बजेटमा पूँजीगत लाभकर १०% पुर्याउने चर्चा, बोनस र हकप्रदको पूँजीगत लाभकरको विवाद टुङ्गिने

बिजमाण्डू
२०७६ जेठ १३ गते १५:३४ | May 27, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। बजेट आउनुभन्दा केही दिन अगाडिदेखि शेयर बजार घट्न थालेको छ। बजेटबाट पूँजीगत लाभकरलाई अन्तिम कर मान्ने गरी केही प्रतिशत बढाउने तयारीले शेयर बजारलाई प्रभावित पारेको हो।

स्रोतका अनुसार सरकारले अहिलेको पूँजीगत लाभकर ७.५ प्रतिशतबाट १० प्रतिशत पुर्याउने तयारी गरेको छ।

सरोकारवाला निकायले पूँजीगत लाभकरलाई अन्तिम कर मान्ने हो भने १० प्रतिशतसम्म पुर्याउँदा केही प्रभाव नपर्ने भन्दै सुझाव दिएका छन्।  

सरकारले प्यानलाई अनिवार्य गर्दा पूँजीगत लाभकरलाई अन्तिम कर मानेर अगाडि बढ्न सुझाव दिएको स्रोतले जानकारी दियो।

गत वर्षको शेयर बजार घटाउने फण्डाको रुपमा रहेको बोनस र हकप्रदको आधारमा मूल्यका आधारमा पूँजीगत लाभकर उठाउने विषयलाई पनि बजेटबाटै टुङ्ग्याउन सुझाव दिएका छन्।

बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकरको गणना प्रणालीलाई वैज्ञानिक बनाउने या अहिलेकै जस्तो गरी भुक्तानी गर्ने वातावारण बनाउन सुझाव दिएका हुन्।

बजेट आउन  दुई दिन मात्रै बाँकी छ। यदि सुझाव अनुसार बजेटमा व्यवस्था भएको खण्डमा शेयर बजारमा केहि प्रभाव पर्न सक्ने भन्दै पछिल्ला दिनमा शेयर बजार ओरालो लागिरहेको छ।

पूँजीगत लाभकर कामाएको खण्डमा मात्रै भुक्तानी गर्नु पर्छ। साथै यस करलाई अन्तिम करको रुपमा गणना गरिएको खण्डमा बजार तथा लगानीकर्ताको लागि पनि सकारात्मक हुने चर्चा चलेको छ।

तर बजारमा कर बढ्ने भन्ने हल्ला मात्रै चल्ले आशाङ्काले पछिल्लो दिनमा शेयर बजार घटिरहेको छ।

सोमबार कारोबार सुरु भएको दुई घण्टासम्म बजार रातो देखिए पनि त्यसपछिको एक घण्टा बजारमा केही सुधार आएको थियो। कारोबारको अन्तिम ३० मिनेट बजार रातो देखिए पनि पछिल्लो एक मिनेटमा झिनो अंकले बजार सुधार देखिएको हो।

शेयर बजार ०.३४ अंकले सुधार हुने क्रममा १३०२.९६ अंकमा रोकिएको छ। आइतबार शेयर बजार दोहोरो अंकले घटेको थियो।

सूचकमा गिरावट आएसँगै कारोबार रकम एक अर्ब रुपैयाँबाट ६२ करोड रुपैयाँमा सिमित भएको थियो। सोमबार पनि दोस्रो बजारमा ५१ करोड ९५ लाख रुपैयाँको मात्रै कारोबार भएको छ।

जम्मा १ सय ७० वटा कम्पनीको कारोबार हुँदा ८४ वटा कम्पनीको बजार मूल्य बढेको छ भने ६५ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। स्पर्श लघुवित्तको बढ्ने क्रममा सर्किट लागेको छ।