ब्राजिलमा कर्मचारीको ‘पेन्सन’ टाउको दुखाई बन्यो, राष्ट्रपतिले अघि सारे यस्तो प्रस्ताव

बिजमाण्डू
२०७६ जेठ १३ गते १२:४६ | May 27, 2019

Tata
GBIME
Nepal Life

सन् २०१९ को जनवरी १ तारिखका दिन जब ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले पद सम्हाले देशका धेरैले आशंका गरेको विषय थियो कन्जरभेटिभ विङका राष्ट्रपतिले देशलाई एकै ढिक्कामा बाँध्न सक्लान्?

तर एउटा क्षेत्र भने बोलसोनारोको उदयबाट निकै खुशी भयो त्यो थियो कर्पोरेट सेक्टर।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले चुनावी प्रचारका क्रममा आफूलाई  अर्थतन्त्रका बारेमा केही ज्ञान नभएको बताएका थिए।

जब उनी सत्तामा आए उनले सबै निर्णय गर्नकालागि ब्यापारी पाउलो ग्यूडेसलाई जिम्मा दिए। त्यसपछि ब्यापारी पाउलो ब्राजिलको अर्थतन्त्रमा 'सुपर मिनिस्टर'का रुपमा उदाए।

नयाँ राष्ट्रपतिका लागि ब्राजिलको अर्थतन्त्रलाई मन्दीबाट बाहिर निकाल्नु मुख्य चुनौती थियो। त्यहाँको अर्थतन्त्र सन् २०१४ कै स्तरमा हालपनि यथावत छ।

जब बोल्सोनारो पदमा आए लिबरल रिफर्म कार्यक्रम आउला भन्नेमा बजार उत्साहित थियो। तर समयसँगै अपेक्षाहरु भत्कियो।

सरकारका लगातार भएको गम्भीर गल्ती, प्रशासनमा राजनीतिक लडाईं, ब्राजिलको तेल नीतिमा सरकारको अनावश्यक हस्तक्षेप तथा कँग्रेसमा देखिएको नेतृत्वको अभावका कारण ब्राजिको आर्थिक बृद्धिको लक्ष्य हासिल हुन सकेन।

धेरै बिज्ञहरुका अनुसार हाल ब्राजिलमा आर्थिक बृद्धि रोकिएको छ। र उनीहरुका अनुमान छ सन् २०२० अघि अर्थतन्त्रमा थोरै पनि सुधार वा बृद्धि देखिनेवाला छैन।

अघिल्लो दशकमा ब्राजिल बिकासशील देशहरुमध्ये तीब्र आर्थिक बृद्धि गर्ने देशका रुपमा उदाएको थियो। एक समय रुस, भारत चीन र दक्षिण अफ्रिकाजस्तै तीब्र गतिको विकासशील देश भएको ब्राजिल अन्य ब्रिक्स पावर देशहरु झैं सन् २०५० सम्ममा विकसित देशहरुको आर्थिक बृद्धिलाई समेत फड्को मार्ने आँकलन गरिएको थियो।

तर यस दशकको परफर्मेन्स हेर्दा ब्राजिल यो लिगबाट बाहिरिइसकेको देखिन्छ।  सन् २०१५ र २०१६ को मन्दीका कारण ब्राजिलको अर्थतन्त्र ७ प्रतिशतमा मात्र खुम्चिएको छ।

सन् २०१७ र २०१८ मा अर्थतन्त्र जम्मा १.१ प्रतिशतको दरले मात्र बृद्धि भएको देखिन्छ।

सन् २०१९ को सुरुवातमै अर्थशास्त्रीहरुले के अनुमान गरेका छन् भने यस वर्षको आर्थिक बृद्धिदर बितेका दुई वर्षभन्दा फरक हुनेछैन।


ब्राजिलमा बेरोजगारी समस्या घटेको छैन। ब्राजिलियन कामदारहरुले यसको मूल्य चुकाइरहेका छन्। सन् २०१२ मा ७६ लाख बेरोजगार रहेको ब्राजिलमा यस बर्षसम्म आइपुग्दा १ करोड ३४ लाख बेरोजगार पुगिसकेका छन्।

राष्ट्रपति बोल्सोनारो हालको तथ्यांकहरुभन्दा अवस्था अझ भयावह भएको आँकलन गरिरहेका छन्।
आधिकारीक बेरोजगारी दरले के देखाउँछ भने अझै देशका २ करोड ८३ लाख मानिसहरुले काम पाएका छैनन्।

फर्मल जबमा सिमित मानिसहरु छन् । र उनीहरुले पाउने तलब वा ज्यालाले मुद्रा स्फितीको अवस्थालाई धान्न सक्ने देखिँदैन।  ब्राजिलमा ४ वर्षअघि सुरु भएको मन्दीपछि मूल्यमा २५ प्रतिशतले बृद्धि भैसकेको छ।


ब्राजिलको मुद्रा त्यसबेला बलियो भयो जब बोल्सेनारोले चुनाव जित्ने पक्का भयो। लगानीकर्ताहरुको कन्फिडेन्स बढेका कारण यो सम्भव भएको थियो।  

गत वर्ष ब्लुमबर्गले गरेको अध्ययनमा ब्राजिल बिदेशी मुद्रा, बोण्ड र स्टकमा बलियो देखिएको थियो। तर चुनावताकाको उत्साह धेरै टिकेन। त्यसको पाँच महिनापछि नै परिदृश्य धमिलो देखिन थाल्यो।  

स्टक एक्सचेन्ज र मुद्रा दुबैले वास्तविक अर्थतन्त्रको गतिलाई बुझ्न मद्दत गर्छ। ब्राजिलमा बर्षको सुरुवातमा जस्तो स्तरमा थियो यो त्यही नै स्तरमा कायम छ।  

स्टक एक्सचेन्जले गत मार्चमा हालसम्मकै बढी सूचक  देखायो तर यसले पनि केही समयपछि नै कर्पोरेट क्षेत्रलाई निराश बनायो।
बजार विश्लेषणहरुले के देखाउँछ भने सरकारले सन् २०१३ ताका देखिनै एकदमै धेरै रकम खर्चिन थाल्यो। त्यसबेला ब्राजिलमा दिलमा रोसेफको नेतृत्वको बामपन्थी सरकार थियो ।

त्यसपछि ब्राजिलको अर्थतन्त्रलाई बजेट घाटाले मार्यो। आम्दानीभन्दा बढी खर्चलाई राज्यले धान्न सकेन। दिलमाको पतनपछि सरकारले बजेट घाटा घटाउन हरसम्भव प्रयास गरिरहेको छ।


केही अर्थविद्हरु ब्राजिलको पेन्सन प्रणाली सही नभएको तर्क गरिरहेका छन्। किनभने त्यसले ब्राजिलमा धेरै नै समस्या निम्त्याइरहेको छ। ब्राजिलमा ५० वर्षकै उमेरमा अवकाश दिने चलन छ र त्यसपछि सरकारी जागिरेहरुले पेन्सनलगायतका धेरै सुविधाहरु पाउँछन्।

बोलसोनारोले पेन्सनमा कटौती तथा न्यूनतम अवकाश उमेर बढाउने प्रस्ताव गरिरहेका छन्।

उनले अवकाशको उमेर पुरुषकालागि ६५ र महिलाका लागि ६२ वर्ष बनाउने प्रस्ताव अघि सारेका छन्।

ब्राजिलको आन्तरिक ऋण अर्थतन्त्रको ५१ प्रतिशत रहेकोमा हाल बढ्दो बजेट घाटाका कारण ऋणको तह ७७ प्रतिशतभन्दा बढी देखिइसकेको छ।

सरकारले तत्काल ठोस कदम नचालेमा सन् २०२३ सम्ममा देशको ऋणभार उसको अर्थतन्त्र जतिकै पुग्ने चेतावनी समेत दिएको छ। (बिबिसीबाट)