कोकाकोलाले नयाँ प्रविधिबाट उत्पादन थाल्यो, एक मिनेटमै ७६६ बोटल कोक तयार हुने

बिजमाण्डू
२०७६ जेठ ३२ गते १८:४६ | Jun 15, 2019


काठमाडौं। स्वदेशी बजारमा चिसो पेय पदार्थको बजार नेतृत्व गरिरहेको बोटलर्स नेपाल तराईले नविनत्तम प्रविधिको प्रयोगबाट कोकको उत्पादन शुरु गरेको छ।

Tata
GBIME
Nepal Life

'बोइङ ७६६' नाम दिइएको नयाँ बोटलिङ प्लान्टबाट बोटलर्स तराईले कोकाकोलाको परिक्षण उत्पादन शुरु गरेको हो। कोकाकोलाको उत्पादन क्षमता बिस्तार गर्न चितवनको भरतपुरस्थित‌‌‌‌‌ उद्योगमा प्रतिमिनेट ७६६ बोतल उत्पादन क्षमताको 'बोइङ ७६६' प्लान्ट जडान गरिएको छ। उद्योग सम्वद्ध स्रोतका  अनुसार अहिले परीक्षण उत्पादन भइरहेको छ, चाँडै नै व्यवसायिक उत्पादन शुरु गरेर बजारमा पठाइनेछ । नयाँ प्लान्टमा अहिले प्रयोगमा रहेको पेट बोटलको तुलनामा हलुका तौल, लामो समयसम्म टिकाउ रहने र पेय पदार्थको उपभोग्य आयु समेत तेब्बर लामो बनाउने पेट बोटल बोटलिङ प्रविधीको प्रयोग गरिएको छ।

अहिले प्रयोगमा रहेको पेट बोटलमा पेय पदार्थको उपभोग्य अवधी जम्मा ७५ दिन रहेकोमा नयाँ प्रविधिको बोटलिङले नौ महिना सम्म सुरक्षित राख्न सकिने प्राविधिकले जानकारी दिएका छन्। बोटलको बाहिरी सतह प्लाष्टिक र भित्री सतह शिशा(सिलिकन अक्साइड) को प्रयोग गरेर बनाइएको हुन्छ। बियर, मदिरा, जुस,चिसो पेय, पानीको बोटलिङको लागी विश्वमै सर्वाधिक लोकप्रिय कम्पनी केएचएस जर्मनीसँगको सहकार्यमा कोकाकोलाले हलुका तौल र टिकाउपन भएको पेट बोतल‌ विकसित गरेको हो।

यो बोटलको भित्री तह सिलिकन अक्साइडबाट बनाइएको हुन्छ। सिलिकनबाट बनाइएकोले प्लाष्टिकको बोटलको तुलनामा हलुका र बढी पारदर्शी समेत छ। सिलिकनले बोटलभित्र रहेको पेय पदार्थलाई बाहिरी वातावरणबाट सामान्य बोटलको तुलनामा लामो समयसम्म सुरक्षित पनि राख्ने केएचएसको वेभसाइटमा उल्लेख छ। यो बोटललाई पुन:प्रयोग गर्न सकिन्छ।

नयाँ प्लान्टबाट २५० मिलिलिटर ( एमएल) को पेट बोतलमा कोकाकोलाका विभिन्न ब्राण्डका पेय उत्पादन गरिने स्रोतले‌ जानकारी दिएको छ। बोटलर्स तराईसँग अहिले तीन सय बोतल प्रति मिनेट उत्पादन क्षमताको प्लान्ट मात्र प्रयोगमा छ। नयाँ प्लान्टको लागी बोटलर्सले स्टान्डर्ड ‌‌‌‌‌‌‌‌‌‌‌‌‌चार्टर्ड बैंकबाट २ अर्ब ८५ करोड रुपैयाँ आवधिक ऋण लिएको थियो।