काठमाडौं। सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर 'आइपिओ' निष्काशन गरेका छन्। दुबै आयोजनाले निष्काशन गरेको प्राथमिक शेयरका लागि न्युनतम १० कित्ताको लागि आवदेन दिन पाइनेछ।
सरकार तथा चिलिमे जलविद्युत कम्पनीले प्रवर्द्धन गरेको दुई आयोजनाले छिटोको अवधिमा वैशाख १० गते र पहिलो चरणमा बिक्री हुन नसकेमा ढिलोको अवधिमा जेठ ५ गतेसम्म निष्काशन गर्न सक्ने छन्।
सान्जेन जलविद्युत कम्पनीले सर्वसाधारणको लागि ५४ लाख ७५ हजार कित्ता निष्काशन गरेकोमा ५ प्रतिशत सामुहिक लगानी कोषका लागि दुई लाख ७३ हजार ७५० कित्ता छुट्याएको छ। ४ प्रतिशत अर्थात दुई लाख १९ हजार कित्ता प्राथमिक शेयर कर्मचारीहरुको लागि र बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो।
कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ। आयोजनाको जम्मा लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १५ करोड ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
रसुवागडी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि एक करोड दुई लाख ६३ हजार १५० कित्ता मध्ये ४ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ५ लाख १३ हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ९३ लाख २९ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो।
कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.१२ वर्ष लाग्नेछ। आयोजनाको प्रतिमेगावाट लागत १५ करोड १२ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ। दुबै आयोजनाले गरेको क्रेडिट रेटिङ अनुसार औषत भन्दा कम आधारहरु जनाउने 'इक्रा एनपिआइपिओ ग्रेड चार' प्राप्त गरेको छ।
रसुवागढी हाइड्रोपावरले १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने सान्जेनले जलविद्युत कम्पनीले १४.८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२.५ मेगावाट क्षमताको सान्जेन लविद्युत आयोजना निर्माण गरिरहेको छ। दुबै आयोजनाले यस अगाडि आयोजना निर्माणको ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता कम्पनीका कर्मचारीहरुको लागि शेयर निष्काशन गरेको थियो। प्रभावित क्षेत्रका बासिन्दाको लागि भने सर्वसाधारण तर्फ बिक्री भएपछि निष्काशन गर्नेछ।