पाँच महिनापछि भ्रमण वर्ष सचिवालय र निजी क्षेत्रबीच छलफल, यस्तो छ निजी क्षेत्रको धारणा

बिजमाण्डू
२०७६ जेठ १० गते २१:४० | May 24, 2019


काठमाडौं। भ्रमण वर्ष २०२० सचिवालयले पहिलो पटक पर्यटन व्यवसायीसँग छलफल गरेको छ। भ्रमण वर्षको राष्ट्रिय संयोजक तोकिएको पाँच महिनामा कार्यालय भेटेको सचिवालयले शुक्रबार पर्यटन व्यवसायीसँग छलफल गरेको हो।

Tata
GBIME
Nepal Life

सचिवालयको कार्यालय केशरमहलमा भएको छलफलमा वरिष्ठ पर्यटन उद्यमी अम्बिका श्रेष्ठ, उद्योगी पद्म ज्योती, मनकामना केवलकार संचालक राजेशबाबु श्रेष्ठ, उद्यमी वसन्त चौधरी लगायतको उपस्थिती थियो।कार्यक्रममा भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले २० लाख पर्यटक भित्र्याउने उदेश्यसहित विभिन्न गन्तब्यमा सीधा हवाई उडानका लागि समन्वय थालिएको बताए।उनका अनुसार २४ करोड रुपैयाँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वुटिकमा परिवर्तन गर्न लागिएको छ।

'भ्रमण वर्ष सफल पारेर पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेतर्फ हामीले ध्यान केन्द्रित गरेका छौं। भ्रमण वर्ष सरकारको मात्रै होइन सर्वसाधरणदेखि निजी क्षेत्रको आफ्नै हो।भ्रमण वर्ष सफल पार्न सबैको उतिकै दायित्व छ।' वैद्यले भने।उनका अनुसार सचिवालयले पर्यटन प्रवर्धनका लागि भारतको माइस कम्पनी, ट्रीप एड्भाइजर, मेक  माइ ट्रीप लगायत संस्थासँग समन्वय गरिसकेका छौं।

पर्यटकलाई आकर्षित गर्नका लागि सांस्कृतिक सम्पदा सँगै गन्तब्यको संरक्षण गर्न जरुरी रहेको बताउँदै द्वारिकाज होटलकी संचालिका अम्बिका श्रेष्ठले भनिन्,' अतिथी देवो भवः भन्ने शब्दलाई मध्यनजर गर्दै हामीसँग भएका सांस्कृतिक सम्पदा र गन्तब्यको संरक्षण गर्न जरुरी छ। पर्यटकको चाहनालाई मध्यनजर गर्दै योजना बनाउनका साथै यहाँको वाइल्ड लाइफ सम्वन्धि पनि विशेष जानकारी दिन आवश्यक छ।'

विभिन्न मुलुकबाट आउने पर्यटकलाई मध्यनजर गर्दै उनीहरुको चाहना अनुसार खेलकुद, नाचगान, सांस्कृतिक कार्यक्रम गर्न उद्यमी वसन्त चौधरीले सुझाव दिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिले भ्रमण वर्ष सफल पार्न पूर्वाधारलाई प्राथमिकता राखेर अल्पकालिन र दीर्घकालिन काम अघि बढाउनुपर्ने बताए।गैरआवासीय नेपाली संघकी सपिलाराज भण्डारीले भ्रमण वर्ष सफल पार्न विदेशमा नेपालीले संचालन गरिरहेका दुई हजार भन्दा बढी रेष्टुरेन्टमा नेपाली रैथाने परिकार राखेर प्रवर्द्धनात्मक कार्यक्रम सुरु गरिसकेको जानकारी दिए।

पर्वतारोहणमा आउने पर्यटकका लागि सरकारले सहुलियत दिनुपर्ने व्यवसायी आङछिरीङ शेर्पाले बताए। मनकामना केवलकारका संचालक राजेशबाबु श्रेष्ठले भ्रमण वर्ष सफल पार्न सर्वसाधरणलाई जानकारी हुनुपर्ने बताए।‘यो सरकारको मात्रै होइन आम जनताको कार्यक्रम हो भन्ने गरि जानकारी दिनुपर्छ। पर्यटक आगमनले स्वदेशी उत्पादन र विदेशी मुद्रा आर्जन भएर मुलुक समृद्ध बन्छ भन्ने जागरण समेत फैलाउन आवश्यक छ’ उनले भने,’जनता जोडिने वित्तिकै यो कार्यक्रम पनि सफल हुन्छ।’ पर्यटन सचिव मोहनकृष्ण सापकोटाले पूर्वाधार विकासमा केन्द्रित भएर भ्रमण वर्षलाई सफल बनाउन सरकार लागिरहेको बताए।