साधारणसभाका लागि प्रोक्सी किनबेचको 'धन्दा', एक कित्ताको पाँच रुपैयाँसम्म भाउ




    नेपाल एसबिआइ बैकले २०७५ पुस ३० गते साधारणसभा गर्यो। साधारणसभामा एक हजार ९ जनाको उपस्थित थिए। बैंकमा कुल शेयरधनी भने ४४ हजार २७२ जना छन्। तर, उपस्थित एक हजार ९ जनाले ७१.३७ प्रतिशत शेयरधनीको प्रतिनिधित्व गरे।
 
    फर्ष्ट माइक्रो फाइनान्सले २०७५ असोज ३० गते साधारणसभा गर्यो। साधारणसभामा जम्मा १९४ शेयरधनी उपस्थित थिए। उपस्थित शेयरधनीमध्ये १४ जना प्रोक्सी प्राप्त शेयरधनी थिए। तीनै प्रोक्सी प्राप्त शेयरधनीसहित उपस्थित १९४ शेयरधनीले ५७.८७ प्रतिशत शेयरधनीको प्रतिनिधित्व गरेको देखिन्छ। 

    सनराइज बैंकले २०७५ पुस २९ गते गरेको साधारणसभामा १५ सय २६ शेयरधनीको उपस्थिति रहेको थियो। ७०२ जना शेयरधनी प्रोक्सीसहित उपस्थित भएका थिए। उनीहरुबाट ६३.४४ प्रतिशतको प्रतिनिधित्व भएको थियो।
 
    सानिमामाई हाइड्रोपावर कम्पनीले २०७५ कार्तिक ८ गते गरेको साधारणसभामा ४३२ जना शेयरधनी उपस्थित भएका थिए। उनीहरुबाट ५२.५६ प्रतिशतको प्रतिनिधित्व भएको थियो। 

Sipradee

    नेपाल बैंकले २०७६ बैशाख २२ गते गरेको साधारणसभामा २३९ शेयरधनी उपस्थित थिए। उपस्थित शेयरधनीले ५१.३३ प्रतिशत शेयरधनीको प्रतिनिधित्व गरे। जबकी बैंकमा कुल शेयरधनी संख्या ४७ हजार ९६० छ। 

प्रस्तुत विवरणले कुल शेयरधनी संख्याको तुलनामा साधारणसभामा उपस्थित शेयरधनीको संख्या निक्कै कम रहेको देखिन्छ।
नेपाल बैंकको साधारणसभामा २३९ जाना शेयरधनी आफै उपस्थित थिए, जबकि बैंकमा ४७ हजार ९६० शेयरधनी छन्। सधारण हिसाब गर्दा साधारणसभामा उपस्थित २३९ शेयरधनी भनेको कुल शेयरधनीको ०.४९ प्रतिशत मात्रै हो।

तीनै ०.४९ प्रतिशत शेयरधनीले कम्पनीले साधारणसभामार्फत गर्ने सबै निर्णयलाई बैधानिकता दिएको देखिन्छ। 

कम्पनी ऐन २०६३ अनुसार- कुनै पनि 'पब्लिक कम्पनी' को साधारणसभा सम्पन्न हुन कम्तिमा ५० प्रतिशत शेयरधनीको उपस्थिति अनिवार्य छ। 

तर, सबै शेयरधनी साधारणसभामा उपस्थित हुन सक्दैनन्। उनीहरुको सहुलियतका लागि ऐनले शेयरधनी आफै साधारणसभामा उपस्थित हुन नसक्ने भए आफ्नो प्रतिनिधि नियुक्त गर्न पाउने व्यवस्था गरिदिएको छ।

नियम अनुसार एक शेयरधनीले त्यही कम्पनीको अर्को शेयरधनीलाई आफ्नो मत प्रयोग गर्न पाउने गरी प्रतिनिधि (प्रोक्सी) दिन सक्छ। प्रोक्सि प्राप्त गर्ने शेयरधनीले साधारणसभामा हुने सबै निर्णयहरूमा सहभागिता जनाउन पाउँछ। 

यहि नियममा टेकेर नेपाल बैंकको साधारणसभामा ०.४९ प्रतिशत शेयरधनीले साधारणसभालाई बैधानिकता दिन पाएका हुन्।

दशकअघि यातायात, सञ्चारको अभावमा शेयरधनीको हितमा गरिएको यही व्यवस्थामाथि टेकेर हिजोआज पनि साधारणसभालाई औपचारिकतामा सीमित गर्न थालिएको छ। 

'पहिले पो यातायातको पहुँच हुन्थेन। टाढाटाढा रहेका शेयरधनी साधारणसभामा आउन सक्दैनथे' एक पुराना शेयर कारोबारीले भने, 'अहिले त पहुँच पनि सहज छ। नभएदेखि सुचना प्रविधिको प्रयोग गरेर पनि साधारणसभामा उपस्थिति जनाउन सकिने अवस्था छ। १० बर्षअघि तयार ऐनमा बसेर त्यसैलाई निरन्तरता दिनु ठिक होइन।'

अहिले साधारणसभामा आफूले चाहेको निर्णय गराउन वा सञ्चालक समितिमा जानका लागि प्रोक्सीका नाममा 'दुई नम्बरी' कामसमेत हुन थालेको छ। 'तपाईँका लागि म यसो उसो गरिदिन्छु भनेर पनि प्रोक्सी लिने गरिन्छ' अर्का एक शेयरधनीले भने, 'यस्ता अभ्यास त अहिले सामान्यजस्तो भइसकेको छ।'

वैशाख मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार कक्षमा २०७ कम्पनी सूचीकृत छन्। यससँगै १७ सय ७० संस्था कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका छन्। सञ्चालित कम्पनीहरुमध्ये केहीले अर्बौको कारोबार गर्ने गरेका छन्।

कम्पनी ऐन २०६३ ले तोकिदिएको नियम अनुसार, पब्लिक कम्पनीमा तीनदेखि ११ जाना सञ्चालक नियुक्त गर्न पाइन्छ। त्यसमा संस्थापक, पब्लिक, स्वतन्त्र र महिला सबैको सहभागिता गराउने गरिएको छ। कम्तीमा एक हजार रुपैयाँ लगानी गरेर शेयर खरिद गरेको जो कोही व्यक्ति कम्पनीको सञ्चालक हुन योग्य ठहरिन्छ।

प्रोक्सीको कारोबारले गर्दा सामान्य मान्छे कम्पनीको सञ्चालक हुन असम्भवजस्तै छ।

गत बर्ष शेयर बजारका पुराना लगानीकर्ता ज्योति दाहालले एक कम्पनीमा सञ्चालक हुन प्रक्रिया अघि बढाएका थिए। उनले सर्वसाधारणका तर्फबाट कम्पनीमा सञ्चालक हुनको लगि लाखौँ कित्ताको प्रोक्सि भेला पारे। 

सधारणसभाको अघिल्लो दिन उनले प्रोक्सि दर्ता गराए तर उनको प्रोक्सीलाई अस्वीकृत गरियो। उनले संकलन गरेको प्रोक्सीको हस्ताक्षर नमिलेको भन्दै अस्वीकृत गरिएको थियो। 

उनी भन्छन्, 'जबकि ती प्रोक्सीमा मेरै हस्ताक्षरसमेत नमिलेको बताइयो।' उनका अनुसार, सञ्चालक समितिको चयनमा ठूलै खेल हुने गर्छ। सञ्चालक नियुक्त हुन कम्पनीमा हालीमुहाली गर्दै आएका वा निश्चित समूहभित्र पर्न आवश्यक हुन्छ। नत्र साधारण शेयरधनीले सञ्चालकमा जानु भनेको फलामको चिउरा चपाउनु सरहनै हुने गर्छ। 

प्रोक्सी कारोबारको अर्को रमाइलो धन्दाका बारेमा एक शेयरधनीले बिजमाण्डूलाई सुनाए। उनले भने- केही स्वार्थी समूहले प्रोक्सी खरिद बिक्रीको धन्दै चलाएका छन्। उनीहरूको कामनै प्रोक्सी संकलन गर्ने र आवश्यक व्यक्तिलाई कम्पनीको अवस्था हेरेर बिक्री गर्ने हो। उनीहरूले प्रति प्रोक्सी दुई रुपैयाँदेखि पाँच रुपैयाँसम्म बिक्री गर्ने गरेका छन्। एक कित्ता शेयर बराबर एक मत हुने भएकोले जति कित्ता बराबरको प्रोक्सी संकलन गरियो त्यति नै रुपैयाँमा प्रोक्सी बिक्री हुने गरेको छ। 

साधारणसभा हुनु केही समयअघिबाटै त्यस्ता समूहका व्यक्तिले बजारबाट प्रोक्सी संकलन सुरु गर्छन्। ती समूहले सबैभन्दा पहिले कम्पनीका शेयरभनीको नाम संकलन गर्छन्। तीनै नामका आधारमा उनीहरूले शेयरधनीसम्म पहुँच बिस्तार गर्छन्।

कोही वास्तविक रूपमै प्रोक्सी संकलनमा खटिन्छन् भने कोही गलत नियत बोकेर प्रोक्सी संकलनमा परिचालित हुन्छन्। परिचालित व्यक्तिहरूले अनेक बहाना बनाउँदै साधारण शेयरधनीहरुबाट भारी मात्रामा प्रोक्सी संकलन गर्छन्। धेरैजसो व्यक्तिले ब्रोकर कार्यालयमा आउने शेयर कारोबारीहरूबाट प्रोक्सी संकलन गर्ने गरेका छन्। 

ब्रोकर कार्यालयमा आउने धेरैजसो लगानीकर्ताले नियमित कारोबार गर्ने गरेको भएपनि उनीहरूले साधारणसभामा सहभागिता जनाउँदैनन्। तीनै लगानीकर्ताले प्रोक्सि माग्न आउनेलाई दिने गरेको बताउँछन्। 

कम्पनीको सञ्चालकमा जान चाहने वा साधारणसभामा बार्गेनिङ गर्नेलाई शेयरधनीबाट संकलित प्रोक्सी निश्चित रकम लिएर बिक्री गरिन्छ। यसबापत नगददेखि विदेशी भ्रमणसम्म र कम्पनीमा लाभका कामहरु प्राप्त हुन्छ।

कानुनले दिएको सुविधाको दुरुपयोग, नियामक निकायको लचकता र सर्वसाधारण शेयरधनीको बेवास्ताले गर्दा प्रोक्सीको किनबेच हुने गरेको हो। 


Share this Story

   

साधारणसभाका लागि प्रोक्सी किनबेचको 'धन्दा', एक कित्ताको पाँच रुपैयाँसम्म भाउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.