अब देशैभरी बैंकले एक्सटेन्सन काउन्टर खोल्न पाउने, आन्तरिक रेमिटेन्स भुक्तानी हुँदैन

बिजमाण्डू
२०७६ जेठ १९ गते १८:०४ | Jun 2, 2019
अब देशैभरी बैंकले एक्सटेन्सन काउन्टर खोल्न पाउने, आन्तरिक रेमिटेन्स भुक्तानी हुँदैन

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले एक्सटेन्सन काउन्टर खोल्ने कार्यलाई थप ब्यवस्थित गरेको छ। आइतबार निर्देशिका जारी गर्दै राष्ट्र बैंकले ब्याज दर अन्तर कायम गरेको र अनिवार्य मौज्दात बाहेक अन्य कुनै कारवाहीमा नपरेको संस्थाले मात्र एक्सटेन्सन काउन्टर खोल्न पाउने छन्।

यसअघि तोकिएको पूँजी र ५ प्रतिशतभन्दा कम खराब कर्जा भएकाले मात्र काउन्टर खोल्न पाउँथे। अब योसहित ब्याज अन्तर र अन्य कारवाहीमा नपरेको पनि हुनु पर्छ।

महानगर र उपमहानगरपालिकाबाहिर मात्र एक्सटेन्स काउन्टर खोल्न पाइने ब्यवस्थामा लचकता अपनाइएको छ।  अब काठमाडौं उपत्यका, महानगर र उपमहानगरभित्र पनि खोल्न पाइने छ। यसभित्र पर्ने अदालत, अस्पताल, सैनिक ब्यारेक, विश्वविद्यालय, क्याम्पस, विद्यालय, सरकारी कार्यालय, औद्योगिक क्षेत्र तथा विदेशी कुटनैतिक नियोगहरुको सीफारिसमा यी निकायको हाताभित्र वा अधिकतम २०० मिटरसम्मको दूरीभित्र काउन्ट खोल्न सकिने छ।

यस्ता काउन्टरबाट खाता खोल्न सहजीकरण गर्ने, निक्षेप संकलन र निक्षेप खाताबाट रकम भुक्तानी गर्न पाइने छ। राष्ट्र बैंकको स्वीकृति लिएर बैदेशिक रेमिटेन्स पनि भुक्तानी गर्न सकिने छ। यस्ता काउन्टरले हिसाब मिलानका लागि नजिकको शाखा तोक्नु पर्छ।

अब एक्सटेन्सन काउन्टरबाट  बिदेशी मुद्राको सटही गर्न पाउने छैन भने आन्तरिक रेमिटेन्स पनि भुक्तानी गर्न पाइँदैन।