चौधरी समूहले भरतपुरमा पनि संचालनमा ल्यायो होटल, द फर्न रेजिडेन्सीमा ४८ वटा रुम

रासस
२०७६ जेठ ३२ गते १२:३२ | Jun 15, 2019
चौधरी समूहले भरतपुरमा पनि संचालनमा ल्यायो होटल, द फर्न रेजिडेन्सीमा ४८ वटा रुम


चितवन।चौधरी समूह (सिजी)ले भरतपुरमा निर्माण गरेको ल्याण्डमार्क कम्प्लेक्समा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

‘सिजी हस्पिटालिटी’ अन्तर्गत द फर्न रेजिडेन्सीको नामबाट चेन होटल सञ्चालनमा ल्याइएको शुक्रबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो। दुई महिना अघि यो होटलको सफ्ट लन्च गरिएको थियो। चार तारेसरहको सुविधा दिने गरी यसै महिनाबाट होटलले सेवा दिन शुरु गरेको छ। नेपाल भित्रने पर्यटकका लागि चितवन तेस्रो गन्तव्य हो।

यस क्षेत्रमा जङ्गल सफारी र व्यावसायिक प्रयोजनको लागि घुमघाम गर्न आउने पर्यटकलाई लक्षित गर्दै सिजीले यो होटल सञ्चालनमा ल्याएको जनाएको छ। होटलका महाप्रबन्धक सुरज थापाका अनुसार बहुतले भवनको पाँचौँ तल्लादेखि दशौँ तल्लासम्म ४८ कोठा रहेका छन्। सबै कोठाबाट भरतपुरको मनोरम दृश्यावलोकन गर्न सकिनेछ। छैटौँ तल्लामा पौडी पोखरी, अपाङ्गमैत्री कोठा र दुई वटा १५० जना अट्ने सभा कक्ष रहेका छन्। होटलले प्रयोगमा आएका पानी र ठोस पदार्थलाई प्रशोधन गरी पुनः प्रयोगमा ल्याएको छ।

 जिल्लाको मेघौलीमा पनि चौधरी समूहको होटल ताज रहेको छ। चेन होटल द फर्न रेजिडेन्सी नेपाल भारत र युरोपमा गरी ६३ वटा छ। भवनमा सपिङ कम्प्लेक्स, फुडकोर्ट, सिनेमा घर, रिक्रिएशन सेन्टर, बैंक, ट्राभल एजेन्सीसहितको सुविधा छ।