बजार बढ्न थालेसँगै नयाँ लगानीकर्ता भित्रिन थाले, नाफा बुक गर्दै शेयर थप्दै

बिजमाण्डू
२०७६ बैशाख ४ गते १५:४० | Apr 17, 2019


काठमाडौं। शेयर बजार विस्तारै सुधार हुने क्रममा ब्रोकर कार्यलयमा दैनिक नयाँ लगानीकर्ता भित्रिन थालेका छन्।

Tata
GBIME
Nepal Life

ब्रोकरहरुका अनुसार प्रत्येक ब्रोकर कार्यालयमा दैनिक ५ जना भन्दा धेरैले केवाइसी भरिरहेका  छन्। बजार सुधार हुने संकेतसँगै ठूला लगानीकर्ताले पनि वस्तारै लगानी बढाउन थालेका हुन्।

बजारमा पुराना तथा नयाँ र ठुला लगानीकर्ता प्रवेश गरे सँगै पछिल्ला दिनमा ७० करोड रुपैयाँ भन्दा माथिको कारोबार हुन थाले छ।

चैत्र दोस्रो सातादेखि सुधार देखिएको बजारमा लगानीकर्ताहरुले नाफा बुकसँगै नयाँ शेयर पनि थपिरहेको ब्रोकरहरु बताउँछन्। बजार अलिकति सुधार हुने वित्तीकै नाफा बुक गरेर बाहिरिने ट्रण्ड रहेकोमा यस पटक भने लगानीकर्ताले पैसा बाहिर नलगेको एक ब्रोकर कार्यालयका प्रमुखले जानकारी दिए।

शेयर बजारमा विस्तारै विस्तारै सुधार हुँदै जाने आँकलन गर्दै लगानीकर्ताले थप लगानी बढाएका हुन्। सूचकसँगै कारोबार रकम ह्वात्तै बढ्नुले बजार अझै टिकेर माथि पुग्ने आँकलन गरिएको हो।

नाफा बुक गर्ने सेलरले पनि राम्रो मूल्य पाइहरेको हुँदा कारोबार रकम बढेको ब्रोकरहरुको विश्लेषण छ। बजार बढ्दो क्रममा रहेकोले बाणिज्य बैंकका शेयरधनीहरुले आफ्नो मूल्यमा शेयर बिक्री गर्न सकेका हुन्।

बुधबारको कारोबारमा दिन भरिनै तिव्र उतार चढाव रह्यो। कारोबार सुरु भएको ४२ मिनेटमा दुई अंकले घटेको बजार त्यस पछि विस्तारै सुधार भएको थियो। बजार सुधार हुँदै गर्दा लगानीकर्ताको सहभागिता पनि ह्वात्तै बढेको थियो। तिब्र उतारचढावका बीच नेप्से सूचक ४.९९ अंकले सुधार भएर १२१७.०४ विन्दुमा रोकिएको छ।

सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने ८२ करोड १६ लाख रुपैयाँको भएको छ। मंगलबार नेप्से सूचक २३ अंकले सुधार हुँदा कारोबार रकम ७५ करोड रुपैयाँ नाघेको थियो।

बाणिज्य बैंक, होटल, विकास बैंक र जीवन बीमाको सूचकमा सुधार देखिए पनि बाँकी उपसूचक घटेका छन्। एनएमबी बैंकको सबैभन्दा धेरै ७ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ।

सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ५.७५ प्रतिशतले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ४ रुपैयाँले घटेर ९४ रुपैयाँ कायम भएको छ।