अब शेयरको पैसा तिर्न ब्रोकर कार्यालय धाउनु नपर्ने, अहिलेलाई एक लाख रुपैयाँको सीमा

बिजमाण्डू
२०७६ जेठ ९ गते २१:३० | May 23, 2019
अब शेयरको पैसा तिर्न ब्रोकर कार्यालय धाउनु नपर्ने, अहिलेलाई एक लाख रुपैयाँको सीमा


काठमाडौं। आइतबारदेखि अनलाइन प्रणालीबाट शेयर खरिद गर्नेले पैसा भूक्तानी गर्न ब्रोकर कार्यालय धाउनु नपर्ने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्जले नेपाल क्लियरिङ हाउसलाई भूक्तानी प्रणालीमा जोडेसँगै पहिलो चरणमा शेयर खरिद गर्नेले अनलाइन प्रणालीबाटै भूक्तानी गर्न सक्नेछन्।

नेप्सेले भूक्तानी प्रणालीलाई अनलाइनमा जोड्नका लागि दुई चरणमा काम गरेको छ। पहिलो चरणको काम सकिएसँगै आइतबारबाट लगानीकर्ताले खरिद गरेको शेयरको पैसा अनलाइनबाटै भूक्तानी गर्ने छन्। दोस्रो चरणको काम पनि एक साता भित्रमा सकिने नेप्सेका प्राविधिक प्रमुख निरञ्जनकुमार नायकले बताए।

दोस्रो चरणको काम सकिएपछि ब्रोकरले भूक्तानी गर्ने रकम पनि सीधै लगानीकर्ताको खातामा जानेछ। पहिलो चरणमा भूक्तानी प्रणालीमा आउन सक्ने समस्या हेरेर दोस्रो चरणको काम गरिने नायकले जानकारी दिए।

पहिलो चरणमा लगानीकर्ताले भूक्तानी गर्ने रकम एक पटकमा एक लाख रुपैयाँ मात्रै हुनेछ। यस्तो रकमको सीमा आवश्यकता अनुसार बढाउँदै लगिने नेपाल क्यलियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले जानकारी दिए।

लगानीकर्ताले एक लाख रुपैयाँ भन्दा माथिको कारोबार गरेरमा सोही दिन पनि पटक पटक गरेर भूक्तानी गर्न सक्नेछन्। यो प्रणाली जोडिएपछि यदि लगानीकर्ताले चार लाखको शेयर खरिद गरेको छ भने सुरुमा एक लाख रुपैयाँ भूक्तानी गर्न पाउने छन्। यदि चार लाख रुपैयाँ भन्दा माथिको कारोबार गर्नु परेमा कारोबार संख्या बढाउनु पर्ने हुन्छ।

अहिलेलाई केहि समस्यादेखिए पनि आवश्यकता अनुसार सुधार गर्दै जाने नेप्सेले जनाएको छ। अहिलेलाई कमबाट सुरु गरिएको र भोलिका दिनमा विस्तारै बढ्दै जाने प्रधानले बताए। साधारण कारोबारको हकमा एक लाख रुपैयाँको सीमा भएपनि शेयर बजार तथा कर भूक्तानीका विषयमा नेपाल राष्ट्र बैंकको नियमले रोकिदैन।

दोस्रो चरणको काम सम्पन्न भए सँगै ब्रोकरले एकै पटकमा २० करोड रुपैयाँसम्मको कारोबार गर्न सक्ने छन्। कारोबार रकममा आधारमा क्लियरिङ शुल्क लिने व्यवस्था गरिएको छ। कम्पनीले कारोबार रकमका आधारमा दुई रुपैयाँदेखि १५ रुपैयाँसम्म लिनेछ। ५० हजार रुपैयाँ भन्दा माथिको कारोबारका लागि १५ रुपैयाँ, ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म १० रुपैयाँ र ५०० देखि ५ हजार रुपैयाँसम्मको लगि ५ रुपैयाँ र ५०० रुपैयाँसम्मको लागि दुई रुपैयाँ शुल्क लाग्नेछ।