आधार दरमा लिइने प्रिमियम अन्तर निक्कै फराकिलो: पहुँचवाललाई २, नहुनेलाई ८% सम्म ठटाइँदै

बिजमाण्डू
२०७६ बैशाख ८ गते १२:४० | Apr 21, 2019
आधार दरमा लिइने प्रिमियम अन्तर निक्कै फराकिलो: पहुँचवाललाई २, नहुनेलाई ८% सम्म ठटाइँदै


काठमाडौं। बैंकहरुले एउटै प्रडक्टको आधार दरमा लिने प्रिमियम अन्तर निक्कै फराकिलो देखिएको छ। आधार दरमा लिइने प्रिमियम २ देखि ८ प्रतिशतसम्मको अन्तर राखिएको छ।

Tata
GBIME
Nepal Life

प्रिमियम अन्तर बढि हुँदा पहुँचवाला र सोर्सफोर्स हुने ग्राहकले कम ब्याजमै ऋण पाउने छन् भने सम्बन्ध नहुनेको ब्याज लागत बढि पर्ने छ।

राष्ट्र बैंकका अनुसार फागुनमा बैंकहरुको आधार दर ९.६५ प्रतिशत छ। बैंकहरुको यो आधार दरमा ग्राहकसँग कतिमाथिसम्म ब्याज लिने भनेर प्रकाशित गर्छन्। यसमा बैंकहरुले २ प्रतिशतदेखि ८ प्रतिशतसम्म लिने घोषणा गरेका छन्।

यसो हुँदा सोर्सफोर्सवालाले ११.६५ प्रतिशतमै ऋण पाउने भयो भने पहुँच नभएकाहरुले १७ प्रतिशतसम्म पनि तिर्नु पर्ने अवस्था हुन्छ। 

ब्याजको प्रिमियम अन्तर फराकिलो भयो भन्दै बैंकर्स संघमा समेत कुरा उठेको थियो। ठूला बैंकहरुले प्रिमियम कम राख्नु पर्ने भन्दै आवाज पनि उठाएक थिए। उनीहरुले बढिमा ५ प्रतिशतसम्म राख्नु पर्ने हो कि भनेर विकल्प पनि दिएक थिए। तर यो विकल्प कार्यान्वयनमा भने आएन।

यस बारेमा राष्ट्र बैंकबाटै नीतिगत हस्तक्षेप हुनु पर्ने कुरा पनि आएको थियो। राष्ट्र बैंकले पनि यस बारेमा केही बोलेको छैन। बरु उसले प्राथमिकता प्राप्त ऋणको ब्याजमा प्रिमियम तोक्ने कुरा गरिरहेको छ। राष्ट्र बैंकले सरकारी अनुदानवाला ऋणमा भने २ प्रतिशतभन्दा बढि प्रिमियम लिन नपाउने निर्देशन दिएको छ।

'सोर्सफोर्स हुने र नहुनेबीच एउटै शिर्षकको ऋणमा पनि ब्याज अन्तर निक्कै फरक देखिने गरेको छ' संघमा आवाज उठाएका एक बैंकरले भने, 'ग्राहकको जोखिमको स्तर हेरेर एकाध प्रतिशत अन्तर राख्न सकिए पनि ७/८ प्रतिशतको अन्तर राख्नु न्यायोचित हुँदै होइन।'