उड्नै लाग्दा बिमानबाट झारिए नरेश गोयल, अर्को बिजय माल्या बन्ने डरले बिदेश जानबाट रोकियो

बिजमाण्डू
२०७६ जेठ १२ गते १२:०५ | May 26, 2019

Tata
GBIME
Nepal Life

मुम्बई। किंगफिसर एयरवेजका मालिक बिजय माल्या झैं लुकेर बिदेशमा बस्न सक्ने खतराका कारण जेट एयरवेजका संस्थापक नरेश गोयललाई बिदेश उडानमा रोक लगाइएको छ।

गत शुक्रबार उनी एयर इमिरेट्सको उडानबाट दुबई जान लागेका बेला मुम्बई एयरपोर्टमा गोयल र उनकी श्रीमतीलाई रोकिएको हो।

प्रशासनले गोयललाई बिदेश जानबाट रोक्नकालागि लुकआउट नोटिस समेत जारी गरेको छ।

स्रोतका अनुसार गोयल र उनकी श्रीमती अनिता दुबईको बाटो हुँदै लण्डन जाँदै थिए। उनीहरुले दुबई जानकालागि  एयर इमिरेट्सको पहिलो दर्जाको टिकट काटिसकेका थिए।

उनीहरु भारतबाट तीन घण्टामा दुबई पुग्ने र त्यहाँ एयरपोर्टबाट कुरेर बसेको लिमोजिन कारमा दुबई मरिनामा रहेको आफ्नो पेन्ट हाउस पुग्ने तय थियो। उनीहरुको सामान समेत दुबईकालागि चेक इन भैसकेको थियो।

उनीहरुसँग चारवटा ठूला ठूला सुटकेस थियो। सबै सुटकेसहरु अनिता गोयलको नाममा थियो। तर अधिकारीहरुले उनीहरुलाई बिदेश जानबाट रोकेपछि चारैवटा सुटकेस बिमानबाट झारिए।

यो सबै प्रक्रियाका कारण बिमान नियमित उडानभन्दा एक घण्टा ढिला उडेको थियो। जब प्रहरी अधिकारीहरुले दुबैजनालाई बसिसकेको बिमानबाट झारे त्यसपछि मात्र बिमान उडेको थियो।

यसअघि जब गोयल इमिग्रेसन क्लियर गर्नकालागि एउरपोर्टको काउन्टरमा उभिए त्यहाँ उनलाई कसैले अवरोध गरेन। उनको पासपोर्टमा सहजै स्ट्याम्प हानियो र उनले देश बाहिर जाने अनुमति पाए। तर बिमानमा बसिसकेको अवस्थामा उनलाई प्रहरीले रोक्यो र बिमानबाट झार्यो।

इमिरेट्स एयरवेजका प्रवक्ताले यसबारेमा प्रतिक्रिया दिँदै भने – हामी जुन देशमा सेवा प्रदान गर्छौ त्यहाँको कानुन पालना गर्न प्रतिबद्ध छौं।
जेट एयरवेजले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन।

नरेश गोयल बन्द भैसकेको कम्पनी जेट एयरवेजका बारेमा इत्तिहाद तथा हिन्दूजा समूहका कार्यकारीहरुसँग छलफल गर्नकालागि बिदेश जान लागेको बताइएको छ।  

संचालन गर्न आर्थिक संकट उत्पन्न भएपछि जेट एयरवेज गत अप्रिलदेखि बन्द रहेको छ।

गत सातामात्रै हिन्दूजा समूहले जेट एयरवेजमा लगानी गर्न के कस्तो अवसर छट भन्ने बारे मूल्यांकन गरिरहेको बताएको थियो।

एक महिनाअघि मात्रै जेट एयरवेजका अधिकारी तथा कर्मचारी संघका अध्यक्ष किरण पावसकरले मुम्बई पुलिसका आयुक्तलाई चिठी लेखि जेट एयरवेज ब्यबस्थापनका सबै उच्च अधिकारीको पासपोर्ट जफत गर्न आग्रह गरेका थिए। कर्मचारीहरुले महिनौंदेखि तलब नपाएकोले उनले प्रहरीमा रिपोर्ट गरेका हुन्।