२० वर्षपछि काठमाडौंमा थपियो पाँच तारे होटल, म्यारियट नयाँ वर्षमा सफ्ट लन्च, साढे चार अर्ब लगानी

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ चैत्र २९ गते १४:२३ | Apr 12, 2019
२० वर्षपछि काठमाडौंमा थपियो पाँच तारे होटल, म्यारियट नयाँ वर्षमा सफ्ट लन्च, साढे चार अर्ब लगानी

काठमाडौं। काठमाडौंमा २० वर्षपछि पाँच तारे होटल म्यारियट थपिएको छ।चिनी, हाउजिङ लगायतका बिजनेशमा संलग्न एमएस समूहले साढे चार अर्ब लगानीमा पाँच तारे डिलक्स होटल निर्माण गरेको हो।

Tata
GBIME
Nepal Life

 हस्पिटालिटी क्षेत्रमा एग्रेसिभ लगानी गरिरहेको एमएस समूहको यो दोस्रो प्रोजेक्ट हो। यसअघि यही समूहले ठमेलमा तीन तारे होटल म्यारियट फेयरफिल्ड संचालनमा ल्याइसकेको छ। नागपोखरीस्थित यो होटलको नाम काठमाडौं मेरियट राखिएको छ।

यो होटलको आइतबार(नयाँ वर्ष)मा सफ्ट ओपनिङ हुँदैछ। डेढ महिनापछि प्रधानमन्त्री केपीशर्मा ओलीले औपचारिक उद्घाटन गर्नेछन्। होटल म्यारियटको व्यवस्थापनले हेर्नेछ। १३ रोपनीमा रहेको यो होटल भूकम्प र नाकाबन्दीका कारण एक वर्ष ढिला भयो।

'हामीले यो होटल निर्माण सुरु गरेको तीन वर्षमा संचालनमा ल्याउने योजना बनाएका थियौँ। तर भूकम्प र नाकावन्दीका कारण निर्माण कार्यमा करिब एक वर्ष ढिला भयो।'

काठमाडौं एमएस समूहका अध्यक्ष शशिकान्त अग्रवालले बिजमाण्डूसँग भने। १३ तल्ला रहेको होटलमा तीन तल्ला वेसमेन्ट छ। त्यही वेसमेन्टमा पार्किङको व्यवस्था गरिएको छ।

नेपालमा पहिलो पटक हाइड्रोलिक पार्किङको व्यवस्था गरिएको छ। अग्रवालका अनुसार उपत्यकाका होटलमा पार्किङको समस्या कम गर्न हाइड्रोलिक पार्किङ सुविधा राखिएको र तीन सय चार पाँग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ। होटलमा २० वटा स्वीट रुम, एउटा प्रेसिडेन्सियल रुम र बाँकी एक सय ९३ वटा डिलक्स रुम गरी जम्मा दुई सय १४ वटा कोठा छन्।

होटलका लबी, करिडोर र हरेक कोठामा नेपालको संस्कृति झल्कने चित्रकला राखिएका छन्। होटलको हरेक कोठाबाट काठमाडौं उपत्यकासँगै डाँडाकाँडा र हिमश्रृंखला नियाल्न सकिने अग्रवालले दाबी गरे।

क्यासिनो सहितको होटलको दोस्रो तल्लामा अत्याधुनिक फिटनेस क्लब, स्पा, मसाजका लागि विशेष कक्ष राखिएका छन् भने जापानी,चिनियाँ र कन्टिनेन्टल फूडका लागि रेष्टुरेण्ट बेग्लाबेग्लै छ।

होटलमा नेपाली रैथाने परिकार पनि राखिनेछ। होटलको ग्राउण्ड फ्लोरमा भएको ठमेल किचनमा ग्राहकले इच्छा अनुसार नेपालको विभिन्न रैथाने परिकारको स्वाद लिन सक्ने उनले बताए।  

होटलको ग्राउण्ड फ्लोरमा आठ सय जना अट्ने ब्याङ्केट हल छ भने पहिलो तल्लामा एक सय २० जना, ७० जना र ५० जना  मान्छे अट्ने क्षमता भएको छुट्टा छुट्टै कन्फ्रेन्स हल र सेमीनार हल छ। अग्रवालले स्थायी सरकार र पर्यटन क्षेत्रको सम्भावना देखेर होटल खोल्ने क्रमलाई तीब्रता दिएको बताए।

होटलमा प्रोपर्टी मेन्टिनेन्स, मार्केटीङ, सेलिङ, मेनु, डेकोरेसन लगायत सम्पूर्ण काम म्यरियटकै हुन्छ। व्यवस्थापन गरेबापत प्रतिशतका हिसाबले रोयल्टी, नाफा, टर्नओभर लाने सम्झौता रहेको छ।  
    
होटलमा तीन सय कर्मचारी रहेका छन्। होटलको रुम रेट १५ हजार रुपैयाँ(डेढ सय डलर)देखि  १ लाख रुपैयाँसम्म छ।डिलक्स रुमको १५ हजार रुपैयाँ र सुइट रुमको पचास हजार रुपैयाँ र प्रेसिडेन्सियल सुइटको १ लाख रुपैयाँ भन्दा बढी छ।

होटलको निर्माण सिई कन्स्ट्रक्सनले गरेको हो। अग्रवालले काठमाडौंमा संचालनमा रहेका होटलहरु पूराना भइसकेको बताउँदै नयाँ प्रविधि भएका अत्याधुनिक होटलले ग्राहक आकर्षित गर्ने दाबी गरे।