केरुङ-काठमाडौं रेलमार्गको चौथो बैठक चीनमा, डिपिआरको मुख्य एजेण्डा, कहिले अघि बढ्ला आयोजना?

बिजमाण्डू
२०७६ जेठ ३१ गते १८:१० | Jun 14, 2019
केरुङ-काठमाडौं रेलमार्गको चौथो बैठक चीनमा, डिपिआरको मुख्य एजेण्डा, कहिले अघि बढ्ला आयोजना?

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं-केरुङ रेल आयोजना अघि बढाउन नेपाल र चीनका प्राविधिकहरुको चौथो बैठक चीनको बेइजिङमा हुने भएको छ। जुन १८ देखि २२ सम्म हुने छलफलमा दुई देशबीच रेल वे कनेक्टिभिटी तथा अन्य पूर्वाधार विकासका विषयमा छलफल हुनेछ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की नेतृत्वको टोलीले दुई देश जोड्ने पूर्वाधार विकासका विषयमा छलफल गर्ने मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिए। टोलीमा सचिव कार्की र सहसचिव ज्ञवालीसहित रेल विभागका महानिर्देशक बलराम मिश्र तथा अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन्। दुई देशबीच हुने वार्तामा चीनको तर्फबाट नेशनल रेलवे एड्मिनिस्ट्रेसन अफ चाइनाका भाइस मिनिस्टरले प्रतिनिधित्व गर्नेछन्। 

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपालले यो बैठकमा प्रमुख एजेण्डाका रुपमा केरुङ-काठमाडौं रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन डिपिआर (डिपिआर)को विषयलाई प्राथमिकताका साथ उठाउने छ। 'हामी छलफलमा छौं र हाम्रो फोकस डिपिआर अघि बढाउनमा हुनेछ,' महानिर्देशक मिश्रले भने 'यसको प्रतिफल के हुन्छ भन्ने अहिले नै भन्न सकिँदैन तर उपलब्धिमूलक हुन्छ भन्ने अपेक्षा छ।' 

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा पनि डिपिआर अघि बढाउने विषयमा छलफल भएको थियो। चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ  (बिआरआई)मा समेत यो रेलमार्ग परेको छ। 'हाम्रा अरु पनि केही एजेण्डाहरु छन् त्यसलाई उनीहरुले कसरी हेर्छन भन्ने मुख्य कुरा हो,' उनले भने, 'हाम्रो तहबाट केही कुरा टुंगिएन भने राजनीतिक तहमा जान्छल।' 

केरुङ-काठमाडौं रेलमार्गको चिनियाँ आर्थिक र प्राविधिक सहयोगमा पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भैसकेको छ। चिनियाँ कम्पनी चाइना रेलवे फष्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको हो। यो प्रतिवेदनले रेलमार्गलाई संभाव्य देखाएपछि अघि बढाउने निर्णय भएपनि लामो समयदेखि अघि बढ्न सकेको छैन। ११ महिना अघि प्रतिवेदन तयार भए पनि रेलमार्ग निर्माणबारे त्यसपछि कुनै ठोस कार्य अघि बढ्न सकेको छैन। 

कम्पनीले दिएको प्रतिवेदनअनुसार यो रेलमार्गको दूरी करिव ७२ किलोमिटर हुनेछ। जसमा १८ किलोमिटरसम्मका ७ वटा सुरुङ हुनेछन्। ७० मिटरसम्म उचाई भएका पुलहरु निर्माण हुनेछन्। ९० प्रतिशत भन्दा बढि रेलमार्ग सुरुङमार्ग र पुलमा निर्माण हुनेछ। काठमाडौंको टोखालाई स्टेशन बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ। यो आयोजनाको कूल लागत ३ खर्ब रुपैयाँ हुनेछ । निर्माण अवधी ९ वर्ष अनुमान गरिएको छ।

चीनले सिगात्सेदेखि केरुङ जोड्ने ५ सय किलोमिटर लामो रेलमार्ग निर्माण सुरु गर्ने तयारी गरिरहेको छ। सन् २०२२ सम्मा रेलमार्ग केरुङसम्म ल्याउने योजना छ। सिगात्सदेखि काठमाडौंसम्म रेलमार्ग जोड्नका लागि ९ वर्षको निर्माण अवधी राखिएको हो।