१२४ बाट ७ वटा जहाजमा सीमित भयो जेट एयरवेज

बिजमाण्डू
२०७६ बैशाख ३ गते ०९:३५ | Apr 16, 2019
१२४ बाट ७ वटा जहाजमा सीमित भयो जेट एयरवेज


भारतको समस्याग्रस्त एयरलाइन्स जेट एयरवेजका संस्थापक नरेश गोयलले फेरि एयरवेजमा फर्कने रणनीतिक तयारी गरेका छन्। 

Tata
GBIME
Nepal Life

उनले अमेरिकाको देलावरस्थित फ्युचर ट्रेन्ड क्यापिटलसँग मिलेर एयरवेजले आह्वान गरेको बोलपत्रमा इच्छुकका रुपमा प्रस्ताव दर्ता गरेका हुन्। उनले बेलायती एक कम्पनीसँग पनि मिलेर यो तयारी गरिरहेको बुझिएको छ।

रेस्क्यू प्लान अन्तर्गत एयरलाइन्सको शेयरलाई बिक्रीमा राखेका ऋणदाताहरुले यसका लागि बोलपत्र आह्वान गरेका थिए। 

हालै मात्र अध्यक्ष तथा निर्देशक पदबाट बाहिरिन बाध्य पारिएका नरेशको यो कदमलाई कसरी सम्बोधन गर्ने भन्ने  बारेमा ऋणदाताहरु भने कानुनी छलफलमा जुटेका छन्। 

एयरवेजलाई समस्याबाट बाहिर निकाल्ने योजना अनुसार थप लगानी खोज्दै गरेको अवस्थामा नरेशले आफ्नो कम्पनी जेटएयर र फ्युचर ट्रेन्ड क्यापिटलको कन्सोर्टियम बनाइ लगानीको प्रस्ताव पेश गरेका हुन्।  

तरतला अभाव, कर्मचारीको ब्यापक आक्रोश तथा लामो समयदेखि तलब नपाउनुका साथै अधिकांश जहाजहरु ग्राउन्डेड भएको अवस्थामा गत शुक्रबार फ्युचर ट्रेन्ड र जेटएयरको संयुक्त कन्सोर्टियमले अन्तिम अवस्थामा बिड गरेको हो। इच्छुकहरुले बोलपत्र हाल्ने डेड लाइन सकिएको आठ मिनेटपछि मात्रै जेटएयर र फ्युचर ट्रेन्डको संयुक्त बोलपत्र परेको थियो। 

हाल ताजा पुँजीको आवश्कयता परिरहेका बेला जेटका लगानीकर्ताहरुले भने समय घर्किएर गरिएको प्रस्ताव उपर पनि अन्य कम्पनीहरुकै जसरी कारवाही अघि बढाउने बुझिएको छ।  

जेटएयरका प्रवक्ताले फ्युचर ट्रेन्डसँग नरेश गोयलको कनेक्सनका बारेमा केही जानकारी दिएका छैनन्। यसैगरी उनले ढिला गरी बोलपत्र प्रस्ताव गरेको बारेमा पनि कुनै प्रतिक्रिया जनाएका छैनन्। 

फ्युचर ट्रेन्ड कम्पनीबारे धेरै जानकारी प्राप्त नभएपनि यो सँग जेटको लागि बोलपत्र प्रस्ताव भर्नकालागि पर्याप्त पुँजी भएको अनुमान गरिएको छ। 

सुत्रहरुका अनुसार लण्डनस्थित फर्म 'आदि पार्टनर्स' पनि जेटएयर र फ्युचर ट्रेन्डको यो कन्सोर्टियमसँग आबद्ध छ। 


नरेशलाई बोलपत्र प्रस्ताव दर्ता गर्न कुनै बाधा छैन
बोलपत्र प्रस्तावका लागि राखिएका शर्तहरुका अनुसार लगानीकर्तासँग एक हजार करोड भारतीय रुपैयाँको कुल सम्पत्ति हुनुपर्ने छ। यसबाहेक जेटमा लगानीका लागि थप एक हजार करोड भारतीय रुपैयाँ छुट्याएको हुनुपर्नेछ। 

'प्राविधिक पक्ष हेर्दा नरेश गोयल तथा उनका एसोसिएट्सले बोलपत्र प्रस्ताव दर्ता गर्न नपाउने कुनै कानुनी आधार देखिँदैन। एयरलाइन्समा कुनै पनि प्रतिवेदन नरेशको बिरुद्ध छैन। यस्तै जेट एयरवेजमा उत्पन्न संकट जालसाजी वा टाट उल्टेको केस अन्तर्गत पनि नपर्ने भएकाले बिद्यमान संचालकहरुलाई पुनर्प्रवेशका लागि कुनै बन्देज हुनुपर्ने कारण छैन। तर एयरलाइन्सको बोर्ड र ब्यबस्थपनबाट बाहिर धकेलिएका नरेशको प्रस्तावबारे ऋणदाता बैंकहरुले नै अन्तिम निर्णय गर्नेछन्।'- एक बैंकरले भने। 

सन् १९७४ मा जेटएयर नरेश गोयलले महत्वकांक्षी कम्पनीका रुपमा खडा गरेका थिए। यो कम्पनी सन् १९९० को दशकमा जेट एयरवेजको परिकल्पना गर्यो र एक समय शक्तिशाली रुपमा समेत उभियो। यसको वेबसाइटका अनुसार त्यसबाहेक हाल जेट एयर टुर्स र जेटफ्लिट नामको कार रेन्टर सर्भिस पनि जेट एयर अन्तर्गत छन्। जेटफ्लिटले आफ्नो वेबसाइटमा जेट एयरलाई एभिएसन सर्भिसेज ग्रुपका रुपमा उल्लेख गरेको छ जहाँ जेट एयरवेजलाईपनि उल्लेख गरेको देखिन्छ। 

बहु लगानीकर्ताको बिकल्प
अर्का बैंकरका अनुसार जेट एयरको बिद्यमान आर्थिक संकट टार्ने बिकल्पका रुपमा कुनै एक कम्पनी मात्र नभएर एकभन्दा बढी र एक अर्कासँग नजोडिएका लगानीकर्ता ल्याउन सकिन्छ। 

इत्तिहाद एयरवेज, नेसनल इन्भेष्टमेन्ट एण्ड इन्फ्रास्ट्रक्चर फण्ड, टिपिजी क्यापिटल तथा इन्डिगो पार्टर्स जस्ता प्राइभेट इक्विटी फर्महरुको जेटमा २४ प्रतिशतसम्म लगानी छ। उनीहरुबाटै थप र आवश्यक पुँजी बाँडफाँड गरी भित्र्याउने बिकल्प अपनाएर पनि समस्या समाधान गर्न सकिन्छ। तर तत्काल भने इत्तिहादले आफ्नो शेयर २४ प्रतिशतबाट नबढाउने मनस्थिती बनाएको छ। 

इत्तिहादले आफ्नो शेयर २४ बाट २५ प्रतिशत समेत नबढाउने यसअघि नै भनिसकेको छ । यस्तो अवस्थामा उसले थप २० प्रतिशत पुँजी लगानी गर्छ भन्ने अपेक्षा गर्न पनि सकिँदैन। चाहेर पनि इत्तिहादले आफ्नो शेयर ४९ प्रतिशतभन्दा माथि लैजान सक्दैन किनभने कानुनी रुपमा नै भारतीय एयरलाइन्समा बिदेशी एयरलाइन्सले लगानी गर्न पाउने माथिल्लो सीमा नै ४९ प्रतिशत मात्र छ। युएइको दोस्रो ठूलो एयरलाईन कम्पनी इत्तिहादले हाल जेट एयरवेजको २४ प्रतिशत शेयर होल्ड गर्छ।

टिपिजी क्यापिटल र इन्डिगो पार्टनर्सले पनि हाल एयरलाइन्सको बोलपत्र उपर इच्छुक कम्पनीका रुपमा प्रस्ताव दर्ता गरेका छन्। 

अन्तरिम फण्डिङ
ऋणदाताहरुले हाल जेट एयरवेजका सिइओ बिनय दुबेले गरेको आग्रह अनुसार अन्तरिम फण्डका रुपमा एक हजार करोड भारतीय रुपैयाँ उपलब्ध गराउने माग्रपति पनि बिचार गरिरहेका छन्। जेटको रिभाइभल प्लानका लागि बनाइएको नयाँ ढाँचा अनुसार बैंकहरुले ऋणलाई इक्विटीमा बदल्ने बिषयलाई पनि सम्बोधन गर्ने कोशिश गरिरहेका छन्। आरबिआईको निर्देशिका अनुसार ऋणलाई इक्विटीमा बदल्ने बिकल्पबाट कम्पनीको ऋण कम गर्न सकिन्छ।

जेटका पूर्व उपाध्यक्ष तथा स्वतन्त्र एभिएसन कन्सल्ट्याण्ट मनिस रानिगाका अनुसार जेट एयरवेजलाई संकटबाट बाहिर ल्याउन बैंकहरुले दिने 'सरभाइभल प्याकेज' भनेकै  'अन्तरिम फण्डिङ' हुनसक्छ। यसो गर्न बैंकहरु अक्षम भएमा यसको असर चौतर्फी देखापर्छ र यसले दीर्घकालीन रुपमै एयरलाइन्सको ब्यापारलाई अघि बढ्न दिँदैन। अन्तरिम फण्ड प्राप्त नगरे एयरलाइन्सको दैनिक अपरेसन तथा ब्यस्थापकीय काम कारवाही थप खराब  हुनजान्छ जसबाट संभावित लगानीकर्ताहरुले जेटमा लगानी गर्नुलाई अझै कम आकर्षक देख्नेछन्। 

गत बिहीबार बसेको जेटका ऋणदाताहरुको बैठकले आन्तरिक रुपमा नयाँ लगानीकर्ताबारे स्पष्ट नभएसम्म थप ऋण रिलिज नगर्ने निर्णय गरेका थिए। 

१२४ बाट जम्मा ७ एयरक्राफ्ट
जेट एयरलाइन्सले हाल एउटा बोइङ ७३७ र ६ वटा एटिआर टर्बो प्लेनबाट लोकल रुटमा मात्र  उडान गरिरहेको छ।  

गत डिसेम्बरसम्म पनि यो सँग एकसय २४ प्लेन थियो। 

गत आइतबार जहाजका पाइलटहरुले तलब भुक्तानी नपाएकाले गएरातीदेखि थप उडान नगर्ने  धम्की समेत दिएका थिए। तर सोमबार साँझसम्म ऋणदाताहरुले फण्ड रिलिज गर्न सक्ने भन्दै हडताल रोकेपनि सोमबार लामो समयसम्म चलेको जेट म्यानेजमेन्ट र ऋणदाताहरुको बैठकले  थप लगानी रिलिज गर्ने बिषयमा सहमति जुटाउन सकेन। 

पाइलट तथा अन्य क्रु मेम्बरहरुले सोमबार जेटको कर्पोरेट कार्यालय मुम्बइमा धर्ना दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै जेट एयरवेजलाई ध्वस्त हुनबाट बचाउन अपिल समेत गरे।

जेटका पाइलटहरुले गत शनिबार पनि दिल्ली बिमानस्थल बाहिर शान्तिपूर्ण र्याली निकालेका थिए। गत जनवरीदेखि कम्पनीमा कार्यरत पाइलट तथा कर्मचारीले तलब पाएका छैनन्। 

यसैबीच एयरलाइन्सका स्वतन्त्र निर्देशक राजश्री पथीको राजीनामा दिएका छन्। राजश्री सुगर एण्ड केमिकलका अध्यक्ष समेत रहेका पथीले समयको अभावका कारण देखाउँदै राजीनामा दिएको एयरलाइन्सले जनाएको छ। 

एयरलाइन्सले पूर्णकालीन निर्देशकका रुपमा गौराङ शेट्टी तथा इत्तिहादका प्रतिनिधिका रुपमा रोबिन कामार्कलाई भित्र्याएको समेत जनाएको छ। एयरलाइन्सको वेबसाइटका अनुसार हाल संचालक समितिमा पूर्व उड्डयन प्राधिकरण सचिव अशोक चावला, पूर्व डिजी नासिम जाइदी तथा एसबिआइ बैंकका पूर्व कार्यकारी शरद शर्मा पनि छन्।