तीन महिनामै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको काम सकियो, आकस्मिक प्रयोगमा ल्याउन सकिने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ बैशाख ४ गते १७:०० | Apr 17, 2019


काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम सकिएको छ। यो विमानस्थल नेपालकै पहिलो कंक्रिट धावनमार्ग हो।

Tata
GBIME
Nepal Life

यसअघि विटुमिन हालेर धावनमार्ग निर्माण भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरब आयोजनाका निर्देशक प्रदीप अधिकारीले तीन महिनामै धावनमार्ग तयार भएको बताए।२५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाई रहेको  धावनमार्गमा  २६ सेन्टिमिटर मोटाइको कंक्रिट ढलान गरिएको उनले बताए। यो धावनमार्गमा एटिआर ७२, एयरबस ३२० लगायतका जहाज सहजै उडान अवतरण गर्न सक्ने उनले बताए।

विमानस्थलमा रहेको टर्मिनल विल्डिङको डिपीसीको काम पूरा भइसकेको अधिकारीले जानकारी दिए। यो विमानस्थलको टर्मिनल विल्डिङ कंक्रिट हुँदैन्। अहिले विश्वव्यापी रुपमा प्रचलन रहेको स्टील स्ट्रक्चर हुनेछ। स्टील स्ट्रक्चर चाँडै निर्माण गर्न सकिने र लागत पनि कम लाग्छ।यो विमानस्थलमा टर्मिनल भवनबाट सीधै बोर्डिङ ब्रिजमार्फत जहाज चढ्न सकिनेछ।

टर्मिनल विल्डिङ बाहेकका फायर विल्डिङ, ह्याङ्गर, प्रशासन भवन लगायत १५ वटा भवन अत्याधुनिक भवन हुनेछ।सन् २०१७मा प्रधानमन्त्री केपीशर्मा ओलीबाट शिलन्यास भएको यो विमानस्थल सन् २०२०भित्रै संचालनमा ल्याउने गरि निर्माणको काम तीब्र पारिएको छ। यो आयोजना २०२१को जुलाईसम्म संचालनमा ल्याउने समय तालिका छ।

उनका अनुसार धावनमार्ग सँगै जहाज पार्किङ एप्रोनको काम पनि सकिसकेको छ। पार्किङ एप्रोनमा तीनवटा एटिआर ७२ र तीनवटा एयरबस ३२० जहाज पार्किङ गर्न सकिने उनले बताए। २१ अर्ब रुपैयाँ लागत रहेको विमानस्थल निर्माणमा हाल सम्म छ अर्ब रुपैयाँ खर्च भएको उनले जानकारी दिए। उनका अनुसार आकस्मिक प्रयोगको लागि धावनमार्ग योग्य भइसकेको छ। यो विमानस्थलको कार्यप्रगति बुझ्न प्राधिकरणका महानिर्देशक सञ्जीब गौतमसहितको टोली बुधबार पोखरा पुगेको थियो।