काठमाडौं। सामाजिक सञ्जालको प्रयोगले नेपाल टेलिकमको भ्वाइस सेवा मार्फतको आम्दानी घट्दा समग्र नाफामै प्रभाव पारेको छ। गत आर्थिक वर्षको नौ महिनाको तुलनामा यस वर्ष १५ प्रतिशतले नाफा घटेको हो।
टेलिकमले नौ महिनाको अवधिमा ९ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ११ अर्ब ८५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इमो, भाइवरको प्रयोगकर्ता बढेसँगै नेपाल टेलिकमको भ्वाइस सेवा मार्फतको आम्दानी झण्डै एक अर्ब रुपैयाँले खुम्चिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।
उनले भनिन् ‘सामाजिक सञ्जाल मार्फत भ्वाइस कल गर्ने प्रचलन सुरु भएसँगै अन्तर्राष्ट्रिय स्तरमै टेलिकम सेवा प्रदायक कम्पनीहरुको नाफामा ठूलो असर परेको छ।’ उनका अनुसार यस वर्षको ९ महिनाको अवधिमा भ्वाइस सेवा मार्फतको आम्दानी १४ प्रतिशतले घटेको छ।
एडिएसएलको मासिक सेवा शुल्क एक हजार रुपैयाँ रहेकोमा यस वर्षदेखि कर सहित ८०० रुपैयाँमा झरिएको छ।प्रत्यक्ष आम्दानी घट्नुका साथै चालु आर्थिक वर्षदेखि करका दायरा बढ्दा नाफामा ठुलो असर पारेको हो।
इन्टरनेटको डाटामा यस अगाडि कर लाग्दैन थियो। यस आर्थिक वर्षदेखि १३ प्रतिशत कर भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको हुँदा नाफामा प्रभाव पारेको हो।
कम्पनीले टेलिकम सेवा प्रदान गरेर नौ महिनाको अवधिमा २७ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष तुलनामा ६.४२ प्रतिशतले खुम्चिएको हो। गत वर्षको यहि अवधिमा अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको थियो।
अन्य आम्दानी भने ११ प्रतिशतले बढेर चार अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेको छ। चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८६ अर्ब ४० करोड रुपैयाँ जम्मा भएको छ।
प्रतिस्पर्धी बजारमा टेलिकमले इन्टरनेट सेवामा विभिन्न प्याक ल्याउदै शुल्क घटाउनु परेको टेलिकमले जनाएको छ। टेलिकमले एक वर्षभित्रमा ७ वटै प्रदेशमा फोरजी सेवाको विस्तार गर्ने लक्ष्य लिएको छ।
फोरजीको विस्तारले नेपाल टेलिकमको नाफाको बृद्धिदरलाई बढाउने वैद्यले बताइन्। यसका साथै एफडिटिएच ‘फाइवर टु द होम’ को विस्तारले पनि नाफा बढाउन मद्दत गर्ने टेलिकमको लक्ष्य रहेको छ।
'एफडिटिएच फाइवर टु द होमको विस्तारसँगै टेलिकमको नाफा सुधारमा सहयोग पुग्नेछ'- उनले भनिन्।
विवरण (रु.०००) |
नेपाल टेलिकम |
बृद्धि (%) |
|
चैत २०७५ |
चैत २०७४ |
||
नाफा |
9,983,925.26 |
11,856,406.47 |
-15.79 |
रेभेन्यु |
27,506,075.18 |
29,392,137.85 |
-6.42 |
अन्य आम्दानी |
4,969,733.57 |
4,461,133.04 |
11.40 |
चुक्ता पूँजी |
15,000,000.00 |
15,000,000.00 |
0.00 |
जगेडा कोष |
86,408,242.19 |
79,690,515.24 |
8.43 |
लगानी |
46,477,730.00 |
41,697,640.00 |
11.46 |
प्रतिशेयर आम्दानी |
88.75 |
105.39 |
-16.64 |