खानेपानी मन्त्री विना मगर: मेलम्ची अलपत्र पारेर विदेशमा पानी निकासीको योजना बनाउँदै

बिजमाण्डू
२०७६ बैशाख ८ गते १२:५९ | Apr 21, 2019


काठमाडौं। चार महिनादेखि मेलम्ची खानेपानी आयोजना अलपत्र छ। सुरुङमार्ग छिचोलिएपछि फिनिसिङको काम गर्दागर्दै मूख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नाले ठेक्का तोडेर स्वदेश फर्कियो।

Tata
GBIME
Nepal Life

यो कम्पनीले काम छाडेर हिड्नुमा खानेपानीमन्त्री विना मगर र तात्कालिन सचिव गजेन्द्र ठाकुरकै विवाद थियो। मेलम्चीको नयाँ ठेकेदार नियुक्ति समेत हुन सकेको छैन। मेलम्ची आयोजना अनिश्चित बनाएर मन्त्री मगर भने नेपालको पानी विदेश निर्यात गर्न कस्सिएकी छिन्।‘मेलम्ची खानेपानी आयोजना कहिले बन्ने अहिलेसम्म पनि टुंगो छैन। तर मन्त्री भने यो आयोजना छाडेर नेपालबाट पानी विदेश निर्यात गर्ने फण्डा ल्याइरहनुभएको छ।’

मन्त्रालयका एक अधिकारीले भने,’काठमाडौं उपत्यकाबासी पानी नपाएर प्याकप्याक परिरहेका छन्। तर मन्त्री भने लोकप्रियताका लागि पानी विदेश निर्यात गर्ने योजना सार्वजनिक गरेर बसिरहनुभएको छ। काम गर्न नसकेपछि तत्कालै नहुने लोकप्रिय मात्रै बन्ने योजना ल्याउने काम भइरहेको छ।’

पानी निर्यातका लागि छलफल
मन्त्रालयले शुक्रबार विदेशमा पानी निकासी बारेमा छलफल गर्यो। कार्यक्रममा १४ वटा हिम शृङखलाका २८ वटा हिमनदीको पानी बल्क र बोटल वाटरका रुपमा बेच्ने सकिने खानेपानी मन्त्रालयका सहसचिव तेजराज भट्ट जानकारी दिए।

उनका अनुसार नेपालमा हिमनदीका पानीका स्रोतहरु प्रचुर मात्रामा रहेको र विश्व बजारमा खानेपानीको माग बढिरहेकाले निर्यात गर्न सके व्यापार घाटा न्यूनीकरणका लागि सहयोग पुग्ने बताए । नेपालमा उपलब्ध स्रोतको पानी १५ प्रतिशत मात्रै नेपालका लागि आवश्यक पर्ने र बाँकी ८५ प्रतिशत खेर गइरहेको मन्त्रालयले तथ्यांक सार्वजनिक समेत गरेको छ ।

हिमनदीको पानी बेच्न फिजिविलिटी स्टडी गर्न टेण्डर आव्हान गर्न लागिएको खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले जानकारी दिए। दासका अनुसार २ साताभित्रै टेण्डर आव्हान हुनेछ। खानेपानी मन्त्री मगरले खानेपानी ऐन ल्याउन लागिएको जानकारी दिईन। ऐनमा खानेपानीलाई जनताको मौलिक अधिकार,नेपाली पानीलाई विश्वबजारमा पुर्याउने लागि न्यूनतम आधारहरु, खानेपानी संरक्षण वितरण प्रणाली लगायतका विषयहरु समावेश गरिएको छ। नेपालले पहिलो पटक खानेपानी ऐन ल्याउन लागेको हो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले पानीको गुणस्तरमा ध्यान दिनुपर्ने जानकारी दिए। 'डब्लुएचओको मात्रै ३१ वटा प्यारामिटर हुन्छन्। हाम्रो ल्यावलाई अन्तर्राष्ट्रिय मान्यता दिएन भने समस्या हुन्छ।‘ उनले भने।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल भारत र अष्ट्रेलिया संसारमा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने मुलुकमा पर्ने बताउँदै पारवहन सन्धीका कारण पानी बिक्री गर्न समस्या हुने बताए। पूर्व अर्थसचिव सुमन शर्माले नेपालमा आयात हुने पानीलाई मात्रै रोक्न सक्ने वातावरण बनाउन सके ठुलो उपलब्धी हुने जानकारी दिए।