नेपालका दुई बैंक चिनियाँ बैंक ग्यारेन्टी लफडामा पर्दा सानिमा बैंकले ५ दिनमै फिर्ता पायो पैसा

बिजमाण्डू
२०७६ जेठ १९ गते १२:१८ | Jun 2, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। बुटवल पावर कम्पनी मूख्य प्रबर्द्धक रहेको काबेली 'ए' जलबिद्युत परियोजनाको बैंक ग्यारेन्टीको रकम सानिमा बैंकले फिर्ता पाएको छ।

बैंक अफ चाइनाको 'काउन्टर ग्यारेन्टी' मा नेपालको सानिमा बैंकले काबेलीलाई ग्यारेन्टी उललब्ध गराएको थियो। त्यसबापत बैंकले ५ मिलियन डलर (आजको भाउमा करिव ५६ करोड रुपैयाँ) ग्यारेन्टी गरेको थियो।

काबेलीको ठेकेदार चिनियाँ कम्पनी हो। कम्पनीले काम नगरेपछि काबेलीमा केही समयदेखि समस्या देखिएको थियो। ग्यारेन्टी बापतको रकम उठाउन सानिमा बैंकले दावी गरेको पाँच दिनमै बैंक अफ चाइनाले सबै पैसा दिएको हो।

बैंकले ग्यारेन्टी उपलब्ध गराउनुअघि बैंक अफ चाइनासँग 'भोलि कुनै समस्या आए त्यसको उजुरबाजुर नेपाली कानुन अनुसार हुने' भन्ने सम्झौंता गरेको थियो। त्यसो हुँदा बैंक अफ चाइनाले सानिमा बैंकले दावी गरेको पैसा सजिलै उपलब्ध गराएको हो।

ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रस्थित काबेली नदीबाट बिजुली उत्पादन गर्ने ठेक्का चिनियाँ कम्पनीले पाएको थियो। करिव साढे ३७ मेगावाटको परियोजनामा बुटबल पावर कम्पनीको ५६ र बाँकी ४४ प्रतिशत शेयर सिङ्गापुरको इन्फ्रा कम्पनीको छ। १० अर्ब रुपैयाँ लागत अनुमानको परियोजनामा पछिल्लो समयमा ठेकेदारसँग बिबाद थियो।

चिनियाँ बैंकको काउन्टर ग्यारेन्टीमा काम गरेका नेपालका दुई बैंक भने अझै समस्यामुक्त भइसकेका छैनन्। मेलम्ची खानेपानी आयोजनामा हिमालयन र बैंक अफ काठमाण्डूले ग्यारेन्टी गरेको ऋण डुबिरहेको छ। चीनकै अदालतमा मुद्दा परेको छ। अन्तिम फैसला आउन बाँकी रहेको दुबै बैंकले जनाएका छन्। उनीहरुका अनुसार फैसला नेपाली बैंकको पक्षमा हुने सम्भावना छ।