चर्किँदै अमेरिका-चीन व्यापार द्वन्द्वः सूचना प्रविधि क्षेत्रमा ट्रम्पद्वारा संकटकाल घोषणा

बिजमाण्डू
२०७६ जेठ २ गते ०९:५० | May 16, 2019

Tata
GBIME
Nepal Life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि खतरा बढेको भन्दै अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएका छन्।

दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको भन्दै त्यस्ता उपकरणको प्रयोगमा रोक लगाउँदै ट्रम्पले संकटकाल घोषणा गरेका हुन्।

सञ्चार सञ्जालहरूलाई विदेशी प्रतिद्वन्द्वबाट बचाउन संकटकाल लगाएको ट्रम्पले उल्लेख गरेका छन्।ट्रम्पको निर्णयपछि अब अमेरिकी कम्पनीहरूले विदेशी दूरसञ्चार कम्पनीका उत्पादन खरिद गर्न पाउने छैनन्।

ट्रम्पको यो निर्णय खासगरी चिनियाँ उत्पादनलाई लक्षित गरी आएको विश्लेषण गरिएको छ। चिनियाँ कम्पनी हुवावेले आफ्ना उपकरणहरूको सहयोगले अरू राष्ट्रहरूमा जासुसी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ। यद्यपि हुवावेले भने आफ्ना उपकरणहरू सुरक्षित रहेको बताउँदै अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ।

अमेरिका र चीनबीच व्यापार युद्ध चर्किँदै गर्दा ट्रम्पको यो निर्णयले दुई देशको सम्बन्धमा थप समस्या उत्पन्न हुनसक्ने अनुमान गरिएको छ। गत साता मात्रै ट्रम्पले २०० खर्ब डलर बराबरको चिनियाँ सामाग्रीमा लगाइएको १० प्रतिशत करलाई २५ प्रतिशत पुर्‍याएका थिए। जवाफमा चीनले ६० अर्ब डलर बराबरको अमेरिकी सामाग्रीमा कर वृद्धि गरेको थियो।

कर वृद्धिका कारण धरासायी बनेको अमेरिका चीन व्यापार विदेशी उपकरण आयातमै रोक लगाएपछि चिनियाँ उपकरणमा निर्भर अमेरिकी कम्पनीहरूलाई ठूलै घाटा हुने बताइएको छ।