एनएमबी ५० म्युचुअल फण्डले पायो अनुमति, ४ अर्ब ६५ करोडको फण्डसहित ४ फण्ड पाइपलाइनमा

बिजमाण्डू
२०७६ जेठ ३१ गते ११:४१ | Jun 14, 2019


काठमाडौं। एनएमबी क्यापिटलले  प्रबर्द्धन गरेको ‘एमएनबी ५०’ ले सार्वजनिक इकाई निष्कासन गर्ने अनुमति पाएको छ।

Tata
GBIME
Nepal Life

एनएमबी ५० ले एक अर्ब २० करोड रुपैयाँको लागि अनुमति पाएको हो। अनुमति पाएसँगै फण्डले सार्वजनिक इकाईको निष्कासन गर्नेछ। यो योजना बन्दमुखी योजना हो।

एनएमबी क्यापिटलले हाल एनएमबी हाइब्रिड फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड सञ्चालन गरिरहेको छ।

चालु आर्थिक वर्षमा मात्रै नेपाल धितोपत्र बोर्डले नविल व्यालेन्स फण्ड दुई, सिटिजन म्युचुअल फण्ड दुई र एनआइबिएल सहाभागिता फण्डका लागि अनुमति दिएको छ।

सिटिजन र एनआइबिएलले हाल सार्वजनिक इकाई निष्काशन गिरहेका छन्। एनआईबिएलले नेपालमै पहिलो पटक खुलामुखी योजना ल्याएको हो।

चारवटा फण्डले अनुमतिकालागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। ग्लोबल आइएमई व्यालेन्स फण्ड एकले एक अर्ब २० करोड रुपैयाँको फण्डका लागि बोर्डमा निवेदन दिएको छ।

त्यस्तै लक्ष्मी उन्नती कोषले ८० करोड रुपैयाँको, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दुईले एक अर्ब ४० करोड रुपैयाँ र एनआईसी एशिया व्यालेन्स फण्डले एक अर्ब २५ करोड रुपैयाँको फण्ड सञ्चालनका लागि निवेदन दिएका हुन्।

दोस्रो बजार बढ्न थालेसँगै मर्चेन्ट बैंकहरुले म्यचुअल फण्डको योजना बनाउन थालेका हुन्। केही फण्डले अनुमतिको लागि बोर्डमा निवेदन दिएका छन् भने अधिकांशले नयाँ फण्डको योजना बनाइरहेका छन्।

विगत एक वर्षदेखि घाटामा देखिन थालेका फण्ड विस्तारै नाफामा छन्। गत फागुनदेखि शेयर बजारमा सुधार आउन थाले पछि चार फण्ड बाहेक सबै फण्ड नाफामा छन्।

बजार घट्दै गर्दा फण्डहरु नोक्सानमा देखिएका हुन्। फण्डहरुले राम्रो व्यवस्थापन गर्न नसक्दा घाटामा देखिएका हुन्। यसले गर्दा फण्डहरुको सार्वजनिक निष्काशनमा सर्वसाधारणको आकर्षण देखिँदैन।