मर्जरमा जान के चाहिन्छ लिएर आउनुस्,सुविधा दिन तयार छौं’, अर्थमन्त्री खतिवडाको विचार

बिजमाण्डू
२०७६ बैशाख १६ गते १२:४३ | Apr 29, 2019
मर्जरमा जान के चाहिन्छ लिएर आउनुस्,सुविधा दिन तयार छौं’, अर्थमन्त्री खतिवडाको विचार


Tata
GBIME
Nepal Life

मर्जरको मुद्दाले मलाई अहिले पनि झक्झक्याइ रहन्छ। त्यसबेला हामीले मर्जरको नीति जोखिम उठाएर ल्याएका थियौं। त्यसबेला यो नीति लिँदा कति 'प्रोयाक्टिभ' थिए भने कति 'रियाक्टिभ' पनि थिए। त्यो बेला एउटा जोखिमको वातावरण थियो। च्याउ जसरी संस्था खुले। राष्ट्र बैंक आफैले नाम सम्झन नसक्ने गरी संस्थाहरु खुले भन्ने थियो। तीन बर्षसम्म पनि अनसाइट इन्सपेक्सनमा पुग्न सकिने अवस्था थिएन। वित्तीय संस्थाको नाकनाक घाँटीघाँटीसम्म पानी पुग्दा पनि थाहा नपाउने स्थिति थियो। यसले गर्दा आलोचना थुप्रै भइरहेको थियो।

योसँगै २५ देखि ४५ वटाका बीचका संस्थाहरु बाँच्न सक्ने अवस्थामा छैनन्, यिनीहरुलाई बन्द गर्नु पर्छ भनेर अन्तर्राष्ट्रिय निकायहरु (मुद्रा कोष र विश्व बैंक)ले भनेका थिए। २५ देखि ४५ वटा बीचका संस्थाहरु बन्द गर्दा नेपालमा को बाँकी रहन्थ्यो होला? मैले भने- हामी बन्द गर्दैनौं, विग्रिएकालाई ठिक गर्छौं। विरामीलाई सद्दे मान्छेसँग मर्निङवाकमा दौडाउँछौं। अलिअलि हेल्दी बनाउँछौं, रोग सार्दैनौं भनेका थियौं। त्यसबेला मैले चुनौती लिएको पनि हुँ। 

समस्या भयो बन्द गरिहालौं भन्ने हाम्री प्रणालीमा अलिक हुँदैन। किनभने हाम्रो बैंकिङ प्रणाली एउटा अर्कोसँग जेलिएको छ। एउटा संस्थालाई कारवाही गर्नु पर्यो भने त्यसको चेन इफेक्ट देखिन्छ। धेरै ठाउँमा जेलिएका कारण त्यो संभव थिएन। 

थोरैथोरै पूँजीका धेरै बैंकहरु थिए। १० अर्ब ऋण दिनु पर्यो भने १० वटा संस्था मिल्नु पर्ने अवस्था थियो। सहवित्तीयकरणमा झगडा भइरहन्थ्यो। ऋणमा पनि समस्या हुन्थ्यो। सहवित्तीयकरणको लिड गर्ने बैंकले कमजोरी देखायो भने सबैलाई समस्या पर्ने अवस्था थियो। ठूला आयोजनामा जानका लागि बैंकको क्षमता पुग्दैन थियो। त्यसकारण मर्जरमा जाउँ अनि पूँजी बढ्छ भन्ने हामीले चाहेका थियौं। तर साथीहरुले सजिलो बाटो रोज्नु भयो पूँजी बृद्धि। मैले मर्जरबाट संख्या नै घटाएर पूँजी बढाउन चाहेको थिएँ।

एउटा बैंकमा भर्खर अधिकृत भएको मान्छे, अर्को बैंकमा हामफालेर माथि पुगेको छ। अनुभव छैन। अनुभव नभइ सिइओ भइसकेको छ। संस्था खुल्दै गएपछि जनशक्ति अभाव हुन थाल्यो। कमजोर मान्छे पनि माथि पुग्न थाले। यहाँ ठूलो समस्या देखियो। 

यो सब हुँदाहुँदै पनि मर्जरमा जानै पर्छ भन्ने कुराको आभास भने मलाई ग्रामिण विकास बैंकहरुले गराए। पाँच वटा विकास क्षेत्रमा पाँच वटा ग्रामिण विकास बैंक सञ्चालनमा थिए। काम एउटै गर्नु छ तर पाँच ठाउँमा छरिएका छन्, केका लागि? ग्रामिण विकास बैंक भने भइहाल्यो। त्यो बेला यसलाई मर्जर गरौं भन्ने लाग्यो। कुनै बन्द हुने अवस्थामा छन्, कुनै घिटीघिटी भएर बाँचिरहेका छन्। हामीले त्यसलाई मर्ज गर्यौं। त्यसलाई मर्ज गरेपछि राम्ररी चल्न थालेको छ।

मर्जरको नीति हामीले लिएपछि धेरैले सहयोग गरे। शेयरधनीले सहयोग पुर्याए। सरकारले सहयोग गर्यो। सर्वसाधारणले पनि स्वीकार गरे। बलियो हु्न्छ भन्ने भएपछि सञ्चार माध्यमले पनि सहयोग पुर्याए। विदेशी निकायहरु पनि हाम्रो एजेण्डामा सहमत भए। आखिरमा हाम्रो नीति सफल पनि भयो। 

हामीले लिएको नीतिपछि अहिले बैंकिङ प्रणाली यो अवस्थामा आइसकेको छ। म आँफै पनि मर्जरको स्टेक होल्डर भएकाले हामी कति सफल भयौं वा असफल भयौं भनेर भन्दिन। त्यो बजार र  बैंकिङ प्रणालीले मूल्यांकन गर्ने कुरा हो। तर यति हो, हामीले त्यसबेला कमजोर संस्थालाई बलियोमा लगेर नमिसाएको भए चै अवस्था भयाभह हुन्थ्यो। यो चै पक्का हो। 

के अझै मर्जर आवश्यक छ?
मर्जरका बारेमा एउटा/दुईटा प्रश्न मेरो दिमागमा अहिले पनि छ। प्रतिस्पर्धालाई संख्याले गभर्न गर्छ वा बजारको अवस्थाले?  दुई/चार वटा ठूला कम्पनीका बीचमा असीमित प्रतिस्पर्धा हुन्छ र कहिलेकाँही 'प्राइस वार' नै चल्छ। संख्या धेरै हुँदा पूर्ण प्रतिस्पर्धा हुन्छ भनेर भन्ने हो भने त्यो पूर्ण प्रतिस्पर्धा अस्वस्थ प्रतिस्पर्धामा जाँदो पनि रहेछ। कसले मूल्य घटाउँछ थाहा हुँदैन, कसले बढि असुल्छ थाहा हुँदैन। बैंकहरुमा यो परिदृश्य देखिने गरेको छ।

संख्याका बारेमा प्रतिस्पर्धाका लागि भन्दा 'हार्ड एण्ड फास्ट' कुनै नियम छैन। धेरै थोरै भएमा एकाधिकार हुने जोखिम रहन्छ। सेवाको हकमा बैंकहरुको संख्या बढाउने वा कार्यक्षेत्र बढाउने भन्ने हुन्छ। तथ्यांकले शाखा विस्तार गरेर पनि सेवा वृद्धि भएको देखिएको छ। बैंकको संख्या भन्दा पनि शाखा संख्याले वित्तीय सेवा विस्तार हुने देखियो। संख्यात्मक वृद्धिभन्दा पनि सेवा विस्तारमा जानु पर्छ भन्ने मलाई लाग्छ। 

पूँजी बढाएर मात्र बैंकहरु बलियो हुन्छन् भन्ने छैन। पूँजी धेरै भएर मात्र बैंक बलियो हुने भए संसारका ठूला पूँजी भएका बैंकहरु डुब्ने नै थिएनन् होला। सन् २००८ मा त थुप्रै बैंकहरु डुबे पनि। 

यसको अर्थ पूँजी नचाहिने भन्ने पनि होइन। ब्यापारको आकार बढ्दै गयो भने पूँजी पनि सँगसँगै चाहिन्छ। सेवा विस्तार हुँदै जाँदा पूँजी पनि बढाउनुपर्छ। 

मेगा मर्जरको पनि कुरा यही हो। उद्देश्यमूलक ढंगबाट मर्जरमा जानु पर्छ। उद्देश्यमूलक भनेको सिनर्जी ल्याउने हो, खर्च घटाउने हो, नयाँ नयाँ प्रविधि भित्र्याउने हो। प्रतिस्पर्धी क्षमता बढाउने हो। बाहिरबाट आउनसक्ने संभावित बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने हो। विश्व ब्यापार संगठनको सदस्य भएकाले भोलिका दिन ठूला बैंकहरु नेपालमा आउन सक्छन्। ती बैंकसँग पनि प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ। ठूला कम्पनीहरु नेपाल आउँदा उनीहरुले कारोबारमा नेपाली बैंकलाई पत्याउने हुनुपर्छ। त्यसका लागि नेपाली बैंक पनि ठूलो हुन आवश्यक भने छ। 

भारत र चीनको बैंक ठूला छन् तर हामी साना छौं। उनीहरुको अर्थतन्त्र विशाल छ, हामी साना छौं। त्यसो हुँदा अर्थतन्त्रको आकारलाई हेरेर पनि बैंकको आकार निर्क्यौल गर्नुपर्छ। भारत र चीनको जस्तै पूँजी भएको बैंक चाहिन्छ भन्नु पनि गलत हुनजान्छ। अर्थतन्त्र आकार र अर्थतन्त्रको स्वभाव हेर्नुपर्छ।हाम्रो ३४ खर्ब ६४ अर्बको अर्थतन्त्र हुँदैछ। त्यसको १ प्रतिशतको बैंक होस् भन्ने ब्यवसायी साथीहरुले चाहेजस्तो लागिरहेको छ। यो राम्रो कुरा हो, तर अर्थतन्त्रको १० प्रतिशत जत्रो पूँजी भएको हाम्रो बैंक हुनु पर्छ भन्नु गलत हुन्छ। भोलि पूँजी मात्र बढाएर हुँदैन, आरओइ पनि 'मेन्टेन' हुनु पर्छ। 'टु विग टु फेल' पनि हुन्छ। ओभर क्यापिटललाइजेसनले थला पर्ने अवस्था पनि आउन सक्छ। 

मर्जरले दिएको पाठ भनेको सिनर्जी हो। इन्क्लुजन बढेको छ। जनसंख्या मात्र होइन क्षेत्रगत रुपमा पनि बढेको छ। कर्पोरेट हेरिरहेको बैंकले कृषिमा लगानी गरेको संस्थालाई मर्ज गरेर आफ्नो ब्यापारलाई विविधीकरण गरिरहेको छ। निक्षेप सुधारदेखि सञ्जाल विस्तारसम्म भएको छ। मर्जरपछि स्ट्रेन्थ बढेको देखिन्छ। अब हामी विस्तारै युनिभर्सल बैंकिङमा गइसकेका छौं। त्यसो हुँदा धेरै संख्या किन आवश्यक भन्ने सान्दर्भिकता पनि पुष्टी गर्नुपर्ने बेला आएको छ। 

हामीले अनुभवबाट सिक्नु पर्छ। बैंक धेरै नखोलौं भनेर मैले पटकपटक भने। तर साथीहरु मान्नु भएन। अहिले आएर समस्या भयो भन्नु हुन्छ। विगतमा पनि समस्या भयो भनेर मर्जर भयो। अहिले समस्या लघुवित्त संस्थाहरुमा देखिएको छ। अहिले सबैलाई चाहिएको छ संस्था तर टिकाउने आधार भने घटिरहेको छ। यसमा बिचार गर्नु पर्ने बेला भएको छैन र? गरिवीको रेखामूनि भएको जनसंख्या घटिरहेको छ। तर हामी संस्था थपेर २५ लाखलाई सेवा दिएको भन्छौं। त्यसो भए अहिले हामीले कसलाई ऋण दिइरहेका छौं? यहाँ समस्या छ, त्यहाँ सुधार गर्न आवश्यक भइसकेको छ।

मर्जर कसरी?
केही नयाँ कुराहरु सोचेर अब अगाडि बढ्न आवश्यक छ। फोर्सफुल मर्जर गरेर जानेभन्दा पनि इन्सेन्टिभ दिएर स्वस्फुर्त मर्जर गराउन हामी चाहन्छौं। तर उद्देश्यसहित मर्जर हुनका लागि इन्सेन्टिभ दिने एउटा कुरा हो, तर सुविधाकै लागि मर्जर गरौं भन्ने भयो भने उल्टो बाटो हुन जान्छ। मर्जरका लागि हामीले अलिकति इन्सेन्टिभ दिने हो तर त्यही इन्सेन्टिभका लागि मर्जरमा लैजान हामी सक्दैनौं।

२० प्रतिशत सेभिङ अहिले छ। सबै वित्तीय बजारमा छैन। कुनै सुनमा छ कुनै रियलस्टेटमा होला। त्यसलाई मोबिलाइज गरौं। त्यसलाई मोबिलाइज गर्ने बारेमा सोचौं। कतिपय ठाउँमा गोल्ड बैंक पनि राम्रो चलिरहेको छ। वित्तीय क्षेत्रमा स्रोत जुटाउने गरी स्किमहरु तयार पारौं। 

हामी बैंकिङ कारोबार गरिरहँदा केही समस्याहरु अहिले अलिकति देखिइरहेका छौं। अहिले विकास बैंक फाइनान्स मात्र होइन राम्रै बैंकले पनि  दायित्वलाई सम्पति मानेर लगानी गरिरहेको अवस्था पनि देखिन थालेको छ। यो कुनै वर्गको संस्थााको रोग होइन समग्र प्रणालीको समस्या हो। 

अहिले हामी जोखिम वा आफ्नो क्षमता र क्षेत्र नहेरी लगानी गरिरहेका छौं। अनुभव नभएको क्षेत्रमा लगानी गर्दा अहिले खासगरी निर्माण क्षेत्रका ऋणमा समस्या देखिन थालेको छ। अनुभव नभएको क्षेत्रमा ऋण दिँदा समस्या हुन्छ। हिजो एउटा दुईटा संस्थामा यो समस्या थियो भने अहिले अरु संस्थामा पनि यो रोग देखिन थालेको छ।

ठूला मर्जरले मोनोपोली हुन सक्छ कि भनेर हेर्न जरुरी छ। मर्जर ठिक वा बेठिक भन्दा पनि मर्जर उद्देश्यमूलक हुनु पर्छ। हिजो मर्जर गर्दा बैंकका शाखा बन्द हुने हुन् कि भनेर पनि प्रश्न उठेको थियो। तर हामीले सेवा वा सञ्जाल घटाउन पाइँदैन भनेर सशर्त नीति ल्यायौं। नभन्दै सञ्जाल विस्तार भयो र मर्जरले सिनर्जी पनि दियो। बैंकहरुको क्षमता अभिबृद्धि पनि भयो। 

मर्जरले गर्दा धेरै ठूलो समस्या हल भयो। कहिलेकाँही सिइओहरु परिवर्तन हुँदा त्यहाँभित्रको समस्या उजागर भएको छ। कार्पेट फेर्दाखेरी कार्पेट मूनिको धुलो देखियो। बेलाबेलामा कार्पेट फेर्नु पर्ने रहेछ। मर्जर गर्दा पनि त्यही भयो। कुन वित्तिय संस्थाले कहाँ स्ट्रेस लिएको छ भन्ने जानकारी आयो।ठूलो बैंकले सानो सानो लिँदा त्यहाँको विकृति सजिलै समायोजन हुने रहेछ। तर ठूलो ठूलो मर्जर हुँदा त्यो समायोजन नहुन सक्छ। विगतमा मर्जर गर्दा समग्र प्रणालीलाई फाइदा गर्यो।

अहिले पनि एकभन्दा धेरै वित्तीय क्षेत्रमा लगानी भएका साथीहरु हुनु हुन्छ। अरु क्षेत्रमा पनि उहाँहरुको लगानी छ। उहाँहरुका लागि मर्जर उपयुक्त विकल्प हुन्छ। दशतिर कति तनाब लिइरहने? एकैठाउँमा वा एउटा मात्र ब्यापार हेर्दा तनाब पनि कम हुन्छ। 

ब्यवसायी र उद्योगीहरुले नै अहिले मर्जरका लागि कुरा उठाएको मैले सुनिरहेको छ। त्यो सकारात्मक हो। संख्या घटाएपछि प्रवर्द्धकहरु अन्य क्षेत्रमा लगानी गर्न जान पाउँछन्। यसले समग्र अर्थतन्त्रलाई नै फाइदा पुर्याउँछ। 

बजेट आउन बाँकी छ। बजेट लेख्दै गर्दा वा बजेट भाषण गर्नु केही समयअघिसम्म कुनै सुविधा भएमा मर्जरमा जान्छौं भनेर  आएमा हामी पूरा गर्न तयार छौं। हामी फोर्सफूल भन्दा पनि पनि स्वस्फुर्त रुपमा मर्जर होस् भन्ने चाहन्छौं।

(अर्थमन्त्री खतिवडाले अर्थको अर्थ कार्यक्रम २६औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा दिएको मन्तब्यको अंश।)