३१ परियोजनाका लागि २५ खर्ब रुपैयाँको प्रतिबद्धता, मेट्रोरेलमा पनि लगानी गर्न तयार भए विदेशी    

बिजमाण्डू
२०७६ बैशाख ८ गते १८:३७ | Apr 21, 2019

काठमाडौँ। सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट ७७ परियोजनामध्ये ३१ परियोजनामा लगानी प्रतिबद्धता आएको छ। कूल २५ खर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ।

Tata
GBIME
Nepal Life

२६ वटा परियोजना ‘शोकेश’ मा भएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो।     
     
पत्रकार सम्मेलन आयोजना गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उत्साहजनक रुपमा प्रस्ताव आएको बताउँदै प्राप्त भएका प्रस्तावलाई मसिनोसँग अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए। 
    
सम्मेलनका क्रममा सरकारीस्तरबाट ५० र निजी क्षेत्रले २५ आयोजनालाई ‘शोकेश’ मा राखेका थिए। शोकेशमा राखिएका आयोजनामध्ये धेरैले भौतिक पूर्वाधार, ऊर्जा, शहरी पूर्वाधारमा चासो व्यक्त गरेका छन्।     
     
बोर्डका अनुसार कृषि पूर्वाधारतर्फ सात वटा परियोजनाका लागि प्रस्ताव आएको छ। त्यसमा उर्लाबारी, हेम्जा, बनेपा र चितवन, वीरेन्द्रनगर र तिलोत्तमामा एकीकृत कृषि पूर्वाधारका लागि प्रस्ताव परेका हुन्।     
     
स्वास्थ्य तथा शिक्षमा धुलिखेल मेडिसिटी र गण्डकी टेक्निकल विश्वविद्यालयका लागि समान एक/एक प्रस्ताव परेका छन्। ऊर्जातर्फ ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजनाका लागि दुई वटा प्रस्ताव आएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए। 

पश्चिम सेती ७५०, एसआर ६ ९२७, सुनकोशी दोस्रो एक हजार ११०, सुनकोशी तेस्रो ५३६, तल्लो अरुण एक हजार ३०० र ५५० मेगावाट क्षमताको सौर्य परियोजनाका लागि समान एक/एक वटा प्रस्ताव आएका छन्।     
     
 औद्योगिक पूर्वाधारतर्फ एक आवेदन परेको छ। पर्यटनतर्फ तीन वटा परियोजनाका लागि प्रस्ताव आएका छन्। त्यसमा जानकी हेरिटेज होटल, तालतलैया थेमे पार्क र ड्रिमल्याण्ड धुलिखेलका लागि पनि एक÷एक वटा प्रस्ताव परेका छन्।     
     
यातायात पूर्वाधारका लागि नौ वटा परियोजनाका लागि प्रस्ताव आएका छन्। काठमाडौँ चक्रपथ, बाहिरी चक्रपथका लागि चार/चार वटा प्रस्ताव आएका छन्। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि छ वटा प्रस्ताव आएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए।     
     
काठमाडौँ उपत्यका मेट्रो रेल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ–पोखरा लुम्बिनी रेलमार्ग, काठमाडौँको स्कार्य रेलका लागि समान एक/एक प्रस्ताव परेका छन्। सामाखुसी–टोखा–छहरे सुरुङमार्ग र धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि समान दुई/दुई वटा प्रस्ताव आएका छन्।    

शहरी पूर्वाधारतर्फ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि दुई, जनकपुरको फोहर व्यवस्थापन, विराटनगरको फोहर व्यवस्थापन र मेलम्ची, खोकनालगायतका क्षेत्रमा फोहर पानीव्यवस्थापनका लागि एक/एक प्रस्ताव परेका छन्।     
     
सम्मेलनमा भएको सहभागिताका बारेमा पहिलो पटक आधिकारिक जानकारी दिँदै बोर्डले ४० देशका ८०९ प्रतिनिधि सहभागी भएका थिए। त्यसमा ३०० कम्पनी सहभागी थिए। रासस