यातायात भाडावृद्धि: मन्त्रीको ग्रिन सिंग्नलपछि उपभोक्तावादी बसेर भएको थियो निर्णय

बिजमाण्डू
२०७६ जेठ ३२ गते १२:११ | Jun 15, 2019


काठमाडौं।यातायात व्यवस्था विभागले विहिबार सार्वजनिक यातायातको भाडा बढाउने निर्णय सार्वजनिक भएको केही घण्टामै फिर्ता लियो।

Tata
GBIME
Nepal Life

पाँच दिनअघि उपभोक्तावादी संगठनसँग बसेर भाडा बढाउने निर्णय गरेको विभागले किन पाँच घण्टामै फिर्ता लिने परिस्थिती सिर्जना भयो? विभाग स्रोतका अनुसार भाडा बढाउन ग्रीन सिंग्नल भौतिक,पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठलेनै दिएका थिए।उनले दिएको ग्रीन सिंग्नलका आधारमा उपभोक्तावादी संगठनसहितको बैठकले २० प्रतिशतसम्म भाडा बढाउने निर्णय गर्यो।

भाडा बढेको सूचना पाएको केही घण्टामै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले महासेठलाई टेलिफोन गर्दै तत्काल स्थगित गर्न निर्देशन दिए।यो निर्देशनपछि महासेठले विभागका महानिर्देशक कुमारप्रसाद दहाललाई तत्काल वृद्धि गरिएको भाडा स्थगन गर्न आग्रह गरे।महासेठले दहाललाई फोनमै भनेका थिए-‘मेरो सहमतिमै भाडा बढाउनुभएको थियो।

तर अहिले परिस्थिती अनुकुल भएन। त्यसैले स्थगन गर्नुहोला।’ मन्त्री महासेठको निर्देशनपछि भाडा वृद्धिपछि तयार भएको विभिन्न रुटको भाडाको लिस्ट वेवसाइटमा अपलोड गरिएन्।यो निर्णय गरिएपछि महानिर्देशक दहाल तनाबमा छन्।‘मन्त्रीकै निर्णयबाट भाडा बढाउने निर्णय गरियो। तर केही घण्टामै फिर्ता लिनुपर्ने भएपछि महानिर्देशकज्यू धेरैनै तनाबमा देखिनुहुन्थ्यो।’ विभागकै एक कर्मचारीले भने,’हामीसँग पनि राम्रोसँग बोल्नुभएन।’

उपभोक्तावादीकै सहमतिमा भाडा वृद्धि

भाडा वृद्धिका लागि विभागले गरेको बैठकमा अधिकांश उपभोक्तावादी संस्थाका अध्यक्ष सहभागी भएका थिए। भाडा वृद्धिका बारेमा वाहिर चर्का वहस गर्ने समेत सहभागी भएर भाडा बढाउने निर्णयमा हस्ताक्षर गरेका थिए।

बैठकमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन,उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना र कन्जुमर आईका महासचिव रञ्जन खनाल सहभागी थिए। विभागका एक कर्मचारीका अनुसार सबै उपभोक्तावादी संगठनका प्रतिनिधीले भाडा बढाउन सहमत भएका थिए।तर भाडा बढाउने निर्णय वाहिर आएपछि संचारमाध्यममा चर्का भाषण गरेकोप्रति भने विभागकै कर्मचारी आश्चर्यमा परेका थिए।

‘उपभोक्तावादी संगठनका अध्यक्षहरु अपरच्यूनिष्ट हुन भन्ने भाडा विवादले छर्लङ पारिदिएको छ। उनीहरु भाडा बढाउने सहमति गर्ने तर वाहिर आएर विरोध गर्ने नराम्रो संस्कार देखाएका छन्’ ती कर्मचारीले भने।तर यो घट्नाले उपभोक्तावादी संस्थाको नियत भने वाहिर आएको छ। उपभोक्ता सम्वन्धी संस्था खोलेर आफ्नो स्वार्थका लागि काम गर्दै आएको आरोप लाग्ने गर्थ्यो।तर भाडा विवादले ती संस्था उपभोक्ताको नाममा आफ्नो स्वार्थका लागि प्रयोग गरेको सार्वजनिक भयो।

तर उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमिल्सिनाले भने विहिबार भाडा वृद्धिमा भएको छलफलमा आफू बीचै उठेर हिडेको जिकिर गरे।'भाडा बढाउने विषयमा हाम्रो सहमति हुँदैन भनेर बैठकको बीचमै उठेर हिडेको थिए। करोडौंको चलखेल गरेर भाडा बढाउने निर्णयमा हस्ताक्षर गर्न सक्दिन भनेर म हिँडेको हुँ।' उनले बिजमाण्डूसँग भने,'त्यो बैठकमा अन्तिम समयसम्म केही उपभोक्तावादी संस्थाका अध्यक्षहरु भने हुनुहुन्थ्यो। उहाँहरुले हस्ताक्षर गर्नुभयो होला।' कन्जुमर आईका महासचिव खनालले भाडा वृद्धिको बैठक वहिष्कार गरेर निस्किएको दाबी गरे।' म भाडा वृद्धिको छलफलमा असहमति जनाएर बैठक छाडेर निस्किएको हो।' खनालले दाबी गर्दै भने।