एक साता बजार बढे ‘बियरिस ट्रेण्ड’ समाप्त हुने, महिनामा ८५ अंकले बढ्यो, ‘ठूलो कित्ता आउँदा शंका’

बिजमाण्डू
२०७६ बैशाख ५ गते १५:३१ | Apr 18, 2019
एक साता बजार बढे ‘बियरिस ट्रेण्ड’ समाप्त हुने, महिनामा ८५ अंकले बढ्यो, ‘ठूलो कित्ता आउँदा शंका’

काठमाडौं। एक महिनाको अवधिमा शेयर बजारमा ८५ अंकले सुधार भएको छ। शेयर बजार अझै सुधार हुने भन्दै लगानीकर्ताले लगानी बढाइरहेका छन्। पछिल्ला दिनमा कारोबार रकम ७० करोड रुपैयाँ नाघ्दै आएको छ। 

Tata
GBIME
Nepal Life

अबको एक हप्तासम्म बजार सुधार भैरहेको खण्डमा शेयर बजारको वियरिस ट्रण्ड समाप्त हुने अनुमानसँगै साना तथा ठूला लगानीकर्ताले थोरै थोरै गर्दै लगानी बढान थालेका छन्। बजार घट्दो ट्रेण्डमा रहदा ५०/१००० कित्ताको लागि मात्रै अर्डर दिने लगानीकर्ताहरुले न्युनतम ५००/१००० कित्ताको लागि अर्डर दिन थालेको एक ब्रोकरले बताए। 

बजारमा सुधार हुने अझै पनि बलियो आधारहरु नदेखिएकोले एकै पटक पाँच दश हजार कित्ताको अर्डर आउँदा डराउनु पर्ने अवस्था रहेको ती ब्रोकरले बताए। बजारमा लगानीकर्ताहरु पूर्ण सक्रिय हुँदा ५/१० हजार कित्ता सहजै बिक्री हुने ब्रोकरहरुको विश्लेषण छ। तर अहिलेको कारोबार रकम ७०/८० करोड रुपैयाँकै हाराहारिमा हुनुले बजारमा अझै ढुक्क हुने अवस्था भने नरहेको उनीहरु बताउँछन्। 

साताको अन्तिम दिन शेयर बजार १.२५ प्रतिशतले सुधार हुँदा नेप्से सूचक १२३२.२६ विन्दु कायम भएको छ। कारोबार सुरु भएको साढे दुई घण्टासम्म बजार बढ्न सकेको थिएन। साथै कारोबार रकम पनि न्युन रहेको थियो। तर साढे दुई घण्टपछि बजारमा लगानीकर्ताको सक्रियता बढ्दा सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको हो। 

बिहीबार ७५ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। हाइड्रोपावर, फाइनान्स, जीवन तथा निर्जीवन बीमा कम्पनीको सूचक घटे पनि बाँकी सूचक तथा उपसूचकमा उल्लेख्य सुधार आएको छ। बाणिज्य बैंकको सूचक २५ अंकले सुधार भएको छ। 

बाणिज्य बैंकहरुको सूचकमा सुधार आउँदा नेप्सेमै सुधार आएको हो। पछिल्लो समय बीमाको सूचक बढ्दा बाणिज्य बैंकको घट्ने र बाणिज्य बैंकको सूचक बढ्दा बीमाको सूचक घट्ने गरेको छ। 

आजसम्म कायम शेयरधनीहरुले कुमारी बैंकको बोनस शेयर पाउने भएकाले दोस्रो बजारमा ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका शेयरधनीहरुले प्रति कित्ता २९ रुपैयाको दरले कमाएका छन्। माउन्टेन हाइड्रोको भने ६ प्रतशतले गिरावट आउँदा प्रति कित्ता ९५ रुपैयाँ कायम भएको छ। बाणिज्य बैंकहरुको मात्रै ५६ करोड ७१ लाख रुपैयाको कारोबार भएको छ।