बैंकमा ‘मिड करियर बैंकर’ को चर्को अभाव, सिकायो-सिकायो अर्कोमा जम्प

बिजमाण्डू
२०७६ जेठ २४ गते १७:२६ | Jun 7, 2019
बैंकमा ‘मिड करियर बैंकर’ को चर्को अभाव, सिकायो-सिकायो अर्कोमा जम्प

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकहरु आक्रामक बजार बिस्तार रणनीतिमा लागेपछि धमाधम कर्मचारी नियुक्त गर्न थालेका छन्। माथिल्लो तहमा अनुभवी कर्मचारी अभाव भएपछि खोसाखोससमेत भइरहेको छ। 

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई स्थानीय तहमा अनिवार्य शाखा खोल्न निर्देशन दिएसँगै बैंकहरुले दक्ष र अनुभवी कर्मचारी पाउन छाडेका छन्। त्यसैले बैंकहरुले सामान्य कर्मचारीबाटै काम चलाउनु पर्ने अवस्था आएको छ।

'सुरुवाती तहका र उच्च व्यवस्थापकीयबाहेक मिड लेभलका कर्मचारी पाउन गाह्रो भएको छ,' मेगा बैंकका मानव संसाधन विभागका शंकर पोखरेलले भने। उनका अनुसार, हिजोका दिनमा त्यही पदका लागि त्यति उपयुक्त नदेखिएकाहरु पनि अहिले त्यसमा एडजस्ट गर्नु पर्ने प्रबृत्ति सबैतिर देखिन थालेको छ। 

मेगा बैंकले एक वर्षको अवधिमा दुई सयभन्दा धेरै कर्मचारी नियुक्त गरेको छ। बैंकले नयाँ शाखा कार्यालयका साथै पुराना कर्मचारीले छाडेको पदमा नियुक्त गरेको हो। राष्ट्र बैंकका अनुसार, चालु बर्षभरी बैंकहरुमा कर्मचारीको 'टर्नओभर' निक्कै धेरै देखिएको छ।

विकास बैंकहरुले पनि ब्यापार बिस्तार गरेकाले बाणिज्य बैंकमा काम गरेका कर्मचारीलाई एक/दुई तहमाथि नै दिएर तान्न थालेका छन्। यसले गर्दा बैंकिङमा 'मिड करियर' कर्मचारी निक्कै अभाव हुन थालेको छ।

अहिले एउटा शाखा चलाउन कम्तिमा ५ जना कर्मचारी चाहिन्छ। ऋण लगानी पनि बिस्तार गर्ने खालको शाखा भएमा कम्तिमा सात जना कर्मचारी चाहिन्छ। टेलर र सामान्य सेवामा बाहेक बाँकी चार जना अलिकति अनुभवी कर्मचारी आवश्यकता पर्छ। त्यसैले अहिले कर्मचारी तानातानको अवस्था रहेको बैंकरहरु बताउन थालेका छन्।
 
हरेक बैंकमा अहिले ५ देखि १० प्रतिशत कर्मचारीले छाडिरहेकाका छन्। अनुभवी कर्मचारीले छाडेको ठाउँमा नयाँ भर्ना गर्नु पर्ने अवस्था छ। 

बैंकहरुलाई अझ गाह्रो स्थानीय तहका शाखामा अनुभवी कर्मचारी भेट्टाउनु हो। अलिकति सिनियर कर्मचारी कर्मचारी स्थानीय तहमा जान तयार हुँदैनन्। दक्ष अनुवभी कर्मचारी नहुँदा समस्या आउने बैंकरहरु बताउँछन्। 

जनता बैंकका मानव संसाधन विभाग प्रमुख विजय श्रेष्ठको जुन शाखामा नियुक्त गर्ने हो त्यही शाखाको नाम दिएर कर्मचारी माग गरिरहेको बताए। 

'केन्द्रले एकै पटक कर्मचारी नियुक्त गरेर स्थानीय तहमा जान निर्देशन दिँदा छाड्ने क्रम बढेकोले कुन स्थानीय तह हो त्यहीँको लागि आवदेन माग्न थालेका छौं' उनले भने 'नयाँ कर्मचारी नियुक्त गरेसँगै आवश्यक तालिम प्रदान गरेर पठाउने गरेका छौं।' 

अनुभव नभएका व्यक्तिलाई ल्याएर नियुक्त गर्यो, तालिम दियो तर केही समयमै छाडेर अर्को बैंकमा जाने प्रबृत्तिले निक्कै समस्या परेको पोखरेलले बताए। उनले भने ‘तालिम दिएर दक्ष बनाएपछि अर्को बैंकले एक तह बढाएर बोलाउने वित्तिकै गैहाल्ने प्रबृद्धिले गर्दा बैंकको कस्टिङ बढेको छ।’
  
पहिला पहिला दक्ष तथा राम्रा कर्मचारी मात्रै लैजाने अवस्था रहेकोमा पछिल्लो समय राम्रा नराम्रा दुबै किसिमका कर्मचारी हिड्ने क्रम चलेको उनीहरु बताउँछन्। 

नेपाल राष्ट्र बैंकले तोकेरै स्थानीय तहमा अनिवार्य शाखा खोल्न निर्देशन दिएको छ। यस निर्देशनसँगै हरेक बाणिज्य बैंकले १५० देखि तीन/चार सय जनासम्म कर्मचारी नियुक्त गरेका छन्। 

राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै १५ सय ५४ वटा शाखा कार्यालय स्थापना भएका छन्। नौ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय ८२ सय पाँच वटा रहेका छन्। यसै अवधिमा बाणिज्य बैंकको मात्रै २८६ वटा नयाँ शाखा कार्यालय स्थापना भएका छन्।