चिनी मिल संचालन गरिरहेको एभरेष्ट समूहले पनि पेलेट दाना ल्यायो, साढे चार विघामा उद्योग

बिजमाण्डू
२०७५ चैत्र २९ गते १२:१२ | Apr 12, 2019
चिनी मिल संचालन गरिरहेको एभरेष्ट समूहले पनि पेलेट दाना ल्यायो, साढे चार विघामा उद्योग

काठमाडौं। चिनी र पश्मिना लगायतको कृषिजन्य वस्तुहरुको उत्पादनमा संलग्न रहेको पूर्वी तराईको पुरानो व्यवसायीक समूह एभरेष्ट समूहले प्रोडक्ट लाइन (वस्तु श्रृंखला) लाई विस्तार गर्दै पशु दाना उत्पादन समेत शुरु गरेको छ।

Tata
GBIME
Nepal Life

समूहले पूर्व पश्चिम राजमार्गको ढल्केबर नजिकै ग्रीन फिड इण्डष्ट्रिज प्रालि मार्फत पशु आहारको उत्पादन शुरु गरेको हो।

महोत्तरीको लालबिट्टीमा ४.५ बिघा क्षेत्रफलमा फैलिएको छ। उद्योगबाट 'जियो फिड' ब्राण्डमा पशु आहारको उत्पादन भइरहेको उद्योगका संचालक एस वर्द्धन सर्राफले जानकारी दिए।

उद्योगले प्रतिघण्टा १० देखि १३ मेट्रिक टन दाना उत्पादन गरिरहेको छ। कुखुराको चल्लाको लागि लेयर्स, कुखुराको लागि बोयलर्स र गाईभैँसीको लागि क्याटल फिड उत्पादन गरिएको संचालक सर्राफले बताए।

कुखुरा पालनमा बढ्दो लगानीसँगै स्वदेशी बजारमा 
दाना उद्योगको संख्या र दानाको आपूर्ति पनि बढ्दै गएको छ। दाना उद्योगको बजार मागको अधिकांश हिस्सा कुखुराको दानामा निर्भर रहेको छ। उत्पादन विविधीकरण गर्न चौपायाको लागि  दाना उत्पादन गरिरहेका भएपनि व्यवसायीक पशुपालनमा पेलेट दानाको उपभोग दर अझैपनि न्यून रहेको छ।

नेपाल दाना उद्योग संघका अनुसार साना र ठूला उद्योगले दैनिक दुई हजार पाँच सय मेट्रिक टन दाना उत्पादन गरिरहेका छन्। स्वदेशी बजारमा दैनिक १० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको दानाको कारोबार भइरहेको उद्योगीको आंकलन छ।

संघका अनुसार ठूलो लगानीमा संचालित पेलेट दाना उद्योग र साना लगानीमा संचालित परम्परागत दाना उद्योग समेत १ सय भन्दा बढी संख्यामा दाना उद्योगहरु संघमा आवद्ध रहेका छन्।