कर नतिर्ने कम्पनीको बैंक खाता रोक्का गरिँदै, हाउजिङ कम्पनीदेखि गाडी बिक्रेतासम्म पर्ने

बिजमाण्डू
२०७६ बैशाख ८ गते १९:०० | Apr 21, 2019
कर नतिर्ने कम्पनीको बैंक खाता रोक्का गरिँदै, हाउजिङ कम्पनीदेखि गाडी बिक्रेतासम्म पर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। मूल्य अभिवृद्धि कर र आयकर गरी २१ करोड रुपैयाँ नतिर्ने ६ व्यावसायिक फर्ममाथि कर कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ। लामो समयदेखि दुवै कर बक्यौता राखी कर नतिर्ने सवारी साधन बिक्रेतादेखि अपार्टमेन्ट निर्मातासम्मको बैंक खाता रोक्का गर्ने तयारी गरिएको हो। 

मध्यमस्तरीय करदाता कार्यालय बबरमहलले लामो समयदेखि राजस्व बक्यौता राख्ने लोक इलेक्ट्रोनिक्स, कोहिनुर हिल हाउजिङ र ओरिएन्टल बिल्डरको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ। यसैयरी ओरिएन्टल बिल्डरको पनि बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। यो कम्पनीले १२ करोड ४३ लाख रुपैयाँ कर चुक्ता गर्न बाँकी छ। 

त्यसैगरी सवारी साधन बिक्रेता पशुपति अटो मोबाइल पर्सा तथा त्रिपुरेश्वर कन्डक्टर प्रालि माथि पनि कारबाही अघि बढाइएको कार्यालयका प्रमुख सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए। यो कम्पनी नेपाल विद्युत प्राधिकरणलाई विद्युतीय सामान आपूर्ति गर्ने कम्पनी हो। 

यस्तै दक्षिणकाली इन्कर्पोरेटको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। यो कम्पनी धनगढीको हो। यो कम्पनीले सब डिलर भएर महिन्द्राको गाडी बिक्री गर्थ्यो।'कानुनअनुसार लाग्ने कर नतिर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो,' आचार्यले भने, 'हामीले बैंकलाई पत्राचार गरिसकेका छौँ।' 

कार्यालयले यसअघि बक्यौता रहेका सम्पूर्ण करदाताको नाममा कर चुक्ता गर्न आउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो। त्यो सूचना प्रकाशित पछि पनि कर चुक्ता गर्न तथा कारोबारको विवरण नबुझाउनेमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको हो।