कर्णाली प्रदेशमा ७३% लाई अझै पनि बिजुली छैन, प्रदेश ३ मा ९०% सम्म बिद्युतको पहुँच

बिजमाण्डू
२०७६ जेठ १३ गते १५:०७ | May 27, 2019


काठमाडौं। प्रदेश ६ (कर्णाली) का ७३ प्रतिशत जनता अझै पनि विद्युत पहुँचभन्दा टाढा रहेको आर्थिक सर्वेक्षण २०७५ ले देखाएको छ।

Tata
GBIME
Nepal Life

देशको कुल जनसंख्याको ७७.८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेपनि कर्णाली प्रदेशमा भने अहिलेसम्म २७ प्रतिशत जनसंख्याले मात्रै विद्युत सेवा उपभोग गरिरहेको सर्वेक्षणले देखाएको हो।

सबैभन्दा धेरै विद्युत पहुँच भएको क्षेत्रमा भने प्रदेश ३ पहिलो नम्बरमा परेको छ। प्रदेश ३ मा ९०.३० प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ।

प्रदेश १ मा ७५.९० प्रतिशत, प्रदेश २ मा ७९.७७ प्रतिशत, प्रदेश ४ (गण्डकी) मा ८७.३९ प्रतिशत, प्रदेश ५ मा ८१.०३ प्रतिशत र प्रदेश ७ (सुदूरपश्चिम) मा ५८.९० प्रतिशत जनसंख्यामा विद्युत सेवा पुगेको छ।

२०७५ फागुनसम्मको तथ्याङ्कमा कुल जनसंख्याको ७७.८ प्रतिशतमा विद्युत सेवा पुगेको छ। फागुनसम्मकै तथ्याङ्कमा एक हजार एक सय ४२ मेगावाट विद्युत उत्पादन क्षमता पुगेको छ।

तीन हजार नौ सय आठ सर्किट किलोमिटर प्रशारणलाइन निर्माण भएको छ भने वितरणतर्फ एक लाख ४४ हजार किलोमिटर लाइन निर्माण भएको उल्लेख छ।

प्रदेश २ मा सबै स्थानीय तहमा विद्युत, कर्णालीमा ३७ स्थानीय तहमा छैन।

आर्थिक सर्वेक्षणले प्रदेश २ मा सबै स्थानीय तहमा विद्युत सेवा पुगेको देखाएको छ। कर्णाली प्रदेशमा अझै ३७ वटा स्थानीय तहमा विद्युतको पहुँच पुगेको छैन।

त्यसैगरी सुदूरपश्चिमका ४ र कर्णालीका ६ गरी १० वटा शहरी स्थानीय तहमा समेत विद्युत पहुँच नपुगेको सर्वेक्षणले देखाएको छ।

हालसम्म ८१ वटा ग्रामीण र १० वटा सहरी स्थानीय तहमा विद्युत सेवा पुगेको छैन। एक सय १४ वटा सहरी र ९७ वटा ग्रामीण स्थानीय तहमा मात्रै पूर्णरुपमा विद्युतमा पहुँच पुगेको छ।

एक सय ६९ सहरी र दुई सय ८२ ग्रामीण स्थानीय तहमा आंशिक रुपमा विद्युत पहुँच पुगेको सर्वेक्षणले देखाएको छ।