जलविद्युतको आइपिओमा ‘हाइप्रोफाइल’ को लगानी, सभामुख र उर्जामन्त्रीले दिए आवेदन

रासस
२०७६ बैशाख ६ गते ११:३९ | Apr 19, 2019

काठमाडौँ। सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ।

Tata
GBIME
Nepal Life

देशका महत्वपूर्ण पदमा आसिन व्यक्तिले नै सो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ। स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले शुरु गरेको सो कार्यक्रममा सभामुख कृष्णबहादुर महरासमेत जोडिएका छन्।

सभामुख महराले बिहीबार ग्लोबल आइएमइ क्यापिटलमा हितग्राही खाता खोलेका छन्। जनताको जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा आजदेखि साधारण शेयर बिक्री शुरु भएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरसमेत सभामुख महराले खरीद गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सभामुख महराले जनताको जलविद्युत् कार्यक्रममा सहभागी भई साधारण शेयर खरीद गरेका हुन्।
     
पहिलो पटक साधारण शेयर खरीद समारोहमा सहभागी भएका महराले सरकारले नयाँ कार्यक्रम शुरु गरेकोमा खुसी व्यक्त गर्दै दूरदराजका नागरिकलाई समेत सहभागी हुने उपाय खोज्न आग्रह गरे।     
     
सभामुख महराले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भने, “यो असाध्यै राम्रो कार्यक्रम शुरु गर्नुभयो। सबै नेपाली नागरिकलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने बारेमा उपयुक्त विधि र विकल्प पनि खोज्नु पर्दछ।”     
     
सभामुख महराले रसुवागढी जलविद्युत् कम्पनीको एक लाख बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयर खरीद गरी शेयर बजारमा प्रवेश गरेका छन्।

यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनको पचास हजार बराबरको पाँच सय कित्ता बराबरको शेयरमा आवेदन दिएकी छिन्। 

मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयरमा आवेदन दिएका छन्। पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा ५० हजारको पाँच सय कित्ता साधराण शेयर आवेदन दिएकी छिन्।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको धर्मपत्नी राधिका शाक्यले पनि शेयरमा आवेदन दिएका थिए। माथिल्लो त्रिशुली थ्री बीको शेयरमा आवेदन गर्नुभएका प्रधानमन्त्रीले २० कित्ता शेयर प्राप्त गरेका थिए।