एभरेष्ट र लक्ष्मीको मर्जर नहुने निश्चित, डिडिए सकेर शेयर आदानप्रदान अनुपातमा कुरा मिलेन

बिजमाण्डू
२०७६ बैशाख ५ गते ०९:५१ | Apr 18, 2019
एभरेष्ट र लक्ष्मीको मर्जर नहुने निश्चित, डिडिए सकेर शेयर आदानप्रदान अनुपातमा कुरा मिलेन

काठमाडौं। एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच हुने भनिएको मर्जरको 'च्याप्टर' सँधैका लागि बन्द भएको छ। मर्जरका लागि भएको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) सकेर शेयर मूल्य निर्धारण गरेपछि 'च्याप्टर' बन्द भएको हो।

Tata
GBIME
Nepal Life

डिडिएपछि शेयर मूल्य निर्धारण गर्दा कुरा नमिलेपछि मर्जर प्रकृया तोडिएको हो। लक्ष्मी बैंकका तत्कालिन कार्यकारी प्रमुख सुदेश खालिङले मर्जरमा एक पक्षको नेतृत्व गरेका थिए। एभरेष्टबाट बिके श्रेष्ठ आफैले नेतृत्व गरेका थिए।

डिडिएसम्म दुबै टोली सहमत भएपनि शेयर मूल्य निर्धारणको नतिजा आएपछि मर्जर भाँडिएको हो। लक्ष्मीमा नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा अजय बिक्रम शाह नियुक्त भएदेखि नै मर्जरका बारेमा कुनै चर्चापरिचर्चा नचलेको स्रोतको दावी छ। 

अर्नस्ट एण्ड योङ (इएण्डवाइ) अडिट फर्मले डिडिएको काम सकेको थियो। इएण्डवाइबाट दुई बैंकको मूल्य (स्वाप रेसियो) निकाल्न आएको टोलीले शेयर मूल्य निर्धारण गरेपछि मर्जर भाँडिएको हो। 

डिडिएमा एभरेष्टको तुलनामा लक्ष्मी बैंकको अवस्था सवल देखिएको थियो। विगतमा जस्तो एभरेष्टभन्दा लक्ष्मीको आरओइ धेरै कम देखिएन। लगभग हाराहारी आउँदा पनि एभरेष्टले मूल्य घटाउन भनेको थियो। लक्ष्मीले सम्मानजनक मूल्य नपाए मर्जरमा जान नसकिने तर्क गरेको स्रोतको दावी छ।
 
वित्तीय क्षेत्रसँग सम्बन्धित बीमा, लघुवित्त, सामूहिक लगानी कोष कम्पनीका कारण लक्ष्मी बैंकको अवस्था सवल देखिएको थियो। एभरेष्टसँग पञ्जाव नेशनल बैंकको संयुक्त लगानी मात्र छ। 

यसअघि एभरेष्टले मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, तत्कालिन किष्ट बैंकसँग पनि कुरा गरेको थियो। एभरेष्टले मोलमोलाइ गर्ने तर अन्तिम समयमा धोका दिने गरेको सम्बद्ध बैंकहरुको दावी छ। एभरेष्ट तर्फले भने डिडिएभन्दा बढी मूल्य माग्दा मर्जर अगाडि बढ्न नसकेको तर्क गर्ने गरेको छ। लक्ष्मी बैंकले भने अरु बैंकसँग मर्जरका लागि विकल्प खुला रहेको जनाएको छ।