बजार सुधारसँगै अनलाइनबाट कारोबार गर्ने बढे, ब्रोकरमार्फत भन्दा आफैले किनबेच गर्ने बढि

बिजमाण्डू
२०७६ बैशाख ५ गते १७:१२ | Apr 18, 2019
बजार सुधारसँगै अनलाइनबाट कारोबार गर्ने बढे, ब्रोकरमार्फत भन्दा आफैले किनबेच गर्ने बढि

काठमाडौं। शेयर बजारमा सुधार आउन थालेसँगै लगानीकर्ताहरु आफैले शेयर खरिद बिक्री गर्न थालेका छन्। अनलाइन शेयर कारोबारका लागि हाल ४७०० जना लगानीकर्ताले युजर नेम र पासवर्ड लिएका छन्। 

Tata
GBIME
Nepal Life

पछिल्लो दिनमा दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ता दैनिक ५ हजार ५०० जना पुगेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। हाल दोस्रो बजारमा सक्रियमध्ये औषतमा ९ सय जनाले मात्रै ब्रोकर मार्फत कारोबार गराउदै आएको पराजुलीले बताए।

दोस्रो बजारमा कारोबार गर्नका लागि हाल दुई लाख लगानीकर्ताले केवासी ‘व्यक्तिगत विवरण’ अध्यावधिक गराएका छन्। केवासी अध्यावधिक गर्नेहरुको तुलनामा दोस्रो बजारमा सक्रिय लगानीकर्ता भने धेरै नै न्युन देखिएको हो। नेपाल स्टक एक्सचेन्जको अबको प्रयास दोस्रो बजारमा लगानीकर्ताको सक्रियता बढाउने रहेको पराजुलीले जानकारी दिए।

ब्रोकर कार्यालयबाट अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिने अधिकाम्स लगानीकर्ता सक्रिय लगानीकर्ता भएको हुँदा अनलाइन प्रयोग गर्नेहरुको सख्या बढेको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए। 

बजार बढ्न थालेसँगै लगानीकर्ताको सक्रियता पनि बढेको र युजरनेम र पासवर्डका लागि आवेदन आउने क्रम पनि बढेको उनले बताए। 

सुरुमा अनलाइन प्रणालीमा समस्या देखिएको भन्दै ब्रोकरहरुले युजर नेम र पावर्ड प्रदान गर्न ढिलाइ गर्दै आएका थिए। प्रणालीमा अझै पनि कहिलेकाही नयाँ समस्या देखा परेतापनि ठूलो समस्या नदेखिएको भन्दै ब्रोकरहरुले युजरनेम र पासवर्ड प्रदान गर्दै आएका छन्। ब्रोकरले समयमा अनलाइन कारोबारका लागि युजरनेम र पावर्ड प्रदान नगरेमा नेप्सेमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाएसँगै ब्रोकहरुले अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड प्रदान गर्न थालेका हुन्। 

बजार लगातार घटिरहँदा लगानीकर्ताहरुले नेप्से,  धितोपत्र बोर्ड कार्यालयमा आन्दोलन समेत गर्न भ्याएका थिए। बजारमा विस्तारै सुधार आउन थालेसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक हुन छाडेका छन्। साथै आन्दोलन छाडेर लगानीकर्ता युजरनेम र पासवर्ड लिएर शेयर कारोबार गर्न थालेका छन्।