काठमाडौँ। आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारमा देखिएको कर विवादलाई सल्टाएर केही नीतिगत व्यवस्था गर्न लगानीकर्ताले आग्रह गरेका छन्।
चालु आर्थिक वर्षको बजेटमा करका बारेमा अस्पस्टताले लगानीकर्ता समेत उल्झनमा परेका थिए। शेयर लगानीकर्ता तथा चलचित्र निर्देशक उज्वल घिमिरेले बजेटमा अल्पकालीन र दीर्घकालिन लगानीकर्ता छुट्टयाएर करको दर फरक हुनुपर्ने बताए। उनले विदेशमा अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई फरक कर रहेको जिकिर गर्दै त्यसले बजारलाई दीगो समेत बनाउने बताए।
'दीर्घकालीन लगानीकर्तालाई कर मुक्त गरिदिनुपर्छ'घिमिरेले भने, ‘अल्पकालीन लगानीकर्तालाई हाल लिइँदै आएको कर भन्दा बढी कर लिनुपर्छ।‘ उनले शेयर बजारमा विदेशी लगानी खुला गर्नुपर्ने बताउँछन्। अर्का लगानीकर्ता नरेश दाश शेयर बजारमा लाग्दै आएको करको दर कम गर्नुपर्ने बताउँछन्।
लामो समयदेखि अनिर्णयको बन्दी बनाइएको हकप्रद र बोनसमा लगाउने भनिएको करको विषयलाई यो बजेटले टुंगो लगाउनुपर्ने लगानीकर्ता युजन बजिमयले बताए।लगानीकर्ता मदनराज पन्तले अर्थमन्त्री र अर्थमन्त्रालय पूँजी बजारप्रति सकारात्मक हुनुपर्ने बताए।