बजेटपछि शेयर बजार ४२ अंकले झरिसक्यो, ‘ठूलाको रणनीतिले फराकिलो अन्तरले घटेको छैन’

बिजमाण्डू
२०७६ जेठ ३० गते १५:४९ | Jun 13, 2019
बजेटपछि शेयर बजार ४२ अंकले झरिसक्यो, ‘ठूलाको रणनीतिले फराकिलो अन्तरले घटेको छैन’

Tata
GBIME
Nepal Life

काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य उतारचढाव देखिएको छ। बजार आज पनि घटेर बन्द भएको छ।

सूचक २.२९ अङ्कले घटेर १२६९.५५ अंकमा ओर्लिएको छ। सातभरिमा सूचक १५.०३ अङ्कले घटेको छ। गत बिहीबार सूचक १२८४.५९ अंकमा थियो। 

सताभरिनै शेयर बजार एक दिनबाहेक घटेको छ। बजेटपछि बजार लगातार दुई दिन मात्रै बढेको छ। बजेटपछिका नौ कारोबार दिनमा शेयर बजारले ४४.३२ अङ्क गुमाइसकेको छ। बजेटपछि शेयर बजारका लगानीकर्ताले बजेट पूँजी बजारमैत्री आएको प्रतिक्रिया दिएका थिए। 

तर त्यसयता भने बजार लगातार घट्दो क्रममा देखिएको छ। पछिल्लो समय सरकारले पूँजी बजारका अप्ठ्यारा विषयको गाँठो फुकाएको भनिएपनि बजारले सकारात्मक प्रतिक्रिया दिन सकेको छैन। लगानीकर्ता अझै पर्ख र हेरको स्थितिमा देखिएका छन्। 

बजेटले बजारका विषयलाई प्राथमिकता दिएसँगै ठूला लगानीकर्ताले बजारलाई भने निरन्तर थेग्ने प्रयास गरिरहेका छन्। उनीहरूले प्रि अडर फिचरको सहयोगमा बजार थेग्ने प्रयास गरिरहेको कारोबारमा देखिने गरेको छ। 

नेप्सेको नयाँ अनलाइन कारोबार प्रणालीमा नियमित कारोबार सुरु हुनु पूर्ब पाँच प्रतिशतको फरक मूल्यमा खरिद/बिक्री आदेश दिन मिल्छ। तर नियमित कारोबारमा भने दुई प्रतिशत मात्रै फरकमा कारोबार गर्न पाइन्छ। 

ठूला लगानीकर्ताले यही सुविधाको प्रयोग निश्चित कम्पनीका शेयर मूल्य घट्न नदिन प्रि अडरमा भारी मात्रामा आदेश दाखिला गर्दै आएका छन्। जसले बजारलाई फराकिलो अङ्कले घट्नबाट जोगाएको छ। 

साताको अन्तिम दिन बजारमा १७० कम्पनीका १४ लाख २३ हजार कित्ता शेयर ४५ करोड ६५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ। कारोबारमा आएका कम्पनीहरूमध्ये सगरमाथा इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढि तीन करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

८६ प्रतिशत लाभांस प्राप्त गर्न उक्त कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका हुन्। आजसम्म दोस्रो बजारबाट शेयर खरिद गर्ने लगानीकर्ताले बोनस शेयर पाउँछन्। असार १ गते कम्पनीले बुक क्लोज गर्ने छ। कारोबार रकमकै आधारमा दुई करोड ८६ लाख रुपैयाँको कारोबार गर्दै शिवम् सिमेन्ट दोस्रो भएको छ।