२० करोडमा वीरगंजमा दुईवटा हरित पार्क बन्दै, घडिअर्वा पोखरी वाहेक पर्यटकलाई घुम्ने विकल्प

बिजमाण्डू
२०७६ बैशाख ८ गते ११:२६ | Apr 21, 2019

वीरगंज। महानगरभित्र पर्यटकीय स्थलको विकास गर्न प्रदेश २ सरकारले २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महानगरभित्रको दुईवटा पोखरीलाई हरित पार्क सहितको पोखरी परिसरमा विकसित गर्न लागिएको हो ।

Tata
GBIME
Nepal Life

वडा नम्बर १२ मा अवस्थित मुर्ली पोखरी र वडा नम्बर १६ मा अवस्थित नगवा पोखरी परिसरलाई हरित पार्क सहितको पर्यटकीय स्थलको रुपमा
विकसित गर्न लागिएको हो।दुबै पार्कको निर्माण सम्पन्न भएपछि वीरगंजमा घडिअर्वा पोखरीबाहेक‌ घुमघामको अन्य विकल्प नहुने अवस्थाको अन्त्य हुने प्रदेश सांसद जन्नत अंसारीले जानकारी दिए।

पार्कको निर्माणबाट आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्ने समेत उद्देश्य रहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले मुर्ली पोखरी परिसरमा निर्माण गर्न लागिएको हरित पार्कको शनिबार शिलान्यास गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणको लागी सबै पक्षको सहयोग र सहभागिता आवश्यक भएकोमा जोड दिए ।

वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली टोलको पूर्व र बाइपास सडकको पश्चिममा करिब ४ बिघा क्षेत्रफलमा पोखरी परिसर फैलिएको छ।बहुधार्मिकस्थलको रुपमा रहेको यो पोखरीमा हिन्दू धर्मावलम्बीले छठ पूजा गर्दै आएका छन् । भने नजिकै मुश्लिम समुदायको कब्रिस्तान(शव गाड्ने स्थल) समेत रहेको छ।निर्माणाधीन पोखरी परिसरको पार्कमा सूर्य मन्दिर, भगवान् बुद्धको प्रतिमा,  ,खुला मञ्च, हरियाली र ज्येष्ठ नागरिकको लागी विश्रामस्थलको समेत व्यवस्था गरिने योजना छ । अहिले यो पोखरी छठ पर्वको पूजाबाहेक अन्य समयमा सार्वजनिक प्रयोगमा खासै आउन सकेको छैन ।
पार्क निर्माणको लागी करिब १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी वीरगंज वडा नम्बर १५ स्थित नगवा पोखरी परिसरमा समेत हरियाली सहितको पार्क निर्माण गर्न लागिएको छ । यो पोखरी समेत करिब ४ बिघा क्षेत्रफलमा फैलिएको छ ।

दुबै पार्कको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रदेश सभासद अंसारीको स्वकीय सचिव दाउद अंसारीले जानकारी दिए। मनगरवासीलाई मनोरञ्जन र घुमघामको लागी घडिअर्वा पोखरी र बाल उद्यान बाहेक अन्य विकल्प उपलब्ध छैन । महानगरकै स्वामित्वमा रहेको पिपरामा अवस्थित पार्कको जग्गा समेत वर्षौदेखि प्रयोग विहीन अवस्थामा रहेको छ ।मेयर विजय सरावगीले महानगरसँग आर्थिक श्रोतको अभाव भएकाले निजी क्षेत्रको सहभागितामा नगरको सौन्दर्यकरण र पर्यटकीय स्थलको विकासलाई प्राथमिकता दिइएको बताए।