व्यवसाय गरेपछि प्रतिफल राज्यले पाउनुपर्छ भन्ने प्रभाकर राणा, जसले ‘क्लिन बिजिनेस’ मात्र गरे

बिजमाण्डू
२०७६ जेठ १७ गते १७:२१ | May 31, 2019
व्यवसाय गरेपछि प्रतिफल राज्यले पाउनुपर्छ भन्ने प्रभाकर राणा, जसले ‘क्लिन बिजिनेस’ मात्र गरे


Tata
GBIME
Nepal Life

राजा महेन्द्रको निकट रहेर व्यवसायिक क्षेत्रमा स्थापित प्रभाकर शम्शेर राणालाई भेट्दै गर्दा केही कौतुहलता र केही अन्योल हुनु स्वभाविक थियो। सोल्टी होटललाई आजको अवस्थासम्म ल्याइसक्दा पहिलो पुस्ताकै अग्रणी मात्र होइन सफल व्यवसायीका रुपमा स्थपित भइसकेका थिए उनी। 

पर्यटनदेखि व्यापारसम्म उनकै नेतृत्वले लिड गरिरहेको थियो। सन्दर्भ २०७४ वैशाख १० गतेको हो। सार्वजनिक समारोहमा आक्कलझुक्ल भेटेबाहेक पछिल्लो पटक लामै कुराकानी हुँदै थियो।  

होटल सोल्टीमा उनलाई भेट्न पुग्दा सामान्य पोशाकमा थिए उनी। तडकभडकबाट दूर। त्यहीँ उनले संघर्षका कथा लयवद्ध हिसाबले सुनाए। 

सोल्टी होटलको जग तयार हुँदादेखि अहिलेसम्मको अवस्थामा उनले तिनै समस्या भोगेका रहेछन् जुन व्यवसाय गर्ने प्रवल इच्छा बोकेर हिँड्ने जो कसैले भोगिरहेका हुन्छन्। 

राज परिवारसँग व्यापारिक दोस्ती हुँदैमा 'इम्पायर' खडा हुने हालत थिएन। उनले सुनाए अनुसार होटल चल्दै र बन्दै पनि गर्दा राजा महेन्द्र आइरहन्थे। काम गरेकोमा चित्त बुझाउँदैन थिए। होटललाई 'रोयल टच' दिन सजिलो पनि थिएन। अनुभव पनि त खास थिएन। २०२३ सालतिरको यो सन्दर्भ सुनाइरहँदा नोस्टाल्जिक बनेका थिए प्रभाकर।

होटेलका लागि पूँजी जुटाउन सानो संघर्ष भोगेका रहेनछन् उनले। समयमा नै नाता र कारोबार दुई पृथक विषय भएको बुझ्नुले उनको बिजनेसलाई अघि बढाउन भरपुर सहयोग दिएको रहेछ। त्यसैले व्यवसाय र नातालाई कहिल्यै पनि एकै ठाउँमा राखेनन्। 

क्लिन बिजनेसम्यानको छवि बनाउन उनलाई यही सुत्रले साथ दियो। यहीबाट नै नेपालमा कर्पोरेट गभर्नेन्स स्थापित गरेका थिए उनले। सोल्टी मात्र होइन, आफ्ना सबै लगानीका क्षेत्रलाई उनले पारिवारिक हस्तक्षेपबाट 'फ्री' गरेर ग्रोथका लागि बेग्लै वातावरण तयार पारे। अनि त्यहाँ काम गर्ने व्यक्ति र टिममा भरपूर विश्वास पनि।  

शक्ति र सम्पन्नताले सबैलाई साथ दिँदैन। शक्ति र सम्पन्नतासँगै क्षय जोडिएका कथाहरु धेरै छन्। तर, प्रभाकरमा त्यस्तो उन्माद कहिल्यै आएन। प्रोफेसनलहरुलाई उनले सधैं फ्रन्ट सिटमा राखे। उनका व्यवसायलाई तिनै प्रोफेसनलले ड्राइभ गरे। त्यही कारण उनका सबै कम्पनी सफलतातिर उक्लिरहेका छन्। २०२३ मंसिर १० गते सोल्टी होटल खुलेयता उनको व्यवसायिक यात्राले कहिल्यै पछाडि फर्किनुपरेन। 

पर्यटन क्षेत्रसँग जोडिएका उनी त्यसपछि व्यवसायिक क्षेत्रतिर पनि मोडिए। सन् १९८२ मा सिप्रदी ट्रेडिङ स्थापना गरे। भारतीय कम्पनी टाटा मोटर्सको अधिकृत बिक्रेताका रुपमा सिप्रदीले काम गर्न थाल्यो। 

अहिले कर्मसियल भेहिकलमा सबैलाई पछाडि छाडेर आफूलाई पहिलो नम्बरमा राखिरहेको छ सिप्रदीले। सिप्रदीपछि उत्पादनमूलक उद्योगको रुपमा बहुराष्ट्रिय कम्पनी आइटिसीलाई समेत भित्र्याए प्रभाकरले। 

सन् १९८६ मा नेपालमा आइटिसीको संयुक्त लगानीमा सूर्य नेपाल स्थापना भयो। देशलाई सर्वाधिक कर बुझाउने कम्पनीको सूचीमा सूर्य नेपालले लामो समयदेखि नेतृत्व लिइरहेको छ।

सूर्य नेपालले नै तयारी पोशाक उद्योगमा पनि हात हाल्यो। जोन प्लेयर र स्प्रिङ उड ब्रान्डका पोशाक नेपालमै बन्न थाल्यो। गजबले चल्न पनि थालेको थियो तर राजनीतिक उथलपुथलले यसमा अवरोध पुग्यो। मजदुर युनियनको हड्तालले पोशाक उद्योग नै बन्द हुने अवस्थामा पुग्यो। 

'औंलो दिँदा डुडुलो निल्ने' राजनीतिक प्रवृत्तिको सिकार बन्यो उनको यो उद्योग। व्यवसायिक जगतमा अहिले पनि चर्चा हुने गर्छ- मल्टिन्यासनल ब्रान्ड जोन प्लेयर र स्प्रिङ उडको उत्पादन बन्द हुँदा कम्पनीलाई भन्दा क्षति त्यहाँ काम गर्नेलाई नै पुग्यो जसलाई राजनीतिक दलले ट्रेड युनियनका रुपमा 'प्रयोग' गरेका थिए।  

उत्पादनमूलक उद्योगपछि प्रभाकरले जलविद्युत क्षेत्रमा समेत हात हाले। सन् १९९६ मा भोटेकोसी पावर कम्पनी स्थापना गरेर ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत परियोजना समेत संचालनमा ल्याए। उनकै समूहले अमरावती इन्टरनेसनल भन्ने ट्राभल एजेन्सी समेत स्थापना गर्यो्।

राणा व्यवसाय संचालन गरेपछि त्यसको प्रतिफल राज्यले पाउनुपर्छ भन्ने मान्यता राख्थे। त्यससँगै कम्पनीमा आश्रित कर्मचारीलाई रिझाउनुपर्ने सोच थियो उनमा। त्यसैले त उनका सबै कम्पनी धेरै कर तिर्नेमा सूचीमा सधैं अगाडि देखा पर्छ। सिप्रदी ट्रेडिङ, सूर्य नेपाल, भोटेकोशी, अमरावती, सोल्टी होटल आआफ्नो विधामा बढी कर तिर्ने कम्पनीहरु हुन्। त्यसैले पनि उनको क्लिन इमेजलाई थप प्रज्वल्लित गरेको छ। 

करमात्र होइन, उनका कम्पनीमा कार्यरत कर्मचारीहरु 'हाइ पेड प्रोफेसनल'हरुको सूचीमा छन्। व्यवसायिक विषयसँग जोडिएका कुरालाई कम्पनीभित्रै सुल्ट्याउन जिम्मेवारी दिने उनको सोचले प्रभाकरप्रति त्यहाँ कार्यरत सबै नतमस्तक हुने गर्थे।  

शक्तिको उन्माद उनमा के कारणले छिरेन थाहा भएन। दोस्ती त उनको पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि राम्रै थियो। राजनीतिक शक्ति उन्माद राजा ज्ञानेन्द्रमा यसरी छिर्योे कि उनी 'पूर्व राजा' बन्न बाध्य भए। ज्ञानेन्द्र शाह राजा भएपछि प्रभाकर शम्शेरलाई भेट्न आउनेहरुले भन्ने गरेका रहेछन्- कुनै पदमा जानुपर्योश। 

उनले ठाडै नकारेका रहेछन्, त्यस्ता प्रस्ताव। ज्ञानेन्द्र निकटहरुले कुनै न कुनै पद पाएकै थिए, त्यतिखेर। तर, व्यवसायभन्दा बाहिर जान चाहेनन् उनी। उनलाई प्रस्ताव लिएर जाने अथवा उचाल्नेहरुलाई सोझै जवाफ दिन्थे- हामी व्यवसायीले आफ्नो मात्र काम गर्नुपर्छ। ज्ञानेन्द्र शाहसँग व्यवसायिक साझेदारी भएकाले पनि उनीप्रति आशा र अपेक्षा लिएर आउनेहरु हुन्थे। शक्तिसँग जोडिएका व्यक्ति पूजा हाम्रो समाजमा सामान्य हो। तर, उनी बहकिएनन्, व्यवसायलाई कतै मोडेनन्। 

उनले आफ्नो जीवनमा गरेका संघर्ष र सफलतालाई क्रमश पुस्तान्तर गर्दै लगे। व्यवसायिक क्षेत्रको जिम्मा छोरा सिद्धार्थ राणालाई हस्तान्तरण गरे। आफू भने भेटघाट र अध्ययनमा रमाउन थाले। सोल्टी होटलमै विभिन्न देशका राजदूतदेखि नेताहरुसँग उनी लामो समय लिएर भलाकुसारी गरिरहन्थे। राजनीतिक दलका शीर्ष नेताहरु उनीसँग सल्लाह लिन सोल्टी नै पुग्थे। 

आफ्नो क्लिन इमेजलाई उनले आफूमै सीमित गरेनन्। पुस्तान्तरमा पनि त्यही संस्कार बसाले। प्रभाकरको त्यही इमेजलाई अंगिकार गरेर व्यवसायिक घरानाको दोस्रो पुस्ता अहिले सबै व्यवसायको नेतृत्वमा छ। दोस्रो पुस्ता अर्थात् सिद्धार्थ राणा। 

सिद्धार्थ पनि बाबुकै पदचापबाट बाहिरिएका छैनन्। उनले पनि व्यवसायलाई बाबु प्रभाकरले जस्तै पारिवारिक हस्तक्षेपबाट टाढै राखेका छन्। बाबुले नै तयार गरेको क्लिन बिजनेसको लिकमा उनको व्यवसायिक रेल दगुरिरहेको छ। सबैभन्दा आयकर बढी तिर्ने सूचीमा उनको नाम शीर्षमा देखिनु त्यसैको परिणाम हो। 

अब यी अग्रणी व्यवसायी प्रभाकर राणा हामीबीच छैनन्। तर, उनको मेहनतले तयार भएको उद्योग, व्यवसाय, होटल सबै व्यवस्थित भएर चलिरहेको छ। करबाट देशलाई योगदान दिइरहेकै छ, रोजगारी पनि। सँगै, क्लिन बिजनेस दोस्रो पुस्तामा पुस्तान्तर गर्न सफल पनि भएका छन्। ८४ वर्षको उनको जीवनलीला समाप्त भए पनि उनले बनाएको जग र पुस्ता बलियो रुपमा स्थापित छ। 

दुई वर्षअघि सोल्टीमा प्रभाकरलाई भेट्दाका क्षणहरु र उनको सालिनता भने यतिखेर मानसपटलमा खेलिरहेको छ। अलविदा प्रभाकर।