैंकको कमलादीस्थित मुख्य कार्यालयलाई आगामी साढे दुई वर्षभित्र विशालनगरमा सार्ने उदेश्यले जग्गा किनिएको हो। 

'अहिले हाम्रो लिज साढे २ बर्ष हो। अब त्यो अवधिभित्र हामीले भवन निर्माण गरिसकेर सरिसक्नु पर्छ' बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले बिजमाण्डूसँग भने, 'कर्पोरेट भवन भब्य र विशाल हुने छ।'

सुमार्गीको जग्गामा बैंककै सञ्चालकहरुबीच पनि विवाद थियो। सुमार्गीले महँगो मूल्यमा बिक्री गर्न लागेकोले किन्न नहुने सञ्चालकहरुको दावी थियो। कतिपयले जग्गाको खरीदबिक्रीमा आर्थिक चलखेल भएको शंका गरेका थिए।