मजदुर विवादका कारण तीन दिनदेखि हायात होटल बन्द, हड्तालपछि पर्यटक अरु होटलमा सारियो

बिजमाण्डू
२०७६ जेठ ३२ गते १७:१४ | Jun 15, 2019


काठमाडौं।मजदुर विवादका कारण पाँच तारे हायात होटल बन्द भएको छ।व्यवस्थापनले तोकिएको समयमा होटलमा नआएको भन्दै स्पष्टीकरण सोधेपछि सुरु भएको विवादले होटलनै बन्द भएको हो।

Tata
GBIME
Nepal Life

होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले मजदुर विवादका कारण तीन दिनदेखि होटल बन्द भएको जानकारी दिए।‘कर्मचारीनै हड्तालमा उत्रिएपछि होटल कसरी संचालन गर्ने?’उनले बिजमाण्डूसँग भने,’हड्ताल सुरु भएपछि हामीले यहाँका पाहुना समेत अरु होटलमा सार्यौं।’ उनका अनुसार हड्ताल भएपछि अन्तर्राष्ट्रिय स्तरमै बुकिङ बन्द भइसकेको छ।‘यो अन्तर्राष्ट्रिय चेन होटल हो। पर्यटकको सुरक्षा पहिलो प्राथमिकतामा राख्छ। त्यसैले उतैबाट बुकिङ बन्द भएको हो।’ परियारले भने।

उनले होटल कर्मचारीले गैरकानुनी रुपमा हड्ताल गर्दै आएको बताउँदै हड्ताल नरोकिएसम्म होटल बन्द हुने जानकारी दिए।‘केही मजदुरलाई तोकिएको समयमा नआएपछि स्पष्टीकरण सोधिएको थियो। तर उनीहरुले भोलिपल्टै जेठ २९ गतेदेखि कुनै जानकारी नदिई हड्ताल सुरु गरे।कम्तीमा पनि दुई साता जानकारी दिनुपर्ने व्यवस्थालाई समेत वेवास्ता गरेर हड्ताल गरे’ परियारले भने।तर मजदुर युनियन भने व्यवस्थापनले सुविधा कटौंती गर्दै मजदुरमाथि हेपाहा प्रवृति देखाएकाले हड्तालमा उत्रिनुपरेको दाबी गर्छन्।

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका महासचिव मुक्ति दाहालले व्यवस्थापनले स्वास्थ्य बीमा सुविधा कटौंती गरेको बताउँदै उच्च व्यवस्थापनमा भारतीय कर्मचारी नियुक्ती गरेपछि समस्या सुरु भएको बताए।‘हामीले पाउँदै आएको स्वास्थ्य बीमाको कभरेजलाई घटाउने काम सुरु गर्यो।त्यसपछि श्रम ऐन अनुसार संञ्चित विदा ९० दिन पाउनुपर्ने प्रावधान छ। त्यो पनि घटाएर ७६ दिनमा झार्ने काम भयो’ उनले बिजमाण्डूसँग भने।

यो वाहेक उच्च व्यवस्थापनमा विदेशी नागरिक नियुक्त गरेर नेपालीलाई हटाउने काम भयो।‘अहिले माथिल्लो तहमा भारतीय कर्मचारी नियुक्त गरिएको छ। विगत दुई दशकदेखि काम गरेका नेपालीलाई ह्युमिलेशन गरेर हटाउने काम भएको छ’दाहालले भने,’हाम्रो आत्मसम्मान माथिनै प्रहार भएपछि हड्तालमा उत्रिएका हौं।’ मजदुरहरुले होटल परिसरमै धर्ना दिएका छन्।