महोत्तरीमा १२ करोड लगानीमा आधुनिक सख्खर उद्योग संचालनमा आउँदै, वार्षिक ४ अर्बको आयात

बिजमाण्डू
२०७५ चैत्र २८ गते १३:५६ | Apr 11, 2019
महोत्तरीमा १२ करोड लगानीमा आधुनिक सख्खर उद्योग संचालनमा आउँदै, वार्षिक ४ अर्बको आयात

काठमाडौं। सबैभन्दा बढी उखू र चिनी उत्पादन गर्दै आएको प्रदेश २ मा उखूमै आधारित अर्को एक उत्पादनको उद्योग संचालनमा आउने भएको छ।

Tata
GBIME
Nepal Life

महोत्तरीको श्रीनगरमा सिद्धिविनायक सुगर मिल्सले सख्खर (मीठा, गुड) उद्योग संचालनमा ल्याउन लागेको हो। घरेलु प्रविधिबाट उखू प्रशोधन गरेर सख्खर र खाँडसारी (चिनी उत्पादन गर्ने घरेलु उद्योग) ठूलो संख्यामा संचालनमा रहेपनि आधुनिक उत्पादन प्रविधिबाट सख्खर उत्पादन गर्ने यो पहिलो उद्योग हुनेछ।

दैनिक २ सय ५० टन उखू पेल्ने क्षमताको प्लान्ट जडान गर्न लागिएको उद्योग व्यवस्थापनले जानकारी दिएको छ। एक क्वीन्टल उखू प्रशोधनबाट १५ किलोग्राम सख्खर उत्पादन हुने उद्योगीले बताए।

श्रीनगरमा २० बिघा क्षेत्रफलमा फैलिएको उद्योग परिसरमा पहिलो चरणमा सख्खर उत्पादन गर्ने योजना रहेको संचालक रविकुमार गुप्ताले जानकारी दिए। 

चिनी मिल संचालन गर्ने योजनाको साथ उद्योग स्थापनाको तयारी शुरु गरेपनि प्रदेश २ मा चिनी मिलको संख्या थपिँदै जाने तर उखू उत्पादन घट्दै गएकोले उनले तत्कालको लागि चिनी मिल संचालनको योजना स्थगन गर्दै सख्खर उत्पादनको विकल्प रोजेका हुन्। गुप्ता ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌महोत्तरीको व्यापारिक केन्द्र बर्दिबासमा लामो समयदेखि दैनिक उपभोग्य वस्तुको आयात र वितरणमा संलग्न छन्।

सख्खरको प्रशोधनबाट स्पिरिट समेत उत्पादन गर्न सकिने बताउँदै उनले भने, स्पिरिट मदिरा उद्योगको लागि कच्चा पदार्थको रुपमा प्रयोग हुनेछ।

१२ करोड रुपैयाँ लगानीमा संचालनमा आउने यो उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी पाउने व्यवस्थापनको भनाई छ। निर्माणाधीन उद्योग आगामी असोजदेखि संचालनमा ल्याउने तयारी भइरहेको छ।

उद्योगको संचालनबाट सख्खर आयात कटौती गर्न योगदान पुर्याउने उद्योग संचालकको विश्वास छ। गुणस्तरिय स्वदेशी सख्खरको अभावमा वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी मूल्यको सख्खर विदेशबाट आयात हुने गरेको छ।  

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार जुलाई २०१६ देखि जुन २०१७ सम्मको अवधीमा ४ अर्ब ३० करोड रुपैयाँ मूल्य बराबरको ६९ हजार टन सख्खर आयात गरिएको थियो। योमध्ये प्रदेश २ अन्तर्गतको मुख्य स्थल नाका वीरगंज (सुख्खा बन्दरगाह समेत) बाट मात्र ३ अर्ब ८१ करोड रुपैयाँ मूल्य बराबरको ५८ हजार टन सख्खर आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ।

यो बाहेक तराईका जिल्लाहरुमा खुला सीमा नाकाबाट अवैधरुपमा भित्र्याइने सख्खरको परिमाण पनि उल्लेखनीय रहेको खाँडसारी मिल संचालनको भनाई छ।